सिक्टा सिँचाइ प्रकरणः विदेशी विज्ञले भने, ‘समस्या माटोमै’

प्राविधिक विषयमा अख्तियारको अध्ययन गर्ने विधि छ ? विना अध्ययन, विना कानुन अख्तियारले मुद्दा दायर गर्ने आधार के ?
निर्माण सञ्चार, बाँके । सिक्टा सिँचाइ आयोजनाबारे चालेको कदमलाई प्राविधिक रुपले पुष्टि नगर्ने देखिएपछि पछिल्ला दिनमा अख्तियारको कदमको निन्दा हुन थालेको छ ।

सिक्टा नहर भत्केको विषयमा अन्तर्राष्ट्रिय स्तरमै अर्बिट्रेसन हुन सक्ने प्राविधिक विषय रहेको तर नेपालमा कानुनी परिभाषा नै नभएको चर्चा चलिरहेकै बेला विदेशी विज्ञहरुले समेत नहर भत्कनुलाई नितान्त प्राविधिक रहेको औंल्याएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘भ्रष्टाचार’को आरोप लगाउँदै उच्च अदालतमा मुद्दा दर्ता गरेपछि नेपालको कन्सल्टिङ तथा इन्जिनियरिङ क्षेत्रमा नयाँ विषयले प्रवेश पाएको छ ।

सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पटक–पटक भत्किन थालेपछि बेलायत र अष्ट्रेलियाबाट झिकाइएका माटोविज्ञहरुले नहरको अवलोकन पछि ‘घुलनशील माटो’ अर्थात् ‘डिस्पर्सिभ सोएल’कै कारण समस्या आएको निष्कर्ष दिएको हो ।

उक्ट विज्ञ टोलीले गत मङ्सिर २५, २६ र २७ गते मूल नहर तथा भत्केको खण्डको विशेष अनुगमन गरेको थियो ।

विज्ञहरुले सूक्ष्म निरीक्षण गरेको बताउँदै आयोजना प्रमुख कृष्णप्रसाद नेपालले भने, ‘उहाँहरूले फिल्डमै गएर केही ठाउँको माटो परीक्षण गर्नुभयो, निरीक्षणको अन्तिम दिन छलफल भयो, माटोमा समस्या रहेको औँल्याइएको छ।’

अध्ययन गर्न कागजात लगियो

सिक्टा नहरको अनुगमन गरेको विज्ञ समूहले परीक्षण गर्न माटो लैजान चाहे पनि नसकेको उनले बताए । सरकारी प्रक्रिया लामो हुने भएपछि उनीहरुले माटो भने लगेनन् जबकि समस्या माटोमै देखिएको छ ।

आयोजना प्रमुख नेपालका अनुसार विज्ञ टोलीले थप अध्ययन गर्न पुराना कागजात लगेको बताए । उनीहरुले महिना दिनभित्र आफ्नो अध्ययनको प्रतिवेदन पेस गर्ने पनि उनले जानकारी दिए ।

अनुगमन क्रममा उनीहरुले देखेको कुरा यस अघि पनि सार्वजनिक भइसकेको छ ।

उनीहरुका अनुसार घुलनशील माटोमाथि अम्लियपन बढी भएको माटो भरेर वा छोपेर पानी चुहिन नदिने प्रक्रिया अपनाउन सकिने हुन्छ ।

समस्याग्रस्त ठाउँमा तल–माथि र दायाँ–बायाँ ‘काउन्टर बर्म’ ड्रेनेज निर्माण गर्नुपर्ने विदेशी विज्ञहरूको सुझाव छ ।

पश्चिम मूल नहरको ४५ किमीमध्ये २० देखि ३५ किमी खण्डमा बढी समस्या देखिएको अध्ययन क्रममा पनि देखिएको छ।

प्राकृतिक भौगर्भिक समस्याले नहर भत्किए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी तथा इञ्जिनियरको दोष देखाउँदै निर्माणमा संलग्न उच्च अधिकारी, ठेकेदार तथा परामर्शदाताले आर्थिक अनियमितताको आरोपमा २१ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तो प्राविधिक र भौगर्भिक विषयको अन्तर्राष्ट्रिय अध्ययनको गम्भीरता नबुझेको अख्तियारमाथि आरोप छ ।

अख्तियारले ‘देखाइदिने’ गरी निजी क्षेत्रमाथि प्रतिशोध साँध्न थालेको भन्दै इन्जिनियरिङ क्षेत्रले यसमा चिन्ता जाहेर गरेका छन् । 

अख्तियारको कदमपछि इन्जिनियरिङ क्षेत्र हतोत्साही भएको भन्दै आउने दिनका परियोजनाहरुमा इन्जिनियरहरुले परियोजना जिम्मा नलिने क्रम बढ्ने नवनिर्वाचित नेपाल इन्जिनियर्स एसोसिएनका अधिकारीले बताएका छन् ।

अख्तियारको कदम र विदेशी विज्ञहरुले अध्ययन गरेसँगै यही समस्याबारे उच्च स्तरीय प्राविधिक टोली गठन गरेर अध्ययन गर्ने पनि एनइए र स्केफले बताएका छन् । 

 

पढौ यो पनि 

सिक्टा प्रकरणः अख्तियारको हस्तक्षेप कि प्रयोजित ‘आगमन’ ? ‘हचुवा’ हस्तक्षेप प्रति निजी क्षेत्रको ‘आपत्ति’ 

 

 

...

शुक्रबार ६ पुस, ०७५

 

प्रतिक्रिया

Related