पुस १२ गते धरहराको पुनर्निर्माण शिलान्यास !

३ अर्ब ४५ करोडमा धरहरा निर्माणको जिम्मा दिइएको
निर्माण सञ्चार, काठमाडौं | ०७२ वैशाख १२ को विनाशकारी भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण शिलान्यास पुस १२ गते हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो बिहीबार धरहरा परिसरमै एक कार्यक्रम गरी धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने भएका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले शिलान्यासपछि धरहरा पुनर्निर्माणको कामले पनि तिव्रता पाउने बताए ।

विभाग प्रमुख मानन्धरले भने ‘धरहरा निर्माण क्षेत्रमा प्रोटेक्सन पालिङ (छेकबार) गर्ने काम भइसकेको छ । अब शिलन्यास लगत्तै धमाधम कामको थालनी हुन्छ ।’

उनका अनुसार धरहरा परिसरलाई कम्पाउण्डिङ गर्ने, भत्किएको धरहरालाई संरक्षण गर्नेलगायतका काम भइसकेका छन् ।

मंसिरमै जग खन्न शुरु गर्ने तयारी रहे पनि टेलिकमको अण्डरग्राउण्ड फाइबर, खानेपानीका पाइप विद्युतका तार परिसर क्षेत्रमा परेकाले ढिलाइ भएको मानन्धरको भनाई छ ।

‘टेलिकमको फाइबर पनि त्यतै बिछ्याएर लगिएको रहेछ, खानेपानीको पाइप, विद्युतका अण्डरग्राउण्ड केबलको व्यवस्थापनले केही ढिलो भयो’, उनले भने ।

भत्किएको धरहरालाई संरक्षण गर्न चारैतिरबाट प्रोटेक्सन पालिङको काम भइरहेको छ । ‘धरहराको ठूटोमाथि छत राख्ने काम सकिएको छ, अब चारैतिरबाट १० मिलिमिटरको टेम्परग्लासले घेर्छौं’, उनले भने ।

पुनर्निर्माण प्राधिकरणले जीआईईटिसी–रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको थियो ।

कम्पनीले ३ अर्ब ४५ करोड लागतमा धरहरा निर्माणको जिम्मा पाएको मानन्धरले जानकारी दिए ।

...

आइतबार, ८ पुष २०७५ 

प्रतिक्रिया

Related