प्रभावकारी बन्दै सिएलपिआइयुः कन्ट्र्याक्टर, परामर्शदाता, सरकारी र स्थानीय पक्ष मिल्दा ७ महिनामै बन्यो थाङपालधाप मावि

कन्ट्र्याक्टर, परामर्शदाता र डिएलपिआइयु जति प्रभावकारी भए, स्थानीय पक्ष पनि त्यतिकै जिम्मेवार हुनु पर्ने पाठ सिकियो
निर्माण सञ्चार, काठमाडौं । गोरखा भूकम्पले चौथो वर्ष टेक्न ३ महिना बाँकी छँदा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुस १२ गते एउटा कार्यक्रमको आयोजना गर्यो । कार्यक्रमको उद्देश्य थियो पत्रकारहरु मार्फत् भूकम्पपछि प्राधिकरणले जिम्मेवारी सम्हालेको ३ वर्षे अवधिमा भएगरेका काम÷प्रगतिबारे सार्वजनिक गर्नु ।

कार्यक्रमको उद्देश्य प्रस्ट्याउँदै प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले ‘पुनर्निर्माणका तीन वर्ष’ पुस्तिका सार्वजनिक गरेका थिए ।

‘रेल’को गतिमा पुनर्निर्माण हुनु पर्ने तर ‘कुछवा’ गतिमा काम भइरहेको भन्दै आयोजकसँग सञ्चारकर्मीहरु जिज्ञासा राख्दै थिए ।

सञ्चारकर्मीहरुको प्रश्न थियो, ‘यही गतिले सरकारले तोकेको ५ वर्षे अवधिभित्र निजी आवास र अन्य कामहरु कसरी निर्माण सम्पन्न गर्ला त ?’

आफूले जिम्मेवारी सम्हालेको अवधिमा कामको प्रतिफल दिने कुरामा वास्तवमै ‘नचुकेको’ छवि बनाउन सफल सिइओ ज्ञवालीले वाचाल जवाफ दिएका थिए ।

‘पुनर्निर्माण जस्तो राष्ट्रिय अभियान पछि पर्नुहुन्न भन्ने चिन्ता हामी सबैको थियो र छ पनि । तर भूकम्प पीडितहरुका घाउमा मल्हम लगाउन गठित पुनर्निर्माण प्राधिकरण पनि कतै पीडित भयो कि, भन्ने पनि भयो । राजनीतिक अस्थिरता भनौं अथवा हाम्रो सिंगो व्यवस्थाजन्य समस्याका कारण सोच अनुरुप गति लिन नसकेको सत्य हो । तर, अब अवस्था त्यस्तो छैन । पुनर्निर्माण अभियानकै रुपमा अघि बढिरहेको छ ।’

हुन पनि प्राधिकरण गठनका ३ वर्ष भित्र चार पटक (३ जना) सिइओ हेरफेर परिचक्रले आफ्नो रफ्तारबाट केही ‘डिरेल’ भएको देखिएको प्राधिकरण आमसञ्चार माध्यमहरुका आँखाबाट लुकेको छैन ।

संघीय गणतन्त्र नेपालको पहिलो चुनावताका प्राधिकरणको जिम्मेवारी सम्हालेका तत्कालीन सिइओ डा गोविन्दराज पोखरेलको छवि ‘नेता’ बन्नेतिर लाग्दा प्राधिकरणबाटै ‘दाग’ लिएर निस्कनु पर्यो ।

त्यस्तै, स्थापनामा अहोरात्र खट्नेहरुको ‘स्प्रिट’सँग पछिल्ला सिइओ युवराज भुसालको दक्षताको पनि तालमेल नमिलेको प्राधिकरणका कर्मचारीहरुबाटै बाहिर आयो ।

