निर्माण व्यवसायीको निष्कर्षः ‘दुई तिहाइ सरकारले पनि गरेन हाम्रो समस्याको सम्बोधन !’

व्यवसायिक एकता नै आजको आवश्यकता भन्दै टुंगियो एसोसिएट भेला
निर्माण सञ्चार, काभ्रे । स्थिर सरकारले मुलुकका समस्या समाधानमा गति लिन्छ भन्ने आमविश्वास यतिबेला पातलिदै गएको निर्माण व्यवसायीहरुले बताएका छन् ।

नेकपा नेतृत्वको वर्तमान सरकार सुविधाजनक बहुमतको सरकार हो ।

तर, केन्द्र, प्रदेश र स्थानीय तहबीच हुने गरेका निर्माण कार्य र तिनका समस्या झनै चुलिदै गएपछि नेपालका निर्माण व्यवसायीहरु सरकारले समस्या समाधान गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

काभ्रेस्थित धुलिखेलमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघ अन्तर्गत एसोसिएट सदस्य समन्वय कार्यसमिति भेलामा मुलुकै अब्बल गनिने ठूला निर्माण व्यवसायीहरुले सरकारले निर्माण क्षेत्रको समस्या समाधान गर्न नसकेको आरोप लगाए ।

भेलामा बोल्दै अधिकांश ठूला निर्माण व्यवसायीले भने, ‘दुई तिहाइ नजिक बहुमत रहेको सरकार बनेको एक वर्ष बितिसक्दा समेत निर्माण क्षेत्रका समस्या सम्बोधन हुन सकेका छैनन् भने मुलुकमा कसबाट के आशा गर्न सकिन्छ ?’

भेलामा उपस्थित अग्रज निर्माण व्यवसायीहरुले व्यवसायिक एकता नै आजको आवश्यकता रहेको समेत बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघ अन्र्तगतको एसोसिएट सदस्य समन्वय कार्य समितिको नवौं राष्ट्रिय भेलाको उद्घाटन अवसरमा उनीहरुले निर्माण क्षेत्रमा निरन्तर गम्भीर चुनौती थपिँदै गएको निष्कर्ष निकालेका छन् ।

भेलालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले देशभरका निर्माण व्यवसायी एक भएमा जस्तोसुकै चुनौती पार लगाउन सकिने धारणा रखेका थिए ।

ठूला ठेक्कामा अस्वस्थ प्रतिष्पर्धा हुने गरेका कारण पनि ठूला निर्माण व्यवसायी अन्तरविरोधमा पर्ने गरेको आरोप लागिरहेकै बेला अध्यक्ष सिंहले एकताबद्ध हुन अपिल गरेका हुन् ।

अध्यक्ष सिंहले विगतका तिता–मीठा बिर्सदै अब एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको दोहोराएका थिए ।

व्यवसायीका कुरा सरकारले सनेन !

अक्सर निर्माण व्यवसायीहरु हिजोआज सरकारका कामहरु लिन डराउन थालिएको बताउँछन् ।

उनीहरुका अनुसार गत केही आथिएक वर्षदेखिका निर्माण कार्य सम्पन्न भइसकेका ठेक्काहरुको पनि लामो समयदेखि रकम भुक्तानी हुन सकेको छैन ।

त्यसै कारणले उनीहरुको आर्थिक अवस्था चौपट भएको छ ।

र, विभिन्न ऐन तथा कानुनी आतंकका कारण पनि उनीहरु सरकारका काम लिने र सम्पादन गर्ने हिम्मत गर्न नसक्ने ठाउँमा पुगेका छन् ।

यस्ता समस्याहरुलाई लिपिबद्ध गरी मुलुकका प्रधानमन्त्रीसँग छलफल गर्न चाहँदा पटक पटक प्रयास गर्दा पनि सरकारले वास्ता नगरेको हो कि भन्ने उनीहरुलाई परेको छ ।

