अर्थमन्त्री खतिवडाले भने, ‘निर्माण व्यवसायीको रकम चाँडै भुक्तानी हुने छ’

महासंघले भन्यो, ‘करको मार बढ्यो, छुट र मिनाह चाहियो’
निर्माण सञ्चार, काठमाडौं । निर्माण व्यवसायी प्रतिनिधि मण्डल भेटमा अर्थमन्त्री डा युवराज खतिवडाले पाउन बाँकी रकम चाँडै भुक्तानी हुने वचन दिएका छन् ।

अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री खतिवडाले संघीय संरचनामा जाँदै गर्दा देखिएको प्रदेश र संघीय सरकारबीचको नीतिगत अप्ठेरा पन्छाइएकाले अब निर्माण व्यवसायीहरुले पाउने रकम भुक्तानी हुने बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले व्यवसायीलाई भुक्तान गर्नुपर्ने रकमको यकिन विवरण प्राप्त नभएकाले केही समस्या आएको बताएका छन् । उनले सरकारसँग बजेट समस्याप पनि नरहेको स्पष्ट पारे ।

स्थानीयदेखि प्रदेशसम्मका निर्माण कार्यका विवरणहरु प्राप्त हुुदै गरेको तर्फ संकेत गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘अब केही दिनमा सबै विवरण प्राप्त हुन्छ । त्यसलगत्तै व्यवसायीका रकम भुक्तान गरिनेछ ।’

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले भुक्तानी तथा करमा ब्याज र हर्जाना छुटबारे अर्थमन्त्री डा खतिवडाको ध्यानाकर्षण गरेको थियो ।

सरकारी निकायबीच समन्वय नहुँदा निर्माण व्यवसायीको काममा पाइलैपिच्छे समस्या आएको उनीहरुको गुनासो छ ।

संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई संचालनमा रहेका विभिन्न सडक, भवन, पुल लगायत परियोजनाहरु हस्तान्तरण पनि भइसकेको पनि महासंघ प्रतिनिधिमण्डलले मन्त्री खतिवडालाई गराएको निर्माण व्यवसायी महासंघ सञ्चार बेन्चले निर्माण सञ्चारलाई बतायो ।

निर्माणाधीन अवस्थामा परियोजना हस्तान्तरण गर्दा निर्माण व्यवसायीलाई निर्माण कार्य सञ्चालन गर्न र निर्माण कार्य सम्पन्न भई बिल समेत पेस गरेका आयोजनाहरुको भुक्तानी नहुने वातावरण सिर्जना भएको हुँदा सो समस्या हल गर्न पनि महासंघले निवेदन गरेको छ ।

यस अघि मुलुक संघीय संरचनामा जाँदा अर्थमन्त्रालयबाटै भएको परिपत्रका कारण केन्द्रबाटै टेन्डर भइका परियोजनाहरुको पनि रकम भुक्तानीमा असर परेको थियो ।

प्रदेश तथा स्थानीय सरकार केन्द्रीय तहका परियोजनाहरु सम्पन्न गर्न संस्थागत रुपमा सक्षम नभइसकेको अवस्थामा हाल दोषीको भागदार भने निर्माण व्यवसायी हुने गरेको भन्दै महासंघले अर्थमन्त्रालयले नै आर्थिक समस्या हल गर्ने गरी संरचना तयार गर्ने आग्रह गरेको छ ।

भुक्तानी नपाउँदा घरखेत जाने स्थिति

निर्माण व्यवसायीहरुले समयमा भुक्तानी नपाएको कारणले घरखेत तथा जायजेथा समेत जाने स्थिति भएको भन्दै महासंघ प्रतिनिधि मण्डलले यस्ता परियोजनालाई केन्द्रीय स्तरबाट नै संचालन र भुक्तानीको व्यवस्थापन मिलाउन भनेको छ ।

