पहिलो पटक गणित प्रतियोगिताः ‘गणित सजिलो छ’ भनी सिकाउँदै गणित समाज

निर्माण सञ्चार, काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय गणित प्रतियोगिताको आयोजना भएको छ । नेपाल गणित समाजले आयोजना गरेको उक्त प्रतियोगिताको उद्देश्य ‘गणित सजिलो छ, सबैका माझमा पुर्याऔं’ भन्ने रहेको छ ।

बिहीबार (माघ १०) भक्तपुरको गन्डुस्थित काठमाडौं वल्र्ड स्कुलमा उद्घाटन भएको यो कार्यक्रम ३ दिनसम्म चल्ने आयोजकको भनाइ छ ।

शनिबार समापन हुने प्रतियोगिताको दोस्रो दिन सहभागी प्रतिस्पर्धीहरुबाट फाइनलका लागि ४ वटा टिम छनोटमा परेको समाजका सहसचिव तथा उपप्रा. जीवन काफ्लेले जानकारी दिए ।

‘फाइनलका लागि छनोट भएमध्ये पहिलो नेपाल मेघा कलेज, दोस्रोमा सेन्ट लरेन्स, चाबहिल, तेस्रोमा टाइम्स इन्टरनेसनल, डिल्लीबजार र चौथोमा छनोट भएको छ न्यु क्यापिटल हाएर सेकेन्डरी स्कुल,’ उनले भने ।

प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई ५० हजार रुपिपयाँ नगद सहित (छात्रवृति), ल्यापटप, नगद, ट्रफी एबं विभिन्न आकर्षक पुरस्कार रहेको आयोजकको भनाइ छ ।

कार्यक्रम किन ?

गणितमा पनि हाजिरी जवाफ प्रतियोगिता किन भन्नेबारे निर्माण सञ्चारसँग बोल्दै समाजका सभापति प्रा.डा. चेतराज भट्टले भने, ‘विद्यालय स्तरबाटै गणित भनेको बुद्धि र तर्क बढाउने टेक्नोलोजी पनि हो र यो सिक्न ज्यादै सरल छ भन्ने सन्देश दिन प्रतियोगिताको आयोजना गरिएको हो ।’

आयोजकका तर्फबाट बोल्दै सचिव डा दिनेश पन्थीले कार्यक्रमको उद्देश्य विद्यालयका तल्ला तहमा पनि गणितप्रति विद्यार्थीहरुको रुचि र आकर्षण बढाउनु रहेको बