गौतम बुद्ध विमानस्थलको व्यवस्थापन जिम्मा जर्मनी म्युनिख विमानस्थललाई !

निर्माण सञ्चार, काठमाडौं । आउने १० दिनभित्रै मन्त्रिपरिषद्बाट निर्णय हुने गरी लुम्बिनीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मा जर्मनीको म्युनिख विमानस्थललाई दिने टुंगो लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताएका छन् ।

यसबारे दुई साताअघि नै विमानस्थल निर्माणमा संलग्न नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिले म्युनिख विमानस्थललाई नै व्यवस्थापकीय जिम्मेवारी दिने निर्णय गरेको उनले प्रस्ट्याए ।

यसबारे दुबै देशका सरकारबीच भएको सम्झौता (जिटुजी) अवधारणा अन्तर्गत रही म्युनिख विमानस्थललाई व्यवस्थापन दिने अन्तिम टुंगो लागिसकेको मन्त्री अधिकारीको भनाइ छ ।

उनले भने, ‘लगभग अन्तिम टुंगो लागिसकेको छ । दश दिनभित्र मन्त्रिपरिषद्ले यसबारे निर्णय गर्नेछ ।’

उनले अघि भने, ‘हामीले मागे अनुसार नै थुप्रै प्रस्ताव आए । तर, तिनमध्येबाट म्युनिखलाई व्यवस्थापनको जिम्मा दिने प्राधिकरण सञ्चालक समितिबाटै पारित भइसकेको छ ।’

उनका अनुसार मन्त्रिपरिषद्को निर्णय पछि नेपाल र जर्मनीबीच सम्झौता हुनेछ । लगत्तै प्राधिकरणले म्युनिखसँग कुन मोडलबाट सञ्चालन गर्ने भन्ने मोडालिटी टुंग्याउने छ ।

मन्त्री अधिकारीले आर्थिक पक्षबारे भने टुंगो लागिनसकेको प्रस्ट्याए । उनको भनाइ छ, ‘मोडालिटी पछि नाफा बाँड्ने वा अरू कुनै उपयुक्त मोडल अपनाउने भन्नेबारे कुरा हुने छ ।’

प्राधिकरण भन्छ, ‘म्युनिखलाई विमानस्थल सञ्चालन र व्यवस्थपनको जिम्मा दिइए पनि एयर नेभिगेसन सर्भिस भने उसलाई दिइने छैन ।

त्यसमा एयर ट्राफिक व्यवस्थापन, सञ्चार तथा उड्डयन सहायक, हवाई उडान सुरक्षा जस्ता आन्तरिक मुलुकसँग सम्बन्धित पक्ष नेपालले नै हेर्ने छ ।

 

 

...

बुधबार १८ पुस, ०७५

 

प्रतिक्रिया

Related