निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रहः ‘बन्द उद्योग सञ्चालनका लागि तयार रहनुस्’

बैंक ब्याजमा सहजीकरण गर्न राष्ट्र बैंकलाई निर्देशन
निर्माण सञ्चार, काठमाडौं । बन्द अवस्थामा रहेका वीरगन्ज चिनी कारखाना, हेटौंडा कपडा उद्योग लगायत कारखाना सञ्चालन गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ ।

नेपाल तयारी पोसाक उद्योग संघको २६औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री डा।युवराज खतिवडाले यसबारे जानकारी दिएका हुन् ।

‘बन्द उद्योग सञ्चालनका लागि सरकार अघि बढिसकेको छ, निजी क्षेत्र यसका लागि तयार रहनु पर्दछ,’ अर्थमन्त्री खतिवडाले भने ।

डा खतिवडाले हेटौंडा कपडा उद्योग, वीरगन्ज चिनी कारखाना जस्ता पुराना तर बन्द अवस्थामा रहेका सरकारी उद्योग सञ्चालनका लागि तयार रहन निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।

उनले अघि भने, ‘सरकारले रुग्ण उद्योग निजी क्षेत्रको सहायताबाट चलाउन खोजेको छ । तपाईंरू सञ्चालनका लागि तयार रहनु होला।’

स्वदेशीलाई प्रोत्साहन दिइने, प्याकेजमै डिल हुने

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा खतिवडाले सरकारले स्वदेशी उत्पादनलाई नै प्रोत्साहन गर्ने गरी नीति अख्तियार गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।

उनले रुग्ण उद्योग चलाउन पनि प्याकेजमै डिल गर्ने प्रतिबद्वता व्यक्त गरेका छन् ।

रुग्ण तथा बन्द उद्योगका विभिन्न बक्यौता तथा दायित्व हुन सक्ने निजी क्षेत्रको आशंका निवारण गर्ने गरी सरकारले काम गर्ने अर्थमन्त्रीको भनाइ छ ।

विद्युत् महशुल, आयकरलगायत सुविधा दिने पनि सरकार तयार रहेको भन्दै ती सबै कामहरु प्याकेजमै डिल गर्ने उनको भनाइ छ ।

उनले औद्योगिक उत्पादनका लागि विशेष सहुलियत र सुविधा घोषणा गर्ने गरी सरकार अघि बढेको पनि बताए ।

भने, ‘स्वदेशी उत्पादनको अनिवार्य खपतकर्ता बनाउन हामी तयार छौं’, पोसाक लगाउने क्षेत्रमा स्वदेशी कपडा अनिवार्य गराउन सकिन्छ ।

यसका लागि विशेष सहुलियत प्याकेजकै घोषणा सरकारले गर्ने छ ।’ उनले नेपाली उद्योग आत्मनिर्भर नबनी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन नहुने बताए ।

गार्मेन्ट उद्योगलाई विशेष सहुलियत

यस्ता उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने सरकारको योजना रहेको उनको भनाइ छ ।

गार्मेन्ट उद्योगले आयात प्रतिस्थापन गर्नुका साथै निर्यात पनि प्रवद्र्धन गर्न सक्ने भएकाले गार्मेन्ट क्षेत्रमा विशेष सुविधा दिन सरकार तयार रहेको उनको भनाइ छ ।

ऐनमा आवश्यक परिमार्जन हुँदै

स्वदेशी उद्यमशीलता विकास गर्ने सोच सहित सरकारले केही दिनभित्रै औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी ऐन, बौंद्धिक सम्पत्ति संरक्षण ऐनमा आवश्यक संशोधनको तयारी समेत गरेको उनको दाबी छ ।

‘स्वदेशी उत्पादनलाई टेवा पुग्ने गरी मौजुदा ऐन कानुन संशोधन गरी उद्योग प्रवद्र्धन र सरलीकृत गर्न सकारले काम अघि बढेको छ,’ उनले भने ।

