प्रधानमन्त्रीले वचन दिएः ‘इन्जिनियरहरुको न्यूनतम तलब–भत्ताको माग पूरा गरिने छ, ढुक्क हुनोस्’

‘३ सय पुल बन्दै छ, १ सय २० तुइन विस्थापित भइसके, इन्जिनियरहरु अब देशको मुहार फेर्ने गरी माथि उठ्नोस्’
निर्माण सञ्चार, काठमाडौं | लामो समयदेखि न्यूनतम तलब, अतिरिक्त कामबापत पारिश्रमिक जस्ता माग राख्दै लड्दै आएका इन्जिनियरहरुको माग पूरा हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले इञ्जिनियरहरुले उठाउँदै आएका प्रमुख २ माग सरकारले सम्बोधन गर्ने वचन दिएपछि सो माग पूरा हुने भएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट इञ्जिनियर असोसिएसन पिनका पदाधिकारी सहितको टोलीले बुझाएको ज्ञापनपत्र लगत्तै उनीहरुका २ माग पूरा हुने प्रधानमन्त्री ओली बताए ।

‘तपाईहरुले माग राख्दै आउनु भएको छ, अब पूरा हुने बेला पनि आयो भन्ने बुझ्नुहोस्, ‘प्रम ओलीले अघि भने, ‘सरकारी सेवाका इञ्जिनियरहरुलाई अतिरिक्त कामको भत्ता तथा निजी क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्ने काम अब सरकारले गर्नेछ ।’

प्रम ओलीले सरकारले पत्रकारितालगायत श्रमका सबै क्षेत्रमा न्यूनतम पारिश्रमिक तोक्ने तयारीमा सरकार रहेको बताउने क्रममा सो बताएका हुन् ।

पिन अध्यक्ष शम्भुबहादुर श्रेष्ठ सहितको टोलीले शनिबार बिहान प्रधानमन्त्री ओलीलाई इन्जिनियरिङ क्षेत्रका मागहरु राखी ७ बुँदे ज्ञापन पत्र बुझाएको थियो ।

नेपाल इन्जिनियर्स असोसिएनको निर्वाचन नजिकिदै जाँदा इन्जिनियरहरुले राखेका मागहरु लिपिबद्ध गरी प्रधानमन्त्री समक्ष राखेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

उक्त भेटमा पिनका तर्फबाट चुनावी मैदानमा होमिएको प्रा डा त्रिरत्न बज्राचार्य सहितको चुनावी टोली सहभागी थियो ।

इन्जिनियरहरु समृद्धिको युगका बाहक

प्रतिनिधिहरुलाई प्रम ओलीले चुनावी प्रतिस्पर्धालाई लक्षित गर्दै अबको विकासको बाहक बन्ने गरी अघि बढ्न अपिल समेत गरेका थिए ।

उनले तुइन विस्थापनको अभियान आफैंले सुरु गरेको बताउँदै अब तुइन उन्मूलन नै भइसक्ने ठोकुवा गरे । उनले भने, ‘बुझ्नुहोस्, नेपालको समृद्धिको मूल आधार पूर्वाधर विकास तीव्र रुपमा हुँदै छ । यही वर्ष ३ सय पुल बन्दैछन । १ सय २० तुइन विस्थापित भइसकेका छन् । अब बाँकी ३० ओटा तुइन पनि विस्थापित हुदै छन् । मुलुकले नयाँ रुप लिने छ ।’

सरकारका कामहरुको बचाउ गर्दै बोलेका प्रम ओलीले इन्जिनियरहरुले अबको युगका विकासको बाहक बन्नु पर्ने सुझाव समेत दिएका थिए ।

पिन टोलीले यही मागलाई लिएर केही दिन अघि मात्रै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पनि ज्ञापन पत्र दिएका थिए ।

...

शनिबार, २२ मंसिर, २०७५

प्रतिक्रिया

Related