धमाधम कालोपत्रे गरिदै काठमाडौँ र ललितपुरका सडक ?

मुख्य सडकदेखि भित्री बाटोमा ब्रुमरको प्रयोगः पुरिदै वर्षौदेखिका खाल्डाखुल्डी !
निर्माण सञ्चार, काठमाडौँ | केही समयअघि देखि काठमाडौं र ललितपुर महानगरपालिकाले सडक निर्माण र सरसफाइलाई तीव्र रुपमा अगाडि बढाएको छ ।

काठमाडौं र ललितपुरका मुख्य सडकदेखि भित्री बाटोमा वर्षौंदेखि परेका खाल्डाखुल्डी पुरिएका छन् । साथै सडकहरु बु्रमुरले सफा गरेर चिटिक्क पारिन थालिएको छ ।

सडकमा धुलो उड्न नदिन ब्रुमर प्रयोग गरिएको हो ।

ती ठाउँमा धुलो पानी हालेर सरसफाइ गर्ने काम पनि तीव्र रुपमा अगाडि बढिरहेको छ ।

ती सडक सफा गर्न सडक विभागका ब्रुमर प्रयोग गरिएको भएता पनि यो काम सडक विभागबाट भएको भने होइन । पछिल्ला दिनहरूमा काठमाडौं र ललितपुरमा भइरहेका उक्त सडक निर्माण र सरसफाईको काम स्थानीय सरकारकै सक्रियता भइरहेको छ ।

आफूसँग पर्याप्त ब्रुमर नभएपछि काठमाडौंले सडक विभागसँग ब्रुमर पैंचो लिएको हो ।

के काम हुँदैछ काठमाडौँमा ?

काठमाडौँमा सडक विभागसँग तीनवटा ब्रुमर पैंचो लिएर सडक सफा गरिँदैछ। धूलो उड्न नदिने उद्देश्यले काठमाडौं महानगरले थप सातवटा ब्रुमर ल्याउने भएको छ ।

ती सातमध्ये दुईवटा चिनियाँ सहयोगमा आउन लागेका हुन् ।

बाँकी पाँचवटा भने महानगरले नै किन्न लागेका इटालियन ब्रुम हुन्। महानगरका अनुसार पुराना ब्रमुरले साना धूलो मात्र उठाउँथ्यो ।

अब आउने मेसिनले सडकमा छरिएका गिट्टी, बालुवाजस्ता ठूला फोहोर पनि सजिलै उठाउने महानगरको भनाई छ ।

एक घन्टामा ५ किलोमिटर सडकको धूलो उठाउने क्षमता छ। सो समयअनुसार हरेक दिन झन्डै २ सय किलोमिटर सडक सफा गर्ने लक्ष्य लिइएको छ ।

यससँगै ब्रुमरले सफा गरेपछि पानी खन्याएर समेत थप धूलो उड्नबाट रोक्ने योजना पनि लिइएको महानगर बताउँछ । त्यसका निमित्त महानगरपालिकाले पाँचवटा जेट मेसिन अर्डर गरेको छ ।

उक्त चार करोड रुपियाँ बराबरका जेट मेसिन आयात ठेक्का नेपाली कम्पनी म्यापले पाएको छ । उक्त मेसिन आउँदो महिनामै आइपुग्ने भएको छ ।

महानगरमा गत वर्ष बन्न नसकेका सडक पनि यस आर्थिक वर्षमा थपिएका छन् ।

जसमा चालू आर्थिक वर्षका लागि १ सय ३६ वटा योजना छन् ।

जसमध्ये ९१ सम्पन्न भइसकेका छन् भने ४५ वटा पूरा हुन बाँकी छन्। त्यसैगरी, आर्थिक वर्ष २०७४/७५ मा ५५ वटा स्वीकृत भएका थिए ।

अघिल्ले आर्थिक वर्षमै थालिएर सम्पन्न भएका योजना १३ वटा छन् भने गत वर्षका ३१ योजना यो अर्थिक वर्षलाई थपिएका छन्।

बढाएर तीन अर्ब बजेट

अघिल्ले आर्थिक वर्ष काठमाडौं महानगरले सडक पूर्वाधार निर्माणमा दुई अर्ब बजेट छुट्याएको थियो। यो वर्ष सो संख्यालाई बढाएर तीन अर्ब बनाएको छ।