नीति निर्माता तह नै घाइते भएपछि भूकम्प पीडितहरुका काम घाइते नहुने कुरै थिएन ।

ज्ञवालीको ‘डिप्लोमेसी’ मा सामान्य तर्कले पुष्टि हुने यिनै कुरा लुकेका थिए ।

तर, ज्ञवालीले भनेजस्तै, पुनर्निर्माणले पछिल्ला दिनमा तेज ‘गति’ लिएकै हो त ? सिएलपिआइयुको नेतृत्वमा विद्यालय भवन निर्माणका रफ्तारले भने केही हदसम्म यसको पुष्टि गरेको देखिन्छ ।

कन्ट्र्याक्टर, परामर्शदाता, सरकारी र स्थानीय पक्ष मिल्दा ७ महिनामै बन्यो थाङपालधाप मावि

यही क्रममा सिन्धुपाल्चोक स्थित हिमाली गाउँपालिका (पाँपोखरी थाङपाल) थाङपालधापमा सिएलपिआइयु (पुनःनिर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यन्वयन इकाई) द्वारा मोनिटरिङ गरिएको माध्यमिक विद्यालय हस्तान्तरण कार्यक्रममा सहभागी भइयो ।

भवन हस्तान्तरण समारोहका प्रमुख अतिथि थिए सांसद तथा पूर्वकानुन मन्त्री शेरबहादुर तामाङ । उनले भवन हस्तान्तरणको उद्घाटन गर्दै युद्धस्तरमा काममा जुट्ने निर्माण कम्पनी, परामर्शदाता, व्यवस्थापन समिति र डिएलपिआइयुलाई विशेष धन्यवाद दिए ।

कार्यक्रमपछि सिन्धुपाल्चोकमा विद्यालय भवनहरुको पुनर्निर्माणको प्रगतिबारे मोनटिरिङ गरिरहेको डिएलपिआइयु सिन्धुपाल्चोकका प्रमुख कृष्ण सुवेदीले भने, ‘आउने फागुन भित्रै १० वटा विद्यालय हस्तान्तरण हुने गरी काम भइरहेको छ ।’

गर्दा हुने रहेछ भन्ने नमूना सिन्धुपाल्चोकको यो हिमाली गाउँपालिकाले देखाउँछ । यो विद्यालय १५ महिना अघि सम्झौता भएको थियो ।

बीचमा ८ महिनासम्म एउटा पक्षले काम छिटो नगरेपछि उसँगको पेटी–ठेक्का रद्द गरेर पनि बाँकी ९० प्रतिशत काम ७ महिनामै सकियो ।

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा बनेका ३ वटा भवनहरुमा १८ वटा कक्षा कोठाहरु, तिनको फर्निचरदेखि, सोलार, बत्तीको वाइरिङ र तारबार समेत सोही बजेटबाटै बनेको हो ।

जसमा कम्प्युटर ल्याब, साइन्स ल्याब समेत छ ।

यस्तो छ वास्तविक उपलब्धि

प्राधिकरणले सार्वजनिक गरेको हालैको तथ्यांक अनुसार आउने आर्थिक वर्ष ०७७/७८ मा शतप्रतिशत (७ हजार ५ सय ५३ वटा) विद्यालयहरु पूरा गरिसक्ने लक्ष्य राखिएको छ । त्यो भनेको प्राधिकरणको घोषित ‘टाइम फ्रेम’ समात्ने कोशिस हो ।

१२, वैशाख ०७२ को भूकम्पबाट क्षतिग्रस्त निजी आवास, विद्यालय आदिको पुनर्निर्माण गर्न भनी प्राधिकरणको गठन आव ०७२/७३ को अन्त्यतिर (माघ १०) गते भयो ।

गठन लगत्तै निजी आवास र विद्यालयहरु ५ देखि ६ वर्षभित्र पुनर्निर्माण गरिसक्ने उसको प्रारम्भिक घोषित लक्ष्य थियो । आव ०७२÷७३ बाट ६ वर्ष जोड्दा आव ०७७/७८ हुन आउँछ ।

शतप्रतिशत भनेको साँढे ७ हजार विद्यालयहरुको भवन निर्माण गरिसक्नु हो । सिइओ ज्ञवालीले ‘पुनर्निर्माणका तीन वर्ष’ भित्र आजको उपलब्धि सार्वजनिक गरेका छन् ।

