मेलम्चीबाट किन भाग्यो इटालियन ‘ठेकदार’ सिएमसी ? भाग्दै गर्दा ८ जना पक्राऊ

निर्माण सञ्चार, काठमाडौं । लामो समयदेखि विभिन्न किचलो झिक्दै आयोजना लम्बाइ रहेको इटालियन ठेकदार कम्पनी सिएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना छाडेको घोषणा गरेको छ ।

रकम अभाव देखाउँदै पहिलेदेखि नै भाग्ने दाउमा रहेको यस कम्पनीका ८ जनालाई भाग्ने सूचना पाएकै आधारमा प्रहरीले काठमाडौं ठमेलबाट पक्राउ पनि गरेको छ ।

एकतर्फी रुपमा आयोजना छाडेको घोषणा गरेपनि सरकारले भने उसको पत्र बुझेको छैन ।

भाग्नै पर्ने कारण के हो ?

बाँकी कामका लागि ‘फन्ड सर्टेज’ भएको पत्र लिएर निर्माण कम्पनी सिएमसी प्रतिनिधिहरु आइतबार दिउसो मेलम्ची खानेपानी आयोजनामा पुगेका थिए ।

सूचना पाएपछि आयोजना अधिकारीहरुले पत्र बुझ्न अस्वीकार गरे पछि ऊ अन्योलमा छ । पत्राबारे खानेपानी मन्त्रालयले नबुझ्न आदेश दिएको थियो ।

सिएमसीले आफ्नो पत्रमा भाग्ने कारणका रुपमा ‘फन्ड सर्टेज’ भएको उल्लेख गरेको छ ।

कतिपयले यो निहुँमा उसले आफू भाग्ने बाहना बनाएको आरोप पनि छ । नेपाली बजारमा विभिन्न स्थानबाट लिएका निर्माण सामग्री लगायतको भुक्तानी सिएमसीले गरेको छैन ।

साइटमा रहेका सब कन्ट्र्याक्टरहरुसँग यस अघि पनि पटक पटक विवादमा तानिएको यो कम्पनी इटालिएनको सहकारी मार्फत् चलेको कन्स्ट्रक्सन कम्पनी हो ।

स्थानीय नेपाली इन्जिनियरहरुका अनुसार सिएमसी आफैंमा विज्ञ र क्षमता भएका इन्जिनियरहरुको जवाफदेही कम्पनी भने होइन ।

यसअघि उसले सरकारसँग यही डिसेम्बर १४ सम्म आफूले माग दाबी गरे अनुसारको रकम दिन अल्टिमेटम दिएको थियो ।

तर, समयसीमा सकिदा पनि नेपाल पक्षले रकम नदिएको भन्दै उसले आफूले हात झिक्ने बताएको सिएमसी पक्षको दाबी छ ।

तर, सरकारले बाँकी काम सकिएपछि मात्रै बाँकी रकम भुक्तानी दिने जवाफ दिएको थियो । यही कुरालाई उसले काम नगर्ने बाहना बनाएर भाग्न खोजेको देखिन्छ ।

तर, सरकारी वृत्तमा सिएमसीबारे यस अघि पनि काममा लापरबाही भएको र समयसीमा भन्दा बढी काम लम्बाएबारे पटक पटक चर्चा हुने गरेको थियो ।

भाग्दाभाग्दै समातिए

पैसा नपाएपछि केही दिनदेखि नै सिएमसीका अधिकारीहरु सुटुक्क भाग्न खोजेको कुरा बाहिर आएको थियो । यही क्रममा पूर्वसूचना पाएपछि नेपाल प्रहरीले ८ जनालाई ठमेलबाट नियन्त्रणमा लिइएको जनाएको छ ।

सिएमसीले हात हालेका योजना के हुन्छ ?

मेलम्चीबाट सिएमसीको भगौडा शैलीले उमाथि प्रश्न चिह्न उब्जाएको छ । सिएमसी वित्तीय संकटमा फसेको छ । मेलम्चीबाहेक उसले दुई निर्माणाधीन जलविद्युत आयोजना पनि हात हालेको छ ।

सिएमसीले तनहुँ जलविद्युत आयोजना र सोलु–दूधकोशी जलविद्युत आयोजनाको ठेक्का यस अघि नै करार गरिसकेको छ ।

यसमा एशियाली विकास बैंकको प्रमुख लगानी रहेको तनहुँ जलविद्युत् आयोजना १४० मेगावाटको रहेको छ । यसमा नदी फर्काउने, बाँध बनाउने लगायत निर्माण कार्यका लागि सिएमसी छानिएको थियो ।

आयोजनाका लागि एडीबीले प्राविधिक रुपमा योग्य ठहर गरेको सिएमसीसँग तनहुँमा २० अर्ब ६४ करोड ५२ लाख रुपैयामा ठेक्का सम्झौता भएको थियो ।

करार अनुसार उक्त आयोजना डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य राखेको थियो ।

यस्तै, ६८ मेगावाटको सोलु–दूधकोसी जलविद्युत आयोजना पनि सिएमसीले इन्जिनियरिङ, खरिद र निर्माणको जिम्मा लिएको छ ।

निजी क्षेत्रको अगुवाईमा  निर्माण गर्न लागिएको यस आयोजनामा सिएमसीले ८ अर्बको ठेक्का पाएको थियो । यो आयोजना आउने ३ वर्षभत्र निर्माण सक्ने लक्ष्य भनिएको थियो ।

 

 

...

सोमबार, २ पुस, ०७५

प्रतिक्रिया

Related