किन सुस्तायो ‘हुलाकी राजमार्ग’ निर्माणको काम ?

अझै कति बाँकी छ काम ?
निर्माण संचार, काठमाडौँ | पूर्वी तराईको सप्तरी, सुनसरी, मोरङ र झापा जिल्लामा हुलाकी सडक निर्माण पूँजीगत बजेट अभावकै कारण सुस्त भएको छ ।

चार जिल्लालाई जोड्ने सडक निर्माणका लागि हरेक वर्ष न्यून बजेट बिनियोजन हुने गरेको हुलाकी सडक आयोजना इटहरीका प्रमुख विजयकुमार महतोले जानकारी दिए ।

ती चार जिल्लामा मुख्य र सहायक गरी २ सय २५ किलोमिटर लामो सडकसँगै केही पुल बनाउनुपर्नेछ ।

सप्तरीको राजविराज–मोरङको विराटनगर हुँदै झापाको भद्रपुरसम्मको सडक संरचनाको निर्माणको हुलाकी सडक आयोजना इटहरी कार्यालयले हेर्दै आएको छ ।

सो सडक बाहेक जनकपुर, नेपालगञ्ज र धनगढी कार्यालयले समेत हुलाकी सडक निर्माणको काम हेर्ने गरेका छन् ।

‘सडक निर्माणको गर्नुपर्ने काम थुप्रै बाँकी छ’, आयोजना प्रमुख महतोले भने बार्षिक बजेट भने थोरै काम गर्न पनि नपुग्ने गरी आउँछ, सडक टालटुलमा नै सकिने गरेको छ ।’

कति बजेट निकासा ?

चालु आर्थिक वर्ष २०७५/०७६ का लागि चार कार्यालयबाट खर्च गर्ने गरी पाँच अर्ब रुपियाँ बजेट निकासा भएको छ । इटहरी कार्यालयका लागि ३८ करोड रुपियाँ मात्र निकासा भएको छ ।

गत आर्थिक वर्षमा ५३ करोड रुपियाँ निकासा भएको थियो ।

कति पुल निर्माण गर्नपर्ने ?

हुलाकी राजमार्ग अन्तर्गत झापामा ४८, मोरङमा ४८, सुनसरीमा ३० र सप्तरीमा ३२ किलोमिटर दुरीको मुख्य राजमार्ग र राजमार्गभित्र पर्ने पुल निर्माण गर्नुपर्ने हुन्छ ।

महतोका अनुसार सहायक सडकको रुपमा झापाको चारआली–केचना ४० किलोमिटर, मोरङको कानेपोखरी–रंगेली २५ किलोमिटर र सप्तरीको कल्याणपुर–बर्साइन हुँदै ब्रह्मपर्ती १८ किलोमिटर दुरीमा सडक निर्माण गर्नुपर्नेछ ।

चार जिल्लामा १ सय ४ किलोमिटर सडक र ३० वटा पुल ठेक्का प्रक्रियाबाट निर्माण भइरहेको महतोको भनाई छ ।

महतोले भने ‘अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षमा ठेक्कामार्फत निर्माणको जिम्मेवारी लिएका कम्पनीले काम गरिरहे पनि बजेट अभाव भएको महतोको भनाइ छ ।

गत आर्थिक वर्षको बजेटमा सप्तरीमा साना र ठूला १५ पुल निर्माणकै चरणमा छन् । झापाको मेची नदीमा ३३ करोड लागतमा पुल निर्माणको कामसमेत चलिरहेको छ ।

झापाको चारआली–केचना ४० किलोमिटर दूरीको सहायक सडक कालोपत्रेको कामले गति लिइरहेकोे महतोले बताए ।

त्यसबाहेक मोरङ र झापा जोड्ने रतुवामाइमा निर्माण भएको पुलको पूर्व भाग गतवर्ष नदीले कटान गरेको थियो । तीन वर्षअघि निर्माण सम्पन्न भएको पुलसँग सडक सञ्जाल भने जोडिएको छैन ।

आयोजना प्रमुख महतोले मुख्य राजमार्ग अन्तर्गत पूर्व–पश्चिम र सहायक राजमार्ग अन्तर्गत उत्तर–दक्षिण जोड्ने सडकको अवस्था र आवश्यकता हेरेर ठेक्का प्रक्रिया बढाइएको जानकारी दिए ।

मुख्य राजमार्गको रुपमा कति कि.मि ?

तराइका जिल्ला जोड्ने हुलाकी राजमार्गको पूर्व–पश्चिमतर्फको ९ सय ७५ किलोमिटर दुरी मुख्य राजमार्गको रुपमा पर्छ ।

यसैसँग जोडिएर तराइका जिल्ला सदरमुकाम जोड्ने उत्तर–दक्षिण सहायक सडकको दुरी ८ सय १७ किलोमिटर पर्छ । सहायक सडकमा ३२ वडा मार्गहरु निर्माण गर्नुपर्ने हुन्छ ।

मुख्य र सहायक सडकसहित एक हजार ७ सय ९२ किलोमिटर दूरीमा गर्नुपर्ने निर्माणको काममध्ये अहिलेसम्म ७० किलोमिटर दूरीमात्रै कालोपत्रे भएको छ ।

हुलाकी राजमार्गलाई पूर्व–पश्चिम लोकमार्गको समानान्तर सीमा हुँदै ३० किलोमिटर दक्षिणतर्फ विस्तार गर्ने सरकारले योजना लिएको छ ।

आर्थिक वर्ष २०६२/०६३ देखि निर्माण सुरु गरिएको यो राजमार्गमा भने हाल पनि कतिपय स्थानमा आधारभूत संरचना बन्न भने सकेको छैन ।

...

बुधबार, ५ पुष ०७४ 

प्रतिक्रिया

Related