जुम्लाका आठै तह विपद् पूर्वतयारीमा जुट्तै

१८ लाखको जोखिमबाट बच्ने सामान हस्तान्तरण
निर्माण सञ्चार, जुम्ला । जुम्लामा आठै स्थानीय तह विपद पूर्वतयारीमा जुटेका छन् । जस्तोसुकै प्रकोपबाट हुन सक्ने जनधनको क्षति कम गर्न यस सम्बन्धी पूर्वतयारीबारे स्थानीय तह प्रशिक्षित गराइएको हो ।

जस अनुसार स्थानीय जनताहरु आफ्नो ठाउँमा आफैं सचेत भएर रिस्क’ जोखिमबाट बच्न सकुन् भन्ने अभिप्रायले यस्तो कार्यक्रम गर्न लागिएको हो ।

विपद पूर्वतयारीका लागि बजेट र क्षामता अभिवृद्धिमा जोड दिने कार्यक्रम अघि बढाइने भएको हो ।

किर्डाकको अभियान

स्थानीय सरकार विपद व्यवस्थापनका सबालमा समेच भइरहेको बेला किर्डाक नेपाल जुम्लाले, विपद व्यवस्थापनमा जुम्लाका चार स्थानीय तहसँग सहकार्य बढाएको हो ।

जस अनुसार चार स्थानीय तहलाई १८ लाख बढीको विपद व्यवस्थापन सामाग्री सहयोग गरिएको छ ।

जुनसुकै प्राकृतिक प्रकोपपछि विपदको समयमा आइपर्ने संभावित जोखिम व्यवस्थापन गर्न स्थानीय तहको मागकै आधारमा सामग्री सहयोग गरिएको आयोजकको भनाइ छ ।

किर्डाक नेपालले चन्दननाथ नगरपालिका सहित तातोपानी, पातारासी र तिला गााउपालिकालाई क्रमशः सामाग्री वितरण गरेको छ ।

परियोजना अधिकृत कमल बहादुर छत्यालका अनुसार वितरण गरिएका सामग्री मध्ये खोज तथा उद्धार किटबक्समा २३ प्रकारका ९१ सामग्री छन् ।

त्यस्तै प्रकोप तथा विपदको सूचना तथा जानकारी लिन ४३ इन्चको स्मार्ट टिभी, डाटा राख्न कम्प्युटर, टेवल र कुर्ची, पावर ब्याकप, मल्टिमिडिया, स्टिल दराज, क्यामेरा लगाएतका अन्य सामग्री स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

चारवटै तहले विपद व्यवस्थापनका लागि खोज तथा उद्धार राहत कोष समेत गठन गरेका छन् । प्रतिराहत कोषमा परियोजनाले एक लाख ५३ हजार रकम सहयोग स्वरुप जम्मा गरिदिएको छत्यालले बताए ।

तातोपानी गाँउपालिकालाई चार लाख ७६ हजार दुई सय ६१, तिलामा पाँच लाख आठ हजार ९३, पातारासीमा चार लाख ८१ हजार चार सय २५ र चन्दननाथ नगरपालिकालाई तीन लाख २४ हजार ६ सय १६ रुपिया गरी जम्मा १८ लाख २९ हजार तीन सय ९५ रुपियाको सामाग्री सहयोग गरिएको हो ।

किर्डाक नेपाल जुम्लाका कार्यक्रम संयोजक दिपराज रावतले भने, ‘प्रकोप कहिले कसरी आँउछ भन्न सकिँदैन, तर विपद पूर्वतयारी अवस्थामा रहनु बुद्धिमानी उपाय हो,’ उनले थपे, ‘अन्य प्रकोप त छँदै छन् अबको भूकम्पको जोखिम पनि कर्णालीमा बीढ छ, त्यसैले विपद जोखिम व्यवस्थापन गर्न हामीले अहिलेदेखि पहल सुरु गरेका छौं ।’

चारै तहमा विपद व्यवस्थापन शाखा

नेपाल सरकारले पनि विपद व्यवस्थापनमा निकै सचेत भएको प्रधानमन्त्रीले बताउँदै आएका बेला जुम्लाका स्थानीय तहले पनि यो कार्यक्रम लागू गर्ने भएका हुन् ।

जस अनुसार जुम्लाका चारवटै स्थानीय तहमा विपद व्यवस्थापन शाखा स्थापना गरिएको स्थानीय अधिकारीहरु बताउँछन् ।

तहको विकासमा हातेमालो गरी अप्ठ्यारोमा पनि संस्थाबाट सहयोगको अपेक्षा गर्दै किर्डाकद्वारा प्राप्त सामाग्रीले पालिकालाई राहत पुगेको पातारासी गाँउपालिका अध्यक्ष लछिमन बोहोराले बताए ।

चन्दननाथ नगरपालिकाकि मेयर कान्तिका सेजुवालले विपद व्यवस्थापनका सामग्री प्रयोग गर्न नसके दिएको पनि अर्थ नहुने बताइन् ।

‘हामीसँग पनि पहिलेदेखि कही सामग्री थिए, विपदका घटना भैरहेका छन् तर त्यसको प्रयोग हुन सकेको छैन,’ उनले भनिन्, ‘विपद व्यवस्थापनका प्राविधिक कुरामा पनि अब छलफल गरेर सँगै अघि बढ्नुपर्छ ।’

तिला गाँउपालिका अध्यक्ष रतननाथ योगीले भने, ‘अब हामीसँग उद्धारका सामग्री छन् तर पालिका क्षेत्रमा हुने विपदका घटनाबारे समयमै सूचना आउनु पर्याे, होइन भने कोठामा उद्धारका सामग्री थन्किने, घटनामा मान्छेले ज्यान गुमाउनुपर्ने अवस्था आउने छ ।’

 

 

___

निर्माण संवाददाता सागर परियारको रिपोर्ट

...

बिहीबार, २० मंसिर, ०७५

 

प्रतिक्रिया

Related