कर्णाली सडकको दुर्गतिको समाचार आएपछि अर्थमन्त्री ज्वालाले फोरे मुख, ‘निर्माण र सुधार कर्णाली सरकारको प्रथामिकतामा’

निर्माण मिडिया समाचार प्रभाव: कर्णाली राजमार्गबारे प्रदेश सरकार बोल्न बाध्य
निर्माण सञ्चार, कर्णाली प्रदेश । कर्णाली राजमार्गको दुर्गतिबारे समाचार छापिएपछि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आफ्नो प्रदेशको प्राथमिकतामा राजमार्ग तथा सडकहरुको निर्माण र सुधार रहेको बताएका छन् ।

निर्माण सञ्चारका लागि कर्णाली प्रदेश प्रतिनिधि सागर परियारले ‘राजधानीका सडकका खाल्डा नपुरिए जस्तै पुरिएनन् कर्णाली लोकमार्गका पनि खाल्डा ’ शीर्षकमा समाचार लेखेका थिए ।

राष्ट्रिय अनलाइन तथा छापाहरुमा समेत कर्णाली राजमार्गको दुर्गतिका समाचार व्यापक हुन थालेपछि मन्त्री स्वयम्ले पत्रकार सम्मेलन नै गरेका थिए ।

‘मृत्यु मार्ग’ उपनामले पनि चिनिन थालिएको कर्णाली लोकमार्गको दुर्गतिबारे स्थानीयहरुमा समेत आक्रोश बढ्न थालेपछि प्रदेश सरकारलाई दबाब बढिरहेको छ ।

समाचारलाई लिएर छलफल नै बढेपछि, मन्त्री ज्वालाले सरकारको ध्यान सडकको स्तरोन्नति तथा गुणस्तरीय सडक निर्माणमा रहेको दाबी गरेका हुन् ।

कति दिन अझै ‘दुर्गम’ बन्ने हो कर्णाली ?

गाउँ गाउँमा सिंहदरबारको नारा दिएर स्थापना गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रले प्रदेशपिच्छे सरकार दिइसकेको छ । तरपनि प्रदेश सरकारका प्राथमिकता पूर्वाधार विकासतिर केन्द्रित नभएकै कारण कर्णाली क्षेत्र पुरानै जमाना जसरी ‘दुर्गम’कै बिल्ला भिर्न अझै बाध्य भएको स्थानीय बताउँछन् ।

कर्णाली लोकमार्ग मात्रै हैन यस प्रदेशका विभिन्न भागमा अझै पनि विकासको गोरेटो पनि कोरिएको छैन । भौगोलिक विकटताका कारण कर्णालीका अधिंकाश जिल्ला विकासको पहुँचबाट टाढै छन् ।

विकटताकै कारण कर्णालीका हुम्ला जिल्लामा अहिलेसम्म सडक पुगेको छैन् । अन्य जिल्लामा पुगेका सडक जोखिमपूर्ण हुँदा समस्या बढिरहेको छ ।

सल्यान, जाजरकोट, सुर्खेत जुम्ला नाग्न मुगु सडक खण्ड निकै जोखिमपूर्ण छन् । नत, सहज यातायात हुन सकेको छ । नत, सडकले समृिद्ध हासिल गर्न सकेको छ ।

‘विकासमा सबैको सहज पहुँच पुर्याउनु र समृद्धिका लागि सडक विस्तार पहिलो प्रथामिकता हो’, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले भने, ‘इलेक्ट्रिसिटी र हवाई तथा सडक) सरकारको पहिलो प्रथामिकतामा छ ।’

निर्माण सञ्चारका प्रतिनिधिसँगको कुराकानीमा मन्त्री ज्वालाले जमुना, कर्णाली चिसापानी, हुँदै हिल्सा नाँका जोड्ने कर्णाली करिडोर निर्माण कार्यलाई निकै महत्त्वका साथ लिएको पनि बताए ।

मन्त्रीले ज्वालाले भने, ‘कर्णाली राजमार्गको स्तरोन्तीसँगै सुर्खेत–दैलेख र चीनको उत्तर दक्षिण जोड्ने मुगु गमगडी–नाक्चेलाग्ना सडक निर्माण, सुर्खेतबाट दैलेख हुँदै महाबुलेकबाट छोटो दुरीको सडक, नाग्म गमगडी सडकको स्तरउन्ती लगायत अन्य जिल्लाको सडक निर्माण तथा सुधारमा प्रदेश सरकार लागि परेको छ, यही समाचार लेखिदिनु होला ।’

गगुल नक्सामा कर्णाली हाइ–वे

उत्तर–दक्षिण जोड्ने सडक विस्तार नगरे कर्णालीमा विकासको ढोका नखुल्ने मन्त्री ज्वालाको भनाइ छ । उनले भने, ‘त्यसका लागि नाक्चे लाग्ना सडक, कर्णाली करिडोर निर्माण कार्य तीव्र गतीमा भइरहेको छ ।’

उनले नाग्म गमगडी सडक सुधारका लागि २५ करोड विनियोजन भइसकेको पनि जानकारी दिएका छन् ।

उनले कर्णाली सरकारको ध्यान पूर्वाधार विकासमै केन्द्रित भएको भन्दै कर्णाली राजमार्ग लगायत १० वटै जिल्लाका सडकको तत्तकाल स्तरउन्नति गरिने ठोकुवा पनि गरेका छन् ।

कर्णालीमा गौरवका आयोजना छैनन्

कर्णालीमा आउने अनुदान वृद्धि गर्न र कर्णालीमा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्नको लागि संघीय सरकारसँग छलफल भइरहेको मन्त्री ज्वालाको भनाइ छ ।

उनका अनुसार कर्णाली अहिलेसम्म एक पनि राष्ट्रिय गौरवका आयोजनाहरु छैनन् । भेरी–बबई डाइभर्सन पनि कर्णाली सरकारको स्वामित्वमा छैन ।

गौरबका आयोजना बिना कर्णालीको समृद्धि देखिने गरी नहुने उनको बुझाइ छ ।

‘त्यसैले कर्णालीमा गौरवका आयोजना सञ्चालनका लागि संघीय सरकारसँग छलफल भइरहेको छ ।’

कर्णाली सरकारले १ करोड ५० लाख बराबरको योजनालाई साना आयोजना, १ अर्ब सम्मका योजनालाई मझौला आयोजना र त्यो भन्दा माथिका योजनालाई गौरवका ठूला आयोजना बनाउन थालेको उनले बताए ।

कर्णाली प्रदेशका दसवटै जिल्लामा कृषिका नमुना परियोजना चलाउने, नाग्मदेखि रारासम्मको सडकलाई सुधार गर्दै लैजाने, कर्णाली लोकमार्गको सुधारमा पहल गर्ने, सुर्खेतमै जहाज राख्न लगाएर विमानस्थल भएका जिल्लामा नियमित रुपमा उडान सञ्चालन गर्ने विषयमा प्रदेश सरकार अघि बढेको पनि दाबी गरेका छन् ।

जुम्लाका प्रत्येक स्थानीय तहमा डिजिटल हेलिप्याड बनाउनको लागि नक्साङ्कन भइसकेको बताउँदै मन्त्री ज्वालाले भने, ‘सुन्दर कर्णालीलाई समृद्ध कर्णाली बनाउँछौँ कर्णालीको परिभाषा बदल्छौँ ।’

 

 

 

फोटो तथा समाचारः सागर परियार



...

सोमबार १६ पुस, ०७५

 

प्रतिक्रिया

Related