‘मादी कोरिडोरको बजेट खै कहाँ गयो ?’ सांसद अधिकारी

विकास बजेट हराउने समस्या बढ्दो !
निर्माण सञ्चार, काठमाडौं । समृद्ध नेपाल सुखी नेपालीको नारा लिएको सरकारले पूर्वाधार विकासमा जोड दिनु पर्ने चर्चा चलिरहेकै बेला मादी कोरिडोरको बजेटले विशेष चर्चा पाएको छ ।

संघीय संसद्मा बोल्दै काश्की क्षेत्र नम्बर १ का सांसद तथा पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीले मादी कोरिडोरको बजेट हराएको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएपछि यसको चर्चा चुलिएको हो ।

संसद् बैठकमा आफ्नो समयमा बोल्दै सांसद अधिकारीले आफ्नो क्षेत्रको विकास बजेट तलमाथि भएको आपत्ति प्रकट गरेका हुन् ।

काश्कीको पूर्वाधार विकासमा अत्यन्त महत्त्व राख्ने मादी कोरिडोरका लागि छुटाइएको बजेट हराएको छ । बजेट हराउने कारण सांसद अधिकारीले सोधेका छन् ।

मुलुक संघीय संरचनामा गएपछि केन्द्र सरकार र प्रदेश सरकारका बीचमा बजेट विनियोजनमा रहेको समस्याका कारण देशैभरका धेरैजसो निर्माण कार्य बापत् निर्माण व्यवसायीले पनि रकम भुक्तानी पाएका छैनन् ।

काश्की क्षेत्र नम्बर १ का सांसद तथा पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीले मादी कोरिडोरको बजेट हराएको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराए

मुलुक संघीयतामा जानु अघि सम्झौता भएका तर चुनाव लगत्तै अर्थमन्त्रालयले कतिपय शीर्षकका बजेट स्थानीय निकायबाट लिने भनेको तर कतिपय नभनेका कारण स्थानीय निकाय पनि अन्यौलमा परेका छन् भने कतिपय बजेट नै गायब भएको अर्थमन्त्रालयले पनि पत्तै नपाएको देखिएको छ ।

यस्तो अवस्था आएपछि पूर्वाधार विकासमा समस्या सिर्जना भएको छ । ठिक यस्तै समस्या भोगेको मादी कोरिडोरको बजेट नै हराएपछि सांसद अधिकारीले संसद्मा प्रश्न उठाएका हुन् ।

शुक्रबार संसद्मा बोल्दै उनले भने, ‘मादी कोरिडोरको बजेट केन्द्र सरकारसँग पनि छैन, प्रदेशले पनि पाएको छैन, बजेट कहाँ गयो ?’

आफ्नो मागप्रति गम्भीर हुन आग्रह गर्दै सांसद अधिकारीले ‘बजेट खोजी गरिदिन’ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

संसद्मा बोल्दै केही सांसदहरुले पनि अधिकारीकै मागमा समर्थन गर्दै विनियोजित बजेट केन्द्र वा स्थानीय तहमा कहाँ गएबारे सरकारले गम्भीरता नदेखाएको आरोप लगाएका छन् । यसले गर्दा विकास बजेट हराउने र पूर्वाधार विकास प्रभावित भएको अधिकांशको गुनासो छ ।

 

 

 

...

शुक्रबार, १३ पुस, ०७५

 

प्रतिक्रिया

Related