जग्गाधनीले मुआब्जा नपाएपछि जुम्लामा सडक अवरुद्ध !

सम्बन्धित निकायले वेवास्ता गरेको स्थानीयको आरोप
निर्माण सञ्चार, जुम्ला | जुम्ला र डोल्पा जोड्ने सडक खण्डको दानसाँघुको जोवाँ नदी पुल नजिकैका जग्गाधनीले मुआब्जा नपाएपछि सडक अवरुद्ध गरेका छन् ।

झण्डै तीन वर्ष अघि पुल निर्माण गर्दा दुई दर्जन भन्दा बढी स्थानीयको जग्गा सडकमा परेको छ । लामो समयदेखि मुआब्जाको निम्ती पहल गर्दा पनि नपाएपछि अन्तिममा सडक अवरुद्ध गर्नुपरेको स्थानीय बताउँछन् ।

जिल्लाको विभिन्न निकायदेखि जिल्ला प्रशासन, नगरपालिका, जिल्ला समन्वय समिति सबै ठाउँ धाउँदा पनि जग्गाको क्षतिपूर्ति नपाएको उनीहरूको गुनासो रहेको छ ।

‘जिल्ला स्तरका सरोकारालाहरु बीच पटक–पटक छलफल भयो, नापी कार्यालय, चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समितिको प्राविधिक टोलिले क्षति मुल्याकंन गर्ने नाममा टिएडिएसमेत खाए तर हामीले मुआब्जा पाएनौं,’ स्थानीय बताउँछन् ।

मुआब्जाका लागि भन्दै चन्दननाथ नगरपालिकाले ५३ लाख र गुठीचौर गाउँपालिकाले ४० लाख रकम व्यवस्थापन गर्ने भनिएपनि अहिलेसम्म कुनै व्यवस्थापन नभएको जग्गाधनी दिनेस सुनारले बताए ।

यही साता भित्र कुनै निर्णय नभए दानसाँघुकै तिला नदि पुल अन्तर्गतको सडक पनि बन्द गर्ने जग्गाधनीहरुले चेतवानी दिएका छन् ।

गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीका अनुसार दानसाँघुको विवादित जग्गाको मुआब्जा आफ्नो कार्यक्षेत्रभित्र नपार्ने भएकोले दिन नसकिएको हो ।

उक्त जग्गा चन्दननाथ नगरपालिका भित्र पर्ने भएकाले गुठीचौर गाउँपालिकाले मोअब्जा दिँदा बेरुजु रहने उनले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीका अनुसार सर्वदलिय, सर्वपक्षिय बैठक राखेर छलफल गरी विवाद सकाएर सडक सञ्चालनमा ल्याउन पहल भएको छ । गुठिचौर गाउँपालिकाका जनप्रतिनिधिले यस विषयमा चासो नदिँदा पनि सडक अबरुद्ध हुन पुगको हो ।

यसमा छिटै निष्कर्ष निकाल्न सबैको माग छ । साथै, मुआब्जा नपाएकै कारण र प्रशासनले समन्वय गर्न नसक्दा, तातोपानी गाउँपालिका ६ मा पर्ने झण्डै, ४ सय मिटर सडक कालोपत्रे भएको छैन ।

जग्गा धनीले मुअब्जा नपाएसम्म, कुनै पनि हालतमा जग्गा नदिने भनेपछि सडक कालोपत्र हुन नसकेको हो । साथै फराकिलो बनाउन समेत नसकेको अबस्था रहेको छ ।

दुर्घटनाका दृष्टिले निकै जोखिममा रहेपनि तातोपानी गाउँपालिका ६ स्थित रावतवाडा नजिकको कच्ची सडकको स्तरउन्नतीमा कसैको ध्यान जान सकेको छैन । साथै, स्थानीय तहले पहल समेत गर्न सकेको छैन ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

....

आइतबार, २३ मंसिर २०७५

प्रतिक्रिया

Related