राष्ट्रिय सहकारी बैंकको १५ औ वार्षिक साधारण सभाः धुमधडाकसँग हुँदै

सहकारी क्षेत्र उत्पादनमुखी र निर्यातमुखी हुनु पर्ने निष्कर्ष
निर्माण सञ्चार, काठमाडौं । लामो समयदेखि सहकारी क्षेत्र पनि बैंकिङ क्षेत्रजस्तै मुनाफाखोर भइरहेको गुनासो बढिरहेकै बेला राष्ट्रिय सहकारी बैंकको १५ औ वार्षिक साधारण सभामा अबका दिनमा सहकारीहरु उत्पादनमुखी हुनु पर्ने बहस उठेको छ ।

सहकारी सदस्यभित्र विशेष सहुलियत सेवा सहित आर्थिक रुपले समेत समृद्ध बन्नुपर्ने सहकारी आन्दोलनको प्राण नेपालका सन्दर्भमा कमजोर भएको भन्दै वक्ताहरुले अब सहकारी ब्याजमुखी नभई उत्पादन र निर्यातमुखी हुनु पर्नेमा जोड दिए ।

सहकारी अभियानको एक मात्र बैंकका रुपमा चिनिएको राष्ट्रिय सहकारी बैकको १५औं वार्षिक साधारण सभाले आफूले लिने अबको नीति पनि अझै प्रस्ट र प्रखर भएर आउने अधिकारीहरु बताउँछन् ।

काठमाडौंमा जारी अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने आयोजकले बतायो । शनिबार सुरु भएको अधिवेशनले बैकको सञ्चालक तथा लेखासुपरिवेक्षण समितको चयन गर्ने छ ।

बैकको १५औं वार्षिक साधारण सभाको काठमाडौंमा समुद्घाटन गर्दै भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले अवको सहकारी अभियान आजको आयातित सवै वस्तुको प्रतिस्थापन गर्नतिर लाग्नु पर्ने बताइन् ।

सभामा मन्त्री अर्यालले नै सहकारीहरु ‘सूदखोरी’ जस्तै बनेको गुनासो बढिरहेको भन्दै सहकारी सञ्चालकहरुलाई सहकारी मर्म अनुरुप नमूना सहकारी सञ्चालन गर्न अपिल गरिन् ।

‘अब सहकारीहरु मुलुकले आयत गरिरहेका विभिन्न वस्तुहरु विस्थापन गर्नेतिर अघि बढ्नु पर्छ तबमात्र समृद्धि सम्भव छ,’ मन्त्री अर्यालले भनिन्, ‘सहकारीहरु पनि उत्पादन तथा निर्यातमुखी भए मात्र स्वाधिन अर्थतन्त्र बन्न सक्ने छ ।’

कार्यत्रममा मन्त्री अर्यालले चाइनाको लत्ताकपडा, भारतको रासन पानी र लाहुरेको कमाइबाट दिगो समृद्धि राष्ट्रले पाउन नसक्ने इङ्गित गर्दै उत्पादनमा युवा तथा महिलाको सक्रिय सहभागिताको माध्यम सहकारी क्षेत्र नै रहेको र त्यसलाई सरकारले प्रवद्र्धन गर्न कुनै कसर नराख्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

उनले सहकारीले गरेको उत्पादनको बजारीकरण सरकारले गर्ने कार्य सुरु गरिसकेको समेत जानकारी गराइन् ।

देशभरिबाट ३ खर्ब पुँजी जम्मा गरेर अगाडि बढिरहेको सहकारीको सिधै जनताको जीविकासँग सम्बन्ध भएको भन्दै मन्त्री अर्यालले सहकारीको कुल गार्हस्थ उत्पादनमा योगदान ५ वर्ष भित्रमा १० प्रतिशत पुर्याउने गरी लगानीका विविध क्षेत्र पहिचान गरी उद्योग, निर्माण, व्यापार, जलस्रोत, पर्यटन जस्ता बहुमुखी क्षेत्रबाट अघि बढ्नु पर्नेमा जोड दिइन् ।

कार्यक्रममा अतिथिका रुपमा नेपाली कांग्रसका नेता बालकृण खाँडले मुलुकसँग भएको क्षमतालाई अधिकतम प्रयोग गरेर रोजगारी सिर्जनामा सहकारी अभियानले सफलता हासिल गर्न सक्ने बताए ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी सदस्यद्वारा पुँजीमाथि नियन्त्रण गर्ने व्यवसाय भएकोले न्यायमा आधारित भएर उत्पादनमा लाग्न सके स्वाधिन अर्थतन्त्र निर्माण हुने सपना देखाए ।

उक्त सभामा सहकारी आन्दोलनका प्रवर्तक भनेर समेत चिनिने बडालले पनि सहकारीहरुलाई सूदखोरीको आरोप लाग्न नदिने गरी अघि बढ्ने प्रण गरेका छन् ।

बोनस र विस्तारको यस्तो छ योजना

सभामा आफ्ना ४४ वटा शाखाहरुबाट देशका सातै प्रदेशमा सेवा प्रदान गरेको बैंकले १ अर्व ४ करोड २२ लाख २२ हजार,१९ अर्व भन्दा माथि बचत संकलन गरी १२ अर्व ४४ करोड ८५ लाख २६ हजार कर्जा लगानी गरेर आर्जन गरेको बताइएको छ ।

बैंकले आफ्नो आम्दानीबाट १५ प्रतिशत सदस्यलाई शेयरमा लाभांश वितरण गर्ने घोषणा समेत गरेको छ । आगामी वर्ष बैकले १८ प्रतिशत लाभांश दिने समेत बताएको छ ।

अध्यक्ष रमेश प्रसाद पोखरेलका अनुसार बैकले आर्थिक वर्ष २०७५–०७६ मा ४५ प्रतिशतले सदस्यता वृद्धि गरी १ अर्ब ४७ करोड शेयर पुँजी पुर्याउने र १० वटा थप शाखा विस्तारको लक्ष्य राखेको छ ।

अनलाइन कारोबार, उत्कृष्टलाई सम्मान

बैंकले अनलाइन कारोबार समेत सुरु गरिसकेको सभामा जानकारी गराइयो ।

आफ्ना सदस्यहरुमध्ये उत्कृष्ट ठहर समेत गरेको बैंकले सहकारी आन्दोलनमा योगदान गर्ने झापा जिल्ला सहकारी संघ, ग्रामीण जनकल्याण बचत तथा ऋण सहकारी संस्था दाङ्, महिला मिलन बचत तथा ऋण सहकारी संस्था मकवानपुर लगायत सातै प्रदेशबाट संस्था छनौंट गरी सम्मान समेत गरेको छ ।

त्यस्तै, बैकले सहकारीमा योगदान पुर्याउने व्यतित्वहरुलाई समेत सम्मान गरेको छ । बैक सहकारी पत्रकारिता सम्मानबाट पत्रकार तुलसी सुवेदीलाई सम्मान गरेको छ ।

करिब १० हजार सहकारी संस्था सदस्य रहेको बैंकको सञ्चालक, लेखासुपरिवेक्षण समितको चयनको कार्यक्रम पौष २१ गतेसम्म आयोजकले बतायो ।

 

 

निर्माण सञ्चारका लागि सरस्वती चौलागाईंको तस्वीर सहितको रिपोर्ट

 

 

...

शनिबार, २१ पुस, ०७५

 

प्रतिक्रिया

Related