जुन डाटाले ३ वर्षभित्र ५५ प्रतिशत अर्थात् ४ हजार १७२ वटा विद्यालयहरु बनेको दाबी गरेका छ ।

उसले आउने ३ वर्षभित्र क्रमशः आव ०७५/७६ भित्र ७० प्रतिशत, त्यसको पछिल्लो वर्ष ९० र अन्तिम वर्षमा शतप्रतिशत काम सम्पन्न गर्ने दोहोराएको छ ।

यद्यपि उसले अझै ४५ प्रतिशत (३ हजार ३ सय ३८) विद्यालय भवनहरु बनाइसकेको छैन ।

यतिबेला करिब १९ सय २१ विद्यालय भवन ‘अन्डर कन्स्ट्रक्सन’ छन् भने झन्डै १५ सय विद्यालयहरु पुनर्निर्माण सुरु हुन नै बाँकी छन् ।

सिएलपिआयु भन्छ, ‘आउने जेठभित्र पहिले चरणका सबै सकिने छ’

विद्यालय भवनहरुको पुनर्निर्माणको काम प्राधिकरणले फरक फरक प्रकृति अन्तर्गत विभाजन गरी जिम्मा दिएको थियो ।

सानो रकम अर्थात् २ करोड रुपियाँ भित्रको स्वयम् स्थानीय व्यवस्थापन समितिलाई, मध्यमस्तरीय संघ–संस्था र ठूला रकमभित्र पर्ने सार्वजनिक टेन्डर आह्वान गरी विभिन्न निर्माण कम्पनीहरुलाई ।

जस अन्तर्गत संघ–संस्थाहरु बाहेकका पुनर्निर्माण परियोजनाहरु (टेन्डर कल गरी सम्झौता गर्नेदेखि एस्टिमेसन र विद्यालय व्यवस्थापन समितिहरु आफैंले बनाउनेमा फेसिलेसन गर्नेसम्म) डिएलपिआयु मार्फत् गराएको सिन्धुपाल्चोक डिएलपिआइयु प्रमुख सुवेदीको भनाइ छ ।

यसबारे बोल्दै सिएलपिआइयुका सिनियर इन्जिनियर उद्धव नेपालले भूकम्प प्रभावित ३२ जिल्लाका कुल ७ हजार ५ सय ५३ विद्यालयहरु मध्ये यतिबेला अतिप्रभावित १४ जिल्लामा करिब ५ हजार विद्यालहरु बन्ने क्रममा रहेको बताए ।

करिब आधाजसो सम्पन्न भइसकेको उनको भनाइ छ । ठूला विद्यालयहरु एडिबीको लगानीमा बनिरहेका छन् ।

पहिलो चरण अन्तर्गतका १ सय ६२ विद्यालय भवनमध्ये ८ जिल्लामा १५४ वटा विद्यालय एडिबी फन्डिङमै बनिरहेका हुन् भने बाँकी ८ वटा जिएफटिआर (जापानिज फन्ड फर प्रोभटी रिडक्सन) को सहयोगमा ‘नमूना विद्यालय’हरु बन्दैछन् ।

नमूना विद्यालयहरुमा भने आवासीय सुविधा समेत रहेको छ । उक्त १ सय ५४ मध्ये १७ वटा युएसड ग्रान्डमा बनिरहेको उनको भनाइ छ ।

निर्माण सञ्चारसँग बोल्दै इन्जिनियर नेपालले भने, ‘यी विद्यालयहरु धमाधम हस्तान्तरण भइरहेका छन् । आउने फागुनमा केही र आउने जेठभित्र गरी सबै विद्यालयहरु हस्तान्तरण हुने दिशामा पुनर्निर्माण भइरहेको छ ।’

तिनमा रामेछाप, सिन्धुली, भक्तपुर, काभ्रे, ओखलढुंगा, काठमाडौं, सिन्धु र दोलखाका कामहरु अधिकांश जेठभित्रै सम्पन्न योजनाका साथ सिएलपिआइयु काम गरिरहेको आयोजना उपनिर्देशक दीलिप शेखरको भनाइ छ ।