यस अघि उनले भने, ‘हामी उद्योगीको सहजताका लागि एकद्वार प्रणालीबाट सेवा दिने तयारीमा छौं । यसो हुन सके उद्योगमा लगानी प्रोत्साहन हुने छ ।’

बैंक ब्याजमा सहजीकरण गर्न राष्ट्र बैंकलाई निर्देशन

बैंकिङ क्षेत्र उद्योगमैत्री नभएको नाफाखोरी ब्याजदरले उद्योगहरु असहज भएको चिन्ता बढिरहेकै बेला अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीलाई ब्याजमा सहजीकरण गर्न निर्देशन समेत दिएका छन् ।

साथै, उनले वाणिज्य सचिव केदारबहादुर अधिकारीलाई उद्योगीका समस्या सम्बोधन गर्न पनि निर्देशन दिए ।

के भन्छ निजी क्षेत्र ?

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गार्मेन्ट उद्योगलाई सरल कर्जा, ब्याजदरमा सहुलियत र विद्युत्मा सुविधा दिनेबारे सरकारले ढिलाइ गर्न नहुने बताए ।

उद्यमी गोल्छाले अन्य मुलुकहरुबाट नेपाली गार्मेन्टको माग बढेपनि सरकारले गार्मेन्ट उद्योगलाई प्राथमिकता दिन कन्जुस्याँइ गरेको आरोप लगाए ।

उनले शोधानान्तर घाटा कम गर्न गार्मेन्ट उद्योगको ठूलो भूमिका हुने बताउँदै सरकारलाई यसतर्फ गम्भीर हुन आग्रह गरेका छन् ।

चण्डीप्रसादको माग, ‘गार्मेन्ट उद्योगलाई विशेष सुविधा देऊ’

कार्यक्रममा बोल्दै नेपाल तयारी पोसाक संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले गार्मेन्ट उद्योगलाई सरकारकाले विशेष छुट र सुविधा दिन पर्ने बताए ।

उनले भने, ‘दुई हजारभन्दा बढी मेसिन उपयोगमा आउन सकेका छैनन् । यस्ता उद्योग चलाउन सरकारले वातावरण बनाइदिनुपर्छ। सरकारले विशेष सहुलियत व्यवस्था गर्नै पर्छ ।’

उनले रुग्ण उद्योग सञ्चालनमा ल्याउने सरकारी योजना भए दुई वर्ष कर नलिने प्रावधान ल्याउन पनि सुझाव दिएका छन् ।

अध्यक्ष अर्यालले निर्यातजन्य उद्योगलाई पाँच वर्षसम्म कर नलिने सरकारको नीति बन्नुपर्ने समेत माग गरेका छन् । उनले भने, ‘सरकारले हामीलाई सहयोग गरे छिट्टै नै ५० प्रतिशत पोसाक आयात प्रतिस्थापन गन सक्छौं ।’

बैंक ब्याजले उद्यमी संकटमा

संघका पूर्वअध्यक्ष चण्डिराज ढकालले बैंकको ब्याजका कारण उद्योगी मारमा परेको बताए। उनले भने, ‘ब्याजदर बढी भएका कारण उद्योगी अन्तर्राष्ट्रिय बजारसँग प्रतिष्पर्धा गर्न सकेका छैनन्।’

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपाली उत्पादन बढाउन ब्रान्डिङ र बजारीकरण पहिलो सर्त रहेको बताए।

गार्मेन्ट उद्योगले आकर्षक डिजाइन र ब्रान्डिङ गर्न सके यस उद्योगको सम्भावना प्रचुर रहेको उनको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष कमलेशकुमार अग्रवालले दक्ष कामदार अभावमा उद्योगीले गुणस्तरीय सामान उत्पादन गर्न नसकिरहेको भन्दै सरकारले जनशक्ति उत्पादनमा पनि सहयोग गर्नु पर्ने धारणा राखेका छन् ।

 

 

...

आइतबार, ५ फागुन, ०७५

 

प्रतिक्रिया

Related