साँढे ६ हजार रूख काट्न सके वैशाखदेखि पाइपलाइनबाट डिजेल !

निर्माण सञ्चार, काठमाडौं । प्रधानमन्त्रीका रुपमा ९ महिने सरकारको नेृतत्व गर्दा केपी शर्मा ओलीले पाइपलाइनबाट घर घरमा ग्यास पुर्याउने ‘योजना’ बताउँदा हाँसोका पात्र बनेका थिए ।

पाइपलाइनबाट घर घरमा ग्यास÷पेट्रोल लैजाने कुरा विकसित मुलुकलाई हेर्दा असम्भव नभए पनि नेपालको सन्दर्भमा काठमाडौं जस्तो सुगम क्षेत्रमै पनि अहिले नै पाइपलाइनबाटै पेट्रोलियम त के ग्यास पुर्याउन पनि असम्भव नै छ ।

तर, सरकार आफैंले समयभित्रै काम गर्न सके घर घरमा त हैन, भारतसँग सम्झौता भएबमोजिम अमलेखगन्ज डिपोमा भने पाइपलाइनबाटै पेट्रोलियम आइपुग्ने देखिन्छ ।

यतिबेला पर्सा राष्ट्रिय निकुञ्जमा रहेका साँढे ६ हजार रुखहरु काटेर अमलेखगन्ज डिपोसम्म पाइपलाइनबाट पेट्रोलियम झार्ने योजनामा सरकार रहेको छ ।

यदि निर्धारित समयभित्र उक्त निकुञ्जबाट रुख काट्ने प्रक्रिया अघि बढ्यो भने आउने वैशाखमा पाइपलाइनबाट उक्त डिपोमा डिजेल चाहिँ आउने भएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा झन्डै ८ किलोमिटर पाइपलाइन ओछ्याइनु पर्ने भूभाग पर्दछ ।

पाइपलाइनबाट इन्धन झार्न नेपाल आयल निगमले केही साताअघि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को स्वीकृत गराइसकेको निगमले बतायो ।

वैशाखदेखि डिजेल पाइपलाइनबाट अमलेखगन्ज आइपुग्न गरिनु पर्ने यो कामलाई उसले पहिलो चरण अन्तर्गतको काम बताएको छ ।

मोतिहारी–अमलेखगञ्ज पाइपलाइन आयोजनाका संयोजक भानु खनालका अनुसार यो कामले अहिले तीव्रता लिइरहेको छ ।

अर्जुन दृष्टि वैशाखः झन्झटिलो इआइए पनि स्वीकृत

‘यतिबेला हाम्रो अर्जुन दृष्टि नै वैशाखको पहिलो सातासम्ममा पाइपलाइनबाट डिजेल ल्याउनमा केन्द्रित छ । हामी द्रुतगतिमा काम गरिरहेका छौं ।’

वातावरणीय मूल्यांकनका कारण नेपालका पछिल्ला विकासमा अनावश्यक अवरोध सिर्जना हुँदै आइरहेको छ ।

उनले भने, ‘यही सबैभन्दा झन्झटिलो काम इआइएको काम पनि स्वीकृत भइसकेको छ ।यो चरण पार भएकाले नै हामी उत्साही भएका हौं । कामले गति लिएको छ ।’

उनका अनुसार इआइए पछि पर्सा राष्ट्रिय निकुञ्जबाट पाइपलाइन ओछ्याउन अब बाटो फुक्ने भएको हो ।

यो निकुञ्जमा पर्ने ६ हजार छ सय ६३ ठूला रूख काट्न मिल्ने गरी प्रतिवेदनसहितको स्वीकृति प्रदान भइसकेको उनले जानकारी दिए ।

रुख कटानी सकिएसँगै पाइपलाइनबाट डिजेल झार्ने कामले गति लिने उनको दाबी छ । इआइए गरे अनुसार एउटा रूख कटान बापत मन्त्रालयले तोकेकै ठाउँमा थप २५ बिरुवा रोप्नु पर्ने छ ।