यस चरणमा सुरुमा ५५ वटा प्याकेजमा ठेक्का दिइएको थियो जसको कुल बजेट ८ अर्ब रहेको छ । यस चरणमा सन् ०१७ को सेप्टेम्बरभित्र सम्झौता भएका विद्यालय भवनहरु पर्दछन् ।

यो कामका लागि सिएलपिआइयुले ३० जिल्लामा आफ्नो जिल्ला कार्यालय नै खोलेर कामको मोनिटरिङ गरिरहेको उपआयोजना निर्देशक दीलिप शेखर श्रेष्ठ बताउँछन् ।

गठनको २ वर्षमै काममा उचाइ

सिएलपिआयुको यतिबेलाको आयु अर्थात् उमेर भनेको मात्र २ वर्षको हो । यसको गठन भूकम्पको १ वर्षपछि भएको उपआयोजना निर्देशक श्रेष्ठको भनाइ छ । उनका अनुसार गठनका हिसाबले २ वर्षभित्रै सिएलपिआयुले सोचेभन्दा राम्रो उचाइ लिएको हो ।

भने, ‘कुनै पनि सरकारी संस्थाहरुको प्रगति आँकडा हेर्ने हो भने, सिएलपिआइयु जतिबेला गठन भयो, हामी दाबा गर्छाैं २ वर्षमै यसले पुनर्निर्माणमा देखिने गरी प्रभावकारी काम गर्न सकेको छ ।’

निर्माण कम्पनी, परामर्शदाता र स्थानीय नै जागरुक भएकाले सफलता

निर्माण सञ्चारसँगको कुुराकानीमा उपआयोजना निर्देशक श्रेष्ठले कामको प्रभावकारिताको कारण बताए । ‘सिएलपिआइयुको प्रभावकारिताका पछाडि कन्सल्टिङ पार्टी, निर्माण कम्पनीहरु ज्यादै नै ‘को–अपरेटिभ’ रातदिन नभनी खट्न प्रतिबद्ध भएको आफूले पाएको छु,’ उनले थपे ।

कस्तो छ सिन्धुको प्रगति ?

डिएलपिआइयु प्रमुख सुवेदी आफू जिल्लाबासी हुनुले पनि समन्वय राम्रो भएको दाबी गर्छन् । उसो त विद्यालय व्यवस्थापन समितिका प्रमुखदेखि प्रअ र गाउँपालिका प्रमुख समेत यस काममा रातदिन खटेको पाइयो ।

‘कन्ट्र्याक्टर, क्लाइन्ट (सरकारी पक्ष), कन्सल्टेन्ट र चौथो पक्षका रुपमा स्थानीय सरोकारवाला मिलेपछि विकास कति छिटो हुने रहेछ भन्ने नमूना बन्न सक्छ थाङपालधाप मावि’, व्यवस्थापन समिति अध्यक्ष माधवप्रसाद पाण्डेले भने ।

सिन्धुपाल्चोक डिएलपिआइयुले दिएको जानकारी अनुसार यतिबेलासम्म आव ०७३/०७४ मा १०३ वटा विद्यालय भवनहरु सम्पन्न भइसकेका छन् ।

त्यस्तै, ०७४/०७५ मा पनि थप १०३ वटै विद्यालय भवनहरु निर्माण सम्पन्न भए । अब आउँदो आव ०७५/०७६ मा ४१ वटा विद्यालय बन्दै छन् ।

यसको जिल्ला आयोजना कार्यान्वयन इकाइ (डिएलपिआइयु) ले मोनिटरिङ गरिरहेको छ । अब २४७ वटा विद्यालय सम्पन्न हुने क्रममा छन् ।

नमूना काम गरे परामर्श दाता र निर्माण कम्पनीले

सिन्धुपाल्चोक अन्तर्गत विभिन्न निर्माण कम्पनीहरुले विभिन्न प्याकेज सहमतिमा निर्माण ठेक्का लिएका थिए । जसमा खानी निर्माण सेवा अन्य निर्माण कम्पनी भन्दा द्रुत काम गर्नेमा गनिएको रहेछ ।

