अवैध रुपमा संचालन क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन

ललितपुरमा ५७ वटा खानी तथा क्रसर उद्योग रहेता पनि ३१ वटा संचालनमा
निर्माण सञ्चार, ललितपुर | ललितपुरमा अवैध रुपमा संचालनमा आएका सम्पूर्ण ढुंगाखानी र क्रसर उद्योग बन्द हुने भएका छन्।

मंसिर २९ गते (शनिबार)देखि लागू हुनेगरी तीनदिन भित्र सबै खानी बन्द गराइसक्ने अनुगमनको जिम्मा पाएको जिल्ला समन्वय समिति ललितपुरले बताएको छ ।

ढुंगा, गिटी, बालुवा खानीजन्य पदार्थको उत्खनन् तथा बिक्री प्रक्रियाको अनुगमन गर्न गठित समितिले मंसिर २६ गते सम्पन्न गरेको बैठकमा गैरकानूनी रुपमा खानी तथा क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो।

तत्काल क्रसर उद्योग बन्द गर्नु भन्ने आदेश दिएपनि बन्द गराउँदै हिड्ने अधिकार आफूलाई नभएको जिल्ला समन्वय समितिका अध्यक्ष अम्बरबहादुर खड्काले जानकारी दिए ।

उनकाअनुसार अनुगमनका लागि गठित उपसमितिको अध्ययन तथा स्थानीय तहले पठाएको पत्रको आधारमा जिल्लाका अधिकांश क्रसर तथा खानी उद्योग नविकरण नभएको पाइएको उनको भनाइ छ । ‘त्यस्ता उद्योगलाई तीन दिनभित्र बन्द गराउने निर्णय गरेकाछौँ, अध्यक्ष खड्काले भने ।’

मंसिर २६ गतेको निर्णय बमोजिम गठित अनुगमन समितिको निर्णयपछि जिल्ला प्रशासन कार्यालयले निर्देशन पालना नगर्ने गाउँपालिका वा नगरपालिका तथा उत्खननकर्ता, निकासिकर्तालाई तीन दिनभित्र निर्देशन पालना गर्न आग्रह गरेको छ ।

ललितपुरमा ५७ वटा खानी तथा क्रसर उद्योग रहेता पनि ३१ वटा मात्रै संचालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांकमा उल्लेख छ। सो तथ्याङ्क मध्येमा महांकाल गाउँपालिकामा एउटा ढुंगाखानी रहेको छ ।

सबै स्थानीय तहले गैरकानुनी रुपमा संचालन गरेका खानीलाई बन्द गर्ने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख प्रेमराज जोशीको दाबी छ ।

प्रमुख जोशीले भने,‘कसैले पनि विभिन्न बहानामा खानी संचालन गर्न पाउँदैन ।’

स्थानीय निकायले पुननिर्माणमा बाधा पुग्ने भन्दै खानी संचालन गर्न दिएको बताउँदै आएका थिए। तर जोशीले कहाँ, के, कस्तो बाधा पुगेको छ स्पष्ट बनाउन सकेको खण्डमा खानी संचालनमा अनुमती दिने सक्ने बताए।

अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ ‘मापदण्ड विपरीत संचालनमा आएका उद्योगलाई शर्त बमोजिम उद्योग संचालन गर्न स्थानीय सरकार संचालन ऐन ०७४ ले तोकेको निकायमार्फत् म्याद तोकी उद्योगीलाई निर्देशन दिएर कानुनले तोकेको दायरामा ल्याएर उद्योगको व्यवस्थापन गर्नुपर्नेछ ।’

मन्त्रिपरिषदको गत साउन २ गतेको निर्णयले खानी बन्द गर्न निर्देशन दिइसकेको थियो ।

...

आइतबार, १ पुष २०७५ 

प्रतिक्रिया

Related