विकास समितिमा सिइओ ज्ञवालीले भने, ‘भूकम्पसम्बन्धी अन्तर्राष्ट्रिय संग्रहालय बन्ने प्रक्रिया अघि बढ्यो’

गोरखा र सिन्धुपाल्चोकमा भूकम्प स्मृति पार्क बन्ने
निर्माण सञ्चार, काठमाडौं । गोरखा भूकम्पको स्मृति रहने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको संग्रहालय स्थापना गर्ने भएको छ ।

सोको तयारी समेत अन्तिम चरणमा पुगिसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले बताएका हुन् ।

बिहीबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा प्राधिकरणको कामको प्रगतिबारे बताउने क्रममा ०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मृति हुनेगरी अन्तर्राष्ट्रिय स्तरको भूकम्पसम्बन्धी संग्रहालय बनाउने तयारी गरिएको जानकारी दिएका हुन् ।

भूकम्प स्मृति संग्रहालय धरहरा परिसरमै बन्ने

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भविष्यमा बन्ने उक्त संग्रहालय हाल निर्माणाधीन विश्व सम्पदा धरहरा परिसरमै स्थापना गरिने पनि बताएका छन् । यही क्रममा उनले गोरखा र सिन्धुपाल्चोकमा भूकम्प स्मृति पार्क पनि निर्माण गरिने उल्लेख गरेका छन् ।

‘२ वर्षभित्र पुनर्निर्माणका काम सकिने छ’

समितिलाई जानकारी गराउने क्रममा सिइओ ज्ञवालीले स्थानीय तहलाई नै अधिकार प्रत्यायोजनको अभियानबारे पनि बताएका थिए ।

प्राधिकरणमा दोस्रो पटक पदबहाली भएलगत्तै सिइओ ज्ञवालीले पुनर्निर्माण सम्बन्धी कतिपय अधिकारहरु स्थानीय तहमा हस्तान्तरण गरिने बताउँदै आएका थिए । ‘सो काम यतिबेला रफ्तारमा छ, लगभग धेरै स्थानीय तहमा हस्तान्तरण पनि भइरहेका छन्’ उनले भने ।

भूकम्प पछि भत्केका निजी आवासहरु लगभग तीव्र निर्माण भइरहेको भन्दै उनले आउने २ वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न हुने ठोकुवा गरेका छन् ।

प्राधिकरणले अघि बढाइरहेका विभिन्न गतिविधिहरु मध्ये भूकम्प प्रतिरोधी भवन निर्माणका लागि सबै स्थानीय तहमा जोखिम विपद् नक्शांकन पनि हो ।

यो काम पनि तीव्र रुपमा अघि बढाइएको उनले जानकारी दिए । समितिमा सिइओ ज्ञवालीले प्राधिकरणले हालसम्म १ खर्ब ६८ अर्ब रुपियाँ पुनर्निर्माणमा खर्च गरिसकेको पनि जानकारी गराएका छन् ।

पुनर्निर्माण अन्तर्गत हालसम्म सम्झौता भएको रकम २ खर्ब ६२ अर्ब रहेको बताउँदै सिइओ ज्ञवालीले १ खर्ब ६८ अर्ब रुपियाँ खर्च भएको बताएका हुन् ।

 

 

...

बिहीबार, २६ पुस, ०७५

 

प्रतिक्रिया

Related