यसकारण यस वर्ष सडक पूर्वाधारका ८० प्रतिशत काम सम्पन्न भइसकेको महानगरले बतायो ।

महानगरका अनुसार सडकमै खर्च गर्न भनेर ७५ करोड बजेट वडाहरूलाई पठाएको छ ।

काठमाडौं महानगरका सह–प्रवक्ता नमराज ढकाल भन्छन्, ‘जुन वडाबाट माग हुन्छ, बजेट पनि सोही वडालाई दिँदै आइरहेका छन् ।’ ती सम्पूर्ण सबै सडक महानगरअन्तर्गतका हुन् ।

ती सबै सडक मेलम्ची खानेपानी र सडक विभागका आयोजना नभएर मात्रै महानगर अन्तर्गतका रहेका छन् ।

गत वर्ष काठमाडौं महानगरभित्र साढे २५ किलोमिटर कालोपत्रे सकिएको प्रवक्ता ढकाल बताउँछन् ।

साथै ढल चार किलोमिटर, ढुङ्गा छाप्ने काम साढे तीन किलोमिटर, ब्लक छाप्ने तीन किलोमिटर, आरसिसी ढलान करिब चार किलोमिटर, ग्राभेल करिब चार किलोमिटर, खाल्डाखुल्डी पुर्ने ८७ हजार वर्गकिलोमिटर सकिएका थिए ।

महानगरले मेलम्ची र सडक विभागले आफ्नो दायित्वको सडक पूरा नगर्दा काठमाडौंको धूलो नियन्त्रण गर्न गाह्रो परेको आरोप समेत लगाएको छ ।

प्रवक्त ढकालले भने ‘मुख्य सडकमै जाम, धूलोधुवाँ भएपछि काम गर्ने हामीलाई समेत जोडेर आलोचना गरिन्छ, ‘हामीले जति बजेट खर्च गरे पनि कही नहुने रहेछ ।’

के भन्छ ललितपूर महानगर ?

चालू आर्थिक वर्षको चार महिनामा झन्डै तीन किलोमिटर सडक कालोपत्रे गरिएको ललितपुर महानगरले जानकारी दियो । यी महानगरले आठ मिटरभन्दा साना सडक निर्माणको मात्रै जिम्मा लिनुपर्ने हुन्छ ।

यो आर्थिक वर्ष सम्पन्न हुँदा १६ किलोमिटर सक्ने गरी स्थानीय सरकारले लक्ष्य लिएको छ । महानगरका अनुसार अघिल्लो वर्ष ७ किलोमिटर सडक निर्माण भइसकेको छ ।

चार मिटरभन्दा साना सडक कालोपत्रे गरिने महानगरको कार्ययोजनामा उल्लेख गरिएको छैन । तर, सो सडकमा कालोपत्रेको सट्टा ढलान गर्ने योजना महानगरको छ ।

सोहीअनुरुप उक्त महनगरका २९ वटै वडामा धमाधम निर्माणका काम भइरहेका छन् । ती सबै वडामा सडकका खाल्डाखुल्डी पुर्न मात्रै झन्डै डेढ करोड छुट्याइएको छ ।

ललितपुर महानगरका प्रवक्ता राजु महर्जन भन्छन् ‘सडक निर्माण, ढलान र ब्लक हाल्ने योजनालाई अर्को साता अन्तिम रूप दिने तयारी भइरहेको छ ।’

उनकाअनुसार सरसफाइअन्तर्गत पाटन दरबार क्षेत्र सफा बनाउन एउटा ब्रुमर नियमित प्रयोग भइरहेको छ। सोही स्थानमा प्रत्येक दिन बिहान ब्रुमरले सडक सफा गरिन्छ।

बाँकी स्थानमा पनि नियमित सडक सफा राख्न थप दुई ठूला ब्रुमर ल्याउन टेन्डर आह्वान गरिएको प्रवक्त महर्जनले जानकारी दिए ।

आउँदो तीन महिनामा दुवै ब्रुमर महानगर आइपुग्ने उनको दाबी छ ।

‘हामीसँग नयाँ ब्रुमर त छ’ प्रवक्त महर्जनले भने ‘अबको तीन महिनामै हामीसँग हाल भएकोभन्दा ठूलो र अत्याधुनिक प्रविधिको ब्रुमर हुनेछ ।’

निर्माणको काम सडकमा मात्र सीमित छैन।

इटी टोलदेखि महापालसम्म पाँच सय मिटर ढल निर्माण भइरहेकाले खाल्डाखुल्डी पुर्न र धूलो उड्न नदिन सरसफाइ भइरहेको महानगरले जनाएको छ।

...

बुधबार, १९ कार्तिक २०७५ 

प्रतिक्रिया

Related