निगम महाप्रबन्धक कंसाकारलाई कालोमोसो ‘दलियो’?!

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी युवा संगठन प्रदेश नम्बर–३ ले कार्यकक्षमै दल्यो कालोमोसो
निर्माण सञ्चार, काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी युवा संगठन प्रदेश नम्बर–३ ले उनकै कार्यकक्षमा कालोमोसो दलेको छ ।

यसबारे स्पष्ट पार्दै कुमार बोगटीले आफ्नो सामाजिक सञ्जाल फेसबुक वालमा लेखेका छन्, ‘नेपाल वायुसेवा निगमको भ्रष्ट प्रबन्धक सुगतरत्न कंसाकार माथि क्रान्तिकारी युवा लिग नेपाल–३ नम्बर प्रदेशद्वारा कार्यकक्षमै कालोमोसो १ हामी यो ऐतिहासिक अवसरमा दलाल प्रतिक्रियावादी सत्तालाई चुनौती खडा गर्दै नयाँ जनवादी क्रान्तिका महान अभियन्ताहरुलाई सलाम तथा अभिनन्दन गर्दछौ १’ वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले कंसाकारमाथि कालोमोसो दलेको दाबी गरेको छ ।

वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै हालै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले कंसारकालाई कारबाहीको सिफारसि गरेको अवस्था छ भने सरकारले प नि सो माथि अनुसन्धान गर्न समिति गठन गरिसकेको छ ।

आजै सार्वजनिक लेखा समिति अन्तर्गतको वैठकमा सांसदहरुले कंसाकारलाई ‘भ्रष्टाचारका महानायक’ भन्दै आक्रोश पोखेका छन् ।

नेपाल वायुसेवा निगमले भित्र्याएका २ वटा वाइडबडी विमान खरिद प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समितिले शुक्रबार डाकेको वैठकमा अधिकांश सांसदहरु कंसाकार विरुद्ध खुलेरै उत्रिएको अवस्था छ ।

पैसा मागेर जबरजस्ती गरे– कंसाकार
 
आफूमाथि ज्यादती भएको भन्दै निगम महाप्रबन्धक कंसाकारले खेद व्यक्त गरेका छन् । यसबारे सार्वजनिक रुपमा अभिव्यक्ति दिदै कंसाकारले आफूसँग ५ लाख रुपियाँ मागेको तर ५ हजार मात्र दिने बताएपछि उल्टो कालोमोसो दलेर बदनाम गर्ने प्रयास गरेको उनको भनाइ छ ।

उनले वैद्य समूहका दुई कार्यकर्ताले माग गरेको पैसा कार्यालयभित्रै दिनै पर्ने जिद्दी कसेको तर पैसा दिन नसक्दा मोसो दलेको उनको स्वीकारोक्ति छ ।

उनले भने, ‘म कार्यालयको काममा रहेकै बेला शुक्रबार मित्रहरु आए । उनीहरुले पार्टीको कार्यक्रमका लागि भन्दै ५ लाख रुपियाँ दिन करबल नै गर्न खोजेका थिए,’ उनले थपे, ‘मैले ५ लाख त हैन मेरो गोजीमा ५ हजार छ त्यही दिन्छु भन्दा ममाथि अपमानजनक व्यवहार गरेर भागे ।’
 
निगमले वाइडबडी ‘ए ३००’ नामक  दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपियाँ भ्रष्टाचार गरेको मुद्दा यतिबेला चर्चामा छ । 
 
यही मुद्दामा आफूहरुले भ्रष्टाचारीमाथि एक्सन लिएको क्रान्तिकारी माओवादी निकट युवा लिगले दाबी गरेको छ ।

 

 

 

(मोसो दलिएको तस्वीर बोगटीको फेसबुकबाट लिइएको हो) 

...

शुक्रबार, २० पुस, ०७५

 

प्रतिक्रिया

Related