कहिले सकिन्छ कोटेश्वर–कलंकी सडकखण्डको काम ?

सडक विस्तारका क्रममा ८ वटा पुल निर्माण
निर्माण सञ्चार, काठमाडौँ | चक्रपथको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम आउँदो शनिबारसम्म सम्पन्न हुने भएको छ । चिनियाँ ठेकेदारले उक्त सडक विस्तारको काम सकिएलगत्तै सडक विभागलाई आयोजना पूरा भएको जानकारी गराउनेछ ।

सडक विभागले ५ वर्ष लगाएर विस्तार गरिएको चक्रपथमा अब म्याद थपेर काम गराउनुपर्ने अवस्था नरहेको दाबी गरेको छ ।

चीनले कुन दिन औपचारिक रुपमा नै चक्रपथ हस्तान्तरण र नेपाल सरकारले उद्घाटन गर्छ भन्ने हालसम्म नटुंगिएको विभागको भनाई छ । चक्रपथको उक्त खण्ड चीन सरकारको अनुदान सहयोगमा विस्तार भएको हो ।

चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ ।

सोहीमध्ये पहिलो चरणमा १० दशमलव ३९ किलोमिटरको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम डिसेम्बर १५मा सम्पन्न हुने निश्चित भएको सडक विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमले भने ‘करिब–करिब सम्पूर्ण काम पूरा भएको छ । अब केही दिनमै चक्रपथको काम सम्पन्न हुन्छ ।’ अन्तिम पटक थपिएको म्याद अनुसार डिसेम्बर १५मा नै ठेकेदारले सम्पन्न हुने प्रवक्ता गौतमले बताए ।

सोही आयोजनाले कोटेश्वर, बागडोल र ग्वार्कोमा आकाशे पुल पनि बनाएको छ ।

कहिले थालिएको थियो काम ?

माघ ०७३ सम्ममा उक्त खण्डको विस्तार सक्नेगरी सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच ३ पुस ०६९ मा सम्झौता थियो । तर, भूकम्प र नाकाबन्दीका कारण तोकिएको समयमा आयोजना सम्पन्न हुन सकेन । त्यसकारण सम्झौताबमोजिम भदौ ०७० देखि मात्र विस्तार सुरु गरिएको थियो ।

पुल मात्रै ८ वटा

उक्त सडक विस्तारका क्रममा चीनले खसीबजार, मनोहरा र बल्खुका दुई स्थानमा गरी आठ वटा पुल बनाएको छ ।

चक्रपथमा हुने जामलाई न्यून गर्नका लागि कलंकीमा अण्डर पास निर्माण गरिएको छ । जसको फिनिसिङ पनि सम्पन्न भएको छ । सो खण्ड विस्तार भएसँगै चक्रपथको कलंकी–कोटेश्वर खण्डमा सधैंजसो हुने सवारी जाम घटेको छ ।

...

सोमबार २४, मंसिर, ०७५ 

प्रतिक्रिया

Related