भेलामा बोल्दै अध्यक्ष सिंहले पनि यस्तै धारणा व्यक्त गरे । उनले भने, ‘व्यवसायीहरुको समस्या अवगत गराउन लामो समयदेखि प्रधानमन्त्रीलाई भेट्ने प्रयास सफल हुन सकेको छैन । हाम्रा समस्या सरकारी निकायमा पुगेका छन्, तर हाम्रा प्रयासहरु अपेक्षाकृत सफल हुन सकेका छैनन् ।’

अध्यक्ष सिंहले महासंघ साना व्यवसायीहरुको समस्यामा निकै संवेदनशील रहेको पनि बताए ।

महासंघका मानार्थ सदस्य तथा निर्माण व्यवसायी सांसद जीपछिरिङ लामा शेर्पाले अहिले व्यवसायीहरुका लागि प्रतिकूल अवस्था सिर्जना भएको बताए ।

महासंघका सल्लाहकार समेत रहेका पूर्व अध्यक्षहरु रमेश शर्मा र सुकुन्तलाल हिराचनले निर्माण व्यवसायीको योगदानलाई राज्यले कदर गर्न नसकेको टिप्पणी गरेका थिए ।

पूर्व अध्यक्ष यक्षध्वज कार्की तथा निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले महासंघ नेतृत्वले सबै खाले व्यवसायीलाई समेट्नु पर्ने धारणा रखेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल सिग्देलले निर्माण व्यवसायीहरुलाई ऐन कानुन परिमार्जन गराउन सुझाव दिएका थिए ।

एसोसिएट सदस्य समन्वय कार्य समितिका संयोजक आङ दोर्जी लामा (ए.डी) ले महासंघका सबै गतिविधिमा आफ्नो नेतृत्वको समितिको सक्रिय सहभागिता रहने बताएका छन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पोण्डेले निर्माण व्यवसायीहरु भौतिक पूर्वाधार निर्माणका मेरुदण्ड भएको धारणा राखेका थिए ।

उनले सरकारले निर्माण व्यवसायीहरुसँग मित्रतापूर्ण सम्बन्ध राखेर मुलुकको उन्नतिमा लाग्न सरकारले वातावरण बनाउन अपिल पनि गरेका छन् ।

को को आए एसोसिएट्समा ?

महासंघ एसोसिएट सदस्य समन्वय कार्य समितिको निर्विरोध चयन भएको छ । रामजी पन्त (मुकेश) सह–सहंयोजक रहेको कार्य समिति निर्विरोध चयन भएको हो ।

एसोसिएट सदस्य समन्वय कार्य समितिको संयोजक भने महासंघका उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) रहेका छन् भने लामा (ए.डी) गत असोज महिनाको पहिलो साता राजधानीमा सम्पन्न महासंघको २० औं साधारण सभा तथा ११ औ अधिवेशनमा एसोसिएट उपाध्यक्ष निर्वाचित भउका थिए ।

एसोसिएट सदस्य समन्वय कार्य समितिको सचिवमा नवराज श्रेष्ठ, उपसचिवमा मोहन कार्की, कोषाध्यक्षमा शिवशक्ति भट्टराई तथा सहकोषाध्यक्षमा लक्ष्मी बस्नेत निर्विरोध चयन भएका छन् ।

सदस्यहरुमा भने खड्गबहादुर बुढाथोकी, इन्जिनियर प्रदीप कुमार खत्री, अनिल कुवँर, कृवेश श्रेष्ठ, उमेशध्वज थापा, तेण्डी शेर्पा, तुलसीराम भण्डारी, नवीनकुमार झा, गोकर्ण राउत, दिवाकर लामिछाने र केशव त्वानावासु निर्विरोध चयन भएका हुन् ।

निर्वाचितहरुलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता बाबुराम दाहालले पद तथा गोपनीयताको सपथ गराएका थिए ।

 

 

...

शनिबार, ४ फागुन, ०७५

 

प्रतिक्रिया

Related