यसबारे निर्माण सञ्चारसँग बोल्दै उक्त निर्माण सेवाका प्रमुख रत्न गौतमले भने, ‘ए हजुर कोसीको पानी बोकेर पनि हामीले काम रोकेनौं । बरु हामीले खाएनौं, सुतेनौं होला काममा कुनै कम्प्रोमाइज गरेनौं । सबैको साथले यो प्रगति भएको हो ।’

उनले आफूले जिम्मा लिएका मध्ये सबैभन्दा पछि सम्झौता भएको तर सबैभन्दा अघि काम सकिएको विद्यालयका रुपमा थाङपालधाप मावि रहेको दाबी गरे ।

उनले थपे, ‘अब बाँकी ७२ वटा (खानी निर्माण सेवाले पहिलो चरणमा जिम्मा लिएको) विद्यालयको निर्माण आउने २ महिना भित्र सम्पन्न हुने छ ।’

यो निर्माण सेवाले दोस्रो चरण अन्तर्गतका ४६ विद्यालय पनि सम्झौता गरिसकेको छ । जुन चाहिँ फरक क्वालिटी अर्थात् स्तरको बन्ने छन् ।

उनले भने, ‘ती भवनहरु आरसिसीद्वारा बनाइने छ । यही हप्तादेखि काम सुरु हुदै छ । आउने १८ महिनाभित्र सक्नु पर्ने सम्झौता छ । तर, हामीले १० महिनाभित्रै काम सकेर सरकारलाई हस्तान्तरण गर्ने सोच बनाएका छौं ।’

समय अगावै क्वालिटीको काम गरेर नमूना निर्माण कम्पनी बन्ने दौडमा गौतम रहेका छन् ।

त्यस्तै, कामका पछाडि यो ‘गिअर’ आउनुमा परामर्शदाता कम्पनीको प्रभावकारी भूमिका कम आँक्न मिल्दैन भन्छन् प्रअ बन्जरा ।

उनका अनुसार परामर्शदाता कम्पनीले सबैभन्दा समयमै डिजाइन, ड्रइङ दिएका थिए । इन्जिनियरिङ पाटोमा नबुझेका सबै परामर्श ठिक ठिक ढंगले दिएको र बिग्रनबाट बचाएको उनको अनुभव छ ।

उनले भने, ‘ डिजाइन, ड्रइङ दिएपछि नआउन पनि त सक्थे होलान् नि । तर, हरेक दिन हरेक रात हामी र निर्माण कम्पनीसँग खटेर योजनालाई पूरै निर्देशन दिने काम परामर्शदाता मित्रहरुले गरे । हामी धन्यवाद दिन चाहन्छौं ।

उसो त यो क्षेत्रमा तीव्र रुपमा बनिरहेका भवनहरुको परामर्शदाता भूमिकामा इआरएमसी रहेको छ, जसले जिम्मा लिएका लगभग सबै विद्यालय भवनहरु समय अगावै र गुणस्तरीय बनेको यस अघि सम्पन्न भवन निर्माणहरुले पनि देखाएको छ ।

०२४ मा स्थापित यो विद्यालय ४० सालदेखि मावि र ०६३ उमावि बनेको प्रअ राधे बन्जरा बताउँछन् ।

१४ रोपनी जग्गा रहेको यो विद्यालय यस क्षेत्रमा रहेका ८ वडाको केन्द्र भएकाले बेचेलर डिग्रसम्मको अध्ययन–अध्यापन गराउने शैक्षिक ‘हब’का रुपमा विकास गर्ने गरी आफूहरु लागिपरेको उनको भनाइ छ ।

यो भवनको पूरा लागत भ्याट सहित करिब ७ करोड रुपियाँ रहेको डिएलपिआइयुले बतायो ।

 

 

 

...

आइतबार २२ पुस, ०७५

 

प्रतिक्रिया

Related