ती बिरुवा आउने ५ वर्षमा हुर्काउनु पर्ने सुझाव समेत रिपोर्टमा छ ।

खनालले दिएको जानकारी अनुसार इआइएसँगै निगमले रूख कटानीका विषयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पत्राचार गरिसकेको छ ।

इआइए पछि वन तथा वातावरण मन्त्रालयले रूखहरुको पुनः ‘ग्रेडिङ’ पनि सकिसकेको छ भने मूल्यांकन गर्ने काम पनि सम्पन्न भइसकेको छ । आवश्यकता आधारमा अब रुख कटानी हुने छ ।

के भन्छ विभाग ?

यसबारे विभागसँग जिज्ञसा राख्दा पत्र प्राप्त भइसकेको र अब काम पनि अघि बढाइने जवाफ दिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भने, ‘इआइएसहितको रूख कटान गर्नुपर्ने विषयमा स्वीकृत हामीले प्रदान गरिसकेका छौं । प्राप्त पत्रका आधारमा यसै साता वन तथा वातावरण मन्त्रालयमा प्रक्रिया अघि बढाउन प्रस्ताव गर्दैछौं।’

इआइएले प्रतिवेदन सहित नै पर्सा राष्ट्रिय निकुञ्जबाट पाइपलाइन ओछ्याउन ६ हजार ५ सय ६३ वटा ठूला रूख काट्न मिल्ने स्वीकृति प्रदान गरिसके पछि अब काम हुनेमा आशावादी रहेको उनको पनि भनाइ छ ।

कहिले काटिन्छन् त रुख ?

निर्माण सञ्चारसँग बोल्दै खड्काले मन्त्रालयले मन्त्रिपरिषद्बाट स्वीकृत गराएपछि रूख कटान प्रक्रिया सुरु हुने जानकारी दिए ।

तर, मन्त्रालयले भने इआइए भइसकेको विषयलाई पनि मन्त्रिपरिषद् वैठकमा अझै लगिनसकेकोमा स्थानीय जनप्रतिनिधिहरु भने आक्रोशित छन् ।

तर, खड्का भने आशावादी छन् ।

अर्को सातासम्म मन्त्रिपरिषद्बाट रूख कटानसम्बन्धी आवश्यक प्रक्रियाका विषयमा प्रस्ताव स्वीकृत भएर आउने उनले ठोकुवा गरे ।

यस अघि उक्त राष्ट्रिय निकुञ्जको रूख कटानको विषयले गर्दा पेट्रोलियम पाइपलाइन रुटमा पाइप ओछ्याउने काममा अवरोध पुग्दै आएको थियो। खनालका अनुसार सडकको १६ मिटरमाथिको भागमा पर्ने रूखको कटान हुनेछ ।

पाइप कति बिच्छ्याइयो, कति बाँकी ?

उनले दिएको जानकारी अनुसार आजसम्म २६ किलोमिटर पाइप ओछ्याउने काम सम्पन्न भइसकेको छ । तर, यो दुरी भने एकै स्थानको नभएर खण्ड खण्डको हो ।

भारतको रक्सौलस्थित इन्डो नेपाल सीमादेखि अमलेखगन्जको डिपोसम्मको दुरी ३६.२ किलोमिटर रहेको छ । जसमा खण्ड खण्डमा गरी हालसम्म २६ किलोमिटरमा पाइप ओछ्याउने काम सम्पन्न भएको हो ।

अब वन क्षेत्रभित्र पर्ने ८ किमी र अन्य समेत गर्दा १० किलोमिटर पाइपलाइन ओछ्याउन बाँकी छ । सम्झौता अनुसार सन् २०१९ को मार्चसम्म पाइप ओछ्याइसक्नु पर्ने छ ।

 

 

 

...

सोमबार १६ पुस, ०७५

 

प्रतिक्रिया

Related