जनप्रतिनिधिले ठेक्का पाएको सडक निर्माणमै सुस्त काम !

विराटनगर–देवानगञ्ज सडकः मिति सकिन लाग्दा समेत आधा मात्रै काम
निर्माण सञ्चार, मोरङ | सुनसरीको कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारीको कम्पनीले ठेक्का लिएको विराटनगर–देवानगञ्ज सडक निर्माणको कामले गति नपाउँदा तोकिएको समयमा पूरा नहुने भएको छ ।

जनप्रतिनिधिको निर्माण कम्पनीले नै यसरी सडक निर्माणमा सुस्त काम गरेपछि समय सकिने बेलासम्म पनि आधामात्रै काम भएको हो ।

१३ किलोमिर उक्त सडक कालोपत्रेका लागि डाँफे–पुष्पाञ्जली जेभीले ठेक्का पाएको थयो ।

विराटनगरस्थित सडक डिभिजन कार्यालयले सो सडक निर्माणका लागि १० करोड ८७ लाख रुपियाँमा सो कम्पनीलाई ठेक्का दिएको थियो ।

यो सडक जिम्मा पाउने निर्माण कम्पनी पुष्पाञ्जलीका सञ्चालक कोशी गाउपालिका अध्यक्ष अन्सारी हुन् । आव २०७२/०७३ मा निर्माण थालिएको उक्त सडकको निर्माण अवधी आउँदो शनिबार सम्पन्न हुँदैछ ।

साढे दुई वर्षमा निर्माण सक्ने गरी जिम्मा पाएको ठेकेदारले निर्माण अवधी सम्पन्न हुन लाग्दा मात्रै ७ किलोमिटर सडक कालोपत्रे गरेको छ । सो सडकको अझै ६ किलोमिटर निर्माणको काम बाँकी रहेको छ ।

अध्यक्ष अन्सारी भन्छन्, ‘सरकारले समयमा नै बजेट उपलब्ध नगराउँदा काम समयमै पूरा गर्न सकिएन ।’

सात किलोमिटर कालोपत्रे गरिसकेको बताउँदै उनले बाँकी क्षेत्रमा पनि काम भएको दाबी गरे । अन्सारीका अनुसार कालोपत्रे गर्न बाँकी रहेको सडकमा बेस मिलाउने काम गरिएको छ ।

उनी भन्छन् ‘६ महिना समय थप गरी सरकारले बजेट उपलब्ध गराए चाडै सबै काम सम्पन्न हुन्छ । ’

गाउँपालिका अध्यक्ष अन्सारीले ५ दशमलव ५ मिटर चौडाइ र ४० एमएम मोटाइको कालोपत्रे सडक निर्माणको ठेक्का दिए पनि काम गरेको रकम समयमा नै भुक्तानी नगरेको गुनासो गरे ।

चालु आर्थिक बर्षमा उक्त सडक निर्माणका लागि पर्याप्त बजेट नै नआएको भन्दै सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख भूमराज न्यौपानेले सडक निर्माणमा निर्माण कम्पनीले मात्र नभई सरकारले पनि ढिलो गरेको आरोप लगाए ।

...

मंगलबार, २५ मंसिर २०७५  

प्रतिक्रिया

Related