पूर्व–पश्चिम राजमार्ग: वैकल्पिक मार्गको काम अन्तिम चरणमा !

१८ वटा पुल निर्माण पुरा भएर संचालनमा
निर्माण सञ्चार, सुनसरी | पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा निर्माण सुरु गरिएको धरान चतरा वैकल्पिक मार्गको काम अन्तिम चरणमा पुगेको छ। एसियाली विकास बैक (एडिबी) सहयोगमा २०१४ देखि निर्माण थालिएको पहिलो चरणको सडक सेप्टेम्वरमा पुरा भएको छ।

उक्त मार्ग ६१.२३९ किलोमिटरको हो, जुन सुनसरीको नडाहाबाट सुरु भई उदयुपरको रामपुर, सप्तरीको फत्तेपुर हुँदै कन्चनपुरमा पुगेर पूर्वपश्चिम राजमार्गसँग जोडिन्छ।

सोमार्गमा निर्माण गर्नुपर्ने १८ वटा पुल निर्माण सम्पन्न भएर संचालनमा आइसकेका छन्।

थप डिजाइन र सर्भे गरेर आयोजनाले सोही नडाहाबाट करिव १२ किलोमिटर पकलीसम्म सडक विस्तारको काम थालेको छ ।

हाल तीव्र रुपमा सडक विस्तारको काम भइरहेको एडिबीका प्रोजेक्ट अफिसर (ट्रान्सपोर्ट) नरेश प्रधानले बताए ।

प्रोजेक्ट अफिसर प्रधानले उक्त खण्डमा हाल संचालनमा रहेको सडकको स्तरोन्नति गर्न लागिएको दाबी गरे ।

उनका अनुसार दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक संजाल परियोजना अन्तर्गत सडक निर्माण गरिएको हो।

सो वैकल्पिक मार्ग सुनसरीमा २४ किलोमिटर,उदयपुरमा ३३.२० किमि, सप्तरीमा १६.०३९ किमि पर्ने एडिबीले जानकारी दियो ।

यो सडक खण्ड निर्माणको ठेक्का सिटिसिई–कालीका जेभीले पाएर धमाधम काम गरिरहेका छन्। निर्माण कम्पनीले समयमा नै गुणस्तर कायम गरेर काम गरिरहेको एडिबीको भनाई छ ।

यसैगरी, सोही कम्पनीले आपतकालीन बाढीजन्य क्षति पुर्नस्थापना परियोजना अन्तर्गत चतरास्थित कोशीमा पुल निर्माण गरिएको छ।

करिव २६१ मिटर लामो स्ट्रिल ट्रष्ट व्रिज निर्माण गरिएको छ। जसको क्यारिज वे मुनी स्ट्रक्चरसँगै ट्रष्ट राखिएको छ।

१० बर्षअघि सत्तकोशी नदीको तटबन्ध भत्किएर बाढीले पुर्व–पश्चिम राजमार्ग भत्काउँदा करिव तीन महिनाभन्दा बढी सडक अवरुद्ध बनेको थियो।

त्यतिवेला वैकल्पिक मार्ग नभएका कारण पश्चिमी जिल्ला र काठमाडौं पुग्नका लागि भारतको बाटो प्रयोग गर्नुपरेको थियो।

त्यहि कठिन परिस्थितिलाई ध्यानमा राखेर वैकल्पिक मार्गको रुपम धरान चतरा सडक विस्तार थालिएको हो ।

त्यसैगरी सडक विभाग अन्तर्गतको उत्तर दक्षिण व्यापारिक मार्ग आयोजनाले यो सडकलाई हेटौंडासम्म विस्तार गर्ने काम धमाधम गरिरहेको छ।

उदयपुरको बसाहादेखि हेटौडसम्म करिव ३ सय १८ किमी सडक विस्तारको काम गरिरहेको सडक विभागका इन्जिनियर केशव ओझाले जानकारी दिए।

इन्जिनियर ओझाका अनुसार करिव ४५ प्रतिशत निर्माण कार्य पुरा भएको छ। समयमै सकिने उनको दाबी छ। २०७६ मा निर्माण सक्ने लक्ष्य राखिएको छ।

यसलाई वैकल्पिक मार्ग भएकाले विशेष प्राथमिकतामा राखेर काम भैरहेको आयोजनाले जनाएको छ।

...

मंगलबार, ३ पुष २०७५

प्रतिक्रिया

Related