झाँको झारे मन्त्री महाशेठलेः सडक विभाग र रोडस् बोर्ड नेपाललाई ‘कारबाही’ नै गर्ने चेतावनी !

कार्यकारी निर्देशकज्यू भत्केका सडक १५ दिनमै टाल्ने एप कता गयो ? कतिवटा सडक टाल्नुभयो त राजधानीको आजसम्म ?
निर्माण सञ्चार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठले सडक विभाग र सडक बोर्ड नेपाल (रोडस् बोर्ड नेपाल) प्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै काठमाडौंका सडकहरुको दुर्गतिको कारण यिनै निकाय रहेको ठोकुवा गरेका छन् ।

आइतबार काठमाडौंमा भएको रोडस् बोर्ड, नेपाल (सडक बोर्ड) को १६ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री महाशेठले पहिलो पल्ट राजधानीका सडकहरु बिग्रनु र समयमै नबन्नुमा सडक विभाग र सडक बोर्ड नेपालको लापरबाही रहेको बताएका हुन् ।

समयमै काम नभए कारबाही गर्ने चेतावनी नै दिएका मन्त्री महाशेठले भने, ‘सरकारले काम गरेन भनेर जनता चिडिएका छन् । कारण के हो त भन्दा जिम्मेवार निकायहरुले नै काम गरेका छैनन् । मैले यो मन्त्रालय सम्हालेको यतिका दिनमा सबैको हिसाब किताब राखेको छु । अब काम नगरे काम गर्ने छु ।’

मन्त्री महाशेठले सडक विभाग र सडक बोर्ड नेपालका कामकारबाही प्रति चर्काे असन्तुष्टि व्यक्त गरेका हुन् ।

इमान्दार ढंगले काम नगर्ने सडक विभाग, रोडस् बोर्ड लगायतका संस्थामाथि कडा कार्वाही गर्ने चेतावनी दिँदा सडक बोर्ड जस्तो नेम ट्याग मात्र भिरेर बसेको बोर्डका अधिकारीहरु निला काला देखिएका थिए ।

रोडस् बोर्ड (सडक बोर्ड) नेपाल गठनको नियमावली अनुसार तालुक मन्त्रालयको सचिवले यसको अध्यक्षता गर्छन् । इन्जिनियर कृष्ण सिंह बस्नेत सदस्य सचिवको हैसियतले निर्देशकीय भूमिकामा रहेका छन् ।

रोडस् बोर्ड नेपालः सुस्ताएको हो कि अस्ताएको हो ?

महाशेठ मन्त्री बने लगत्तै होटेल अन्नपूर्णमा भएको एक विशेष कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी निर्देशक इन्जिनियर बस्नेतले सकड भत्केको १५ दिन नबित्दै सडकका खाल्डाखुल्डी टाल्ने ठोकुवा गरेका थिए ।

उनले नयाँ एप्लिकेसनको हवाला दिदै जोसुकै मानिसले आफू बसे आसपासको सडक भत्केमा सिधै एप्लिकेसन मार्फत् कम्प्लेन गर्न सकिने र ७ देखि १५ दिन भित्र राजधानीका कुनै पनि सडकहरु टालिने बताएका थिए ।

तर, यो काम सुस्ताउँदै आएको रोडस् बोर्ड नेपालले लगाएको धक्कु जस्तै साबित भएको छ । यसको उपलब्धि आजसम्म नै शून्य बराबर छ ।

यो बोर्ड कुपोषणग्रस्त बालकजस्तै ठुल्ठूला कामको डिङ हाँक्ने तर कामको सिन्को नभाँच्ने संस्थाका रुपमा चिनिदै गएको छ । कार्यकारी निर्देशक यसका लागि जिम्मेवार रहेको त्यहीका कर्मचारीको समेत आरोप छ ।

सो कार्यक्रममा मन्त्री महाशेठले बोर्डप्रति लक्षित गर्दै कारबाहीको चेतावनी दिएका थिए ।

मन्त्री महाशेठले सडक विभागकै कारण काठमाडौंको रोडमा जनताको अपेक्षाअनुसार सुधार आउन नसकेको बारम्बार दोहोराएका पनि थिए ।

मुखै खोलेर मन्त्री महाशेठले पहिलो पटक यी दुई विभागको झाँको झारेका हुन् ।

उनले भने, ‘स्रोत र साधनको दुरुपयोग नभएको भए काठमाडौंको सडक व्यवस्थित भइसकेको हुने थियो । यी विभागहरुले आफ्नो काम इमानदारिता साथ गरे कि गरेनन् प्रश्न उठेको छ !’

यी विभागहरु गतिशील नभएको पनि बताएका मन्त्री महाशेठले आउने चैत महिनाभित्र काठमाडौंको सडकलाई व्यवस्थित बनाउने गरी काम भइरहेको पनि बताए ।

उनले सडकसँग सम्बन्धित सडक विभाग, रोडस् बोर्ड, नेपाल लगायत निकायलाई सरकारले गतिशील बनाइरहेको दाबी पनि गरेका छन् ।

ऐन संशोधन हुँदै

सोही कार्यक्रममा मन्त्री महासेठले संवैधानिक व्यवस्था अनुकूल हुने गरी सडक ऐन संशोधनको काम अघि बढेको पनि जानकारी दिए ।

सरकारको कामले गति नलिएको भन्ने आरोपलाई खण्डन गर्दै मन्त्री महासेठले कानुन र संरचना निर्माणमा धेरै समय दिनुपरेकाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको स्पष्टिकरण दिन पनि भ्याएका छन् ।

राजधानी काठमाडौंका सडकहरुमा पनि आफ्नो ध्यान जानु पर्ने जति ध्यान नगएको उनको स्वीकारोक्ति थियो ।

इमानदारिता साथ काम नगरे कारबाही नै गर्ने चेतावनी दिए पनि मन्त्री महाशेठले सडकको कामलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहमा पनि रोडस् बोर्ड, नेपालका कार्यालयहरु विस्तारको तयारी भइरहेको पनि जानकारी दिए ।

 

...

आइतबार १५ पुस, ०७५

 

प्रतिक्रिया

Related