व्यवसायीका अनुसार यतिबेला देशैभर निर्माण कार्य सम्पन्न भएका तर भुक्तानी पाउन बाँकी करिब ४० करोड बढी रकम रहेको छ ।

कर छुट र मिनाह गर्न माग

महासंघले कर छुट र मिनाहा गर्न समेत माग गरेको छ ।

नेपाल सरकारले चालु आर्थिक वर्षको बजेट घोषणा गर्दा पौष मसान्त सम्म आयकर र मूल्य अभिवृद्धि करको ब्याज र हर्जनामा दिने भनिएको छुटको सम्बन्धमा आन्तरिक राजश्व विभागको सूचना बमोजिम आयकर तथा मूल्य अभिवृद्धि कर छुट मिनाहा सम्बन्धमा पनि महासंघले अर्थमन्त्रीको ध्यानकर्षण गराएको हो ।

सही कारोबार देखाई विवरण बुझाई तिर्नुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकरको बक्यौता देखाउने निर्माण व्यवसायीहरुलाई ब्याज र हर्जना मिनाहा नहुने तर विवरण नबुझाउने र बक्यौता नदेखाउनेहरुलाई ब्याज हर्जाना छुट गरिनु न्यायोचित नहुने महासंघको भनाइ छ ।

यस्तो सूचनाको व्यवस्थाले इमान्दार व्यवसायीहरुलाई मर्का पर्ने र विवरण नबुझाउने तथा बक्यौता नदेखाउने प्रवृत्ति बढ्न जाने महासंघको भनाइ छ ।

स्मरणरहोस्, निर्माण व्यवसायीहरुले तिर्नु, बुझाउनु पर्ने सम्पूर्ण मूल्य अभिवृद्धि कर तथा आयकर २०७५ साल असार मसान्तसम्म बुझाएमा ब्याज हर्जना छुट दिने सुविधा दिई तिर्न बुझाउन बाँकी बक्यौता राजस्व रकम फरफारक गर्ने अवसर २०७५ साल पौष मसान्तसम्म समय प्रदान गरी सूचना प्रकाशित भएको थियो ।

यो अवसर सबै निर्माण व्यवसायीहरुलाई दिइएको थियो ।

तर रकम निकासा एवं संघ तथा प्रदेशका कार्यालय समेत व्यवस्थापन नभई कुनै पनि निर्माण व्यवसायीहरुले भुक्तानी नपाएको कारण सो अवधिसम्म बक्यौता तिर्न नसक्ने व्यवस्था रहेकोले एक पटकका लागि २०७६ साल आषाढ मसान्तसम्म प्रदान गरिदिन महासंघले अनुरोध गरेको जनाएको छ ।

यस अवधिमा तोकिएको रकम असुली गराउन महासंघले समेत पहल गर्ने अध्यक्ष रवि सिंहले बताए ।

प्राकृतिक व्यक्ति र फर्मको लागि मात्र यो छुटको सुविधा लागु भएकोमा यसबाट मात्र समस्या समाधान नहुने भएकोले प्रा.लि.कम्पनी र जे.भी. निर्माण कम्पनीहरुमा असुली सम्बन्धि थुप्रै समस्या रहेकोले एक पटकको लागि सबै कम्पनी र जे.भी.निर्माण कम्पनीहरु समेत लाई उक्त समयसीमा सहित सुविधा प्रदान गरिदिन महासंघले अनुरोध गरेको हो ।

भेटमा अध्यक्ष सिंह सहित महासंघका वरिष्ठ उपाध्यक्ष निकोलास पाण्डे, महासचिव रोशन दाहाल, उपमहासचिव टंकप्रसाद चौलागाई, निर्माण व्यवसायीहरु कृष्णप्रसाद गौतम, रामशरण बूढाथोकी, विष्णु लामिछाने, महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर र जनसम्पर्क अधिकृत रामचन्द्र गिरी सहभागी थिए

 

 

 

...

सोमबार १६ पुस, ०७५

 

प्रतिक्रिया

Related