‘इन्जिनियरिङ स्टाफ कलेज बन्नेछ’– प्रधानमन्त्री ओली

नेइए कार्यसमितिमा नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदान (फोटोफिचर)
निर्माण संचार, काठमाडौं | इन्जिनियरिङ क्षेत्रले यस अगाडिदेखि नै राख्दै आएको इन्जिनियरिङ स्टाफ कलेजको माग अब पूरा हुने भएको छ ।

नवनिर्वाचित नेपाल इन्जिनिरिङ एसोसिएसन (नेइए) का पदाधिकारीलाई बधाई दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले इन्जिनियरिङ स्टाफ कलेजको माग अब पूरा हुने बताएका हुन् ।

नवनिर्वाचित पदाधिकारीलाई बधाई दिन बिहीबार काठमाडौंमा आयोजित बधाई तथा शुभकामना शभामा प्रधानमन्त्री ओलीले भने ‘इन्जिनियरिङ स्टाफ कलेजको माग पूरा गर्न सरकार तयार छ, ढुक्क हुनुस्, तपाईँहरुको माग यही सरकारले सम्बोधन गर्नेछ ।’

नेइएको ३२ औं कार्यकारिणी समितिको चुनाव क्रममा आफ्नो घोषणा पत्र अनुसार आफूहरुको माग पूरा हुन लागेकोमा नवनिर्वाचित नेइए अध्यक्ष प्रा.डा बज्राचार्यले खुसी जनाएका छन् । 

अध्यक्ष प्रा.डा बज्राचार्यले आफूहरुको चुनावी घोषणापत्रमा उल्लेख ३२ मुख्य मागमध्ये इन्जिनियरहरुको सेवा सुबिधा, भत्ता सहित इन्जिनियरिङ स्टाफ कलेज पनि रहेको स्मरण गरे ।

उनले भने ‘इन्जिनियरिङ क्षेत्रले दशकौंदेखि राख्दै आएको माग नवनिर्वाचित नेइए पदाधिकारीलाई बधाई दिने कार्यक्रममै आएर प्रधानमन्त्रीले चाडै पूरा हुन्छ भनेपछि धेरै खुशी लागेको छ, हामी सबै इन्जिनियर हाम्रो माग पूरा हुनेमा विश्वस्त छौं ।’

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले पनि इन्जिनियरहरुको महत्वपूर्ण माग पूरा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

वितगदेखि नै नेइए, स्क्याफ, सोना जस्ता इन्जिनियरिङ क्षेत्रले निजामती कर्मचारीका लागि स्टाफ कलेज भएजस्तै प्राविधिक जनशक्ति तथा कर्मचारीका लागि छुट्टै तथा प्राविधिक क्षमता सम्पन्न स्टाफ कलेज माग गर्दै आएका छन् ।
 
उनीहरुले गुणस्तरीय पूर्वाधार विकासका लागि गुणस्तरीय जनशक्ति र दक्ष जनशक्तिको सेवा सुविधा आदिले मात्रै गुणस्तरीय काममा टेवा पुग्ने दाबी गर्दै आइरहेका छन् ।
 
कार्यक्रममा प्रधानमन्त्री ओलीले दक्ष प्राविधिकहरुको अतिरिक्त क्षमताको समेत कदर गर्ने गरी सरकारले निकट भविष्यमै न्यूनतम तलब पनि तोक्ने जानकारी दिएका थिए ।

 

प्रम ओलीले समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकारी उद्देश्य पूरा गर्ने पंक्ति नै इन्जिनियरिङ भएको जनाउँदै इन्जिनियरिङ क्षेत्रलाई समयानुकूल विकास गर्दै सबल बनाउने तर्फ आफ्नो ध्यान रहेको समेत बताएका थिए ।
 
नेइएको नवनिर्वाचित समितिलाई बधाई दिन नेकपा नेतृ तथा नेकपा निकट प्रगतिशील इन्जिनियर एसोसिएसनकी इन्चार्ज पम्फा भुसाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठ समते पुगेका थिए ।
 
कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका विदेश विज्ञ डा राजन भट्टराईको समेत उपस्थिति थियो ।
 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवाली, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका पूर्व डिन प्रा भरत पहाडी, इन्जिनियरिङ काउन्सिल तथा एनसेट पदाधिकारीहरु समेत कार्यक्रममा सहभागी थिए ।

इन्जिनियरिङ क्षेत्रमा देशकै जेठो संगठन नेइएको ३२ औं कार्यकारिणी समितिका लागि मंसिर २८ गते (गत शुक्रबार) भएको चुनावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी निकट प्रगतिशील इन्जिनियरहरुको समूह ‘पिन’को शानदार जित भएको थियो ।

केन्द्र तथा प्रदेशबाट गरी १२५ सदस्यीय निर्वाचित प्रतिनिधिहरुमा पिनले ७६ सिटमा जित हासिल गरेको छ ।

तस्वीरमा

 

 

...

शुक्रबार, ६ पुष ०७५ 

प्रतिक्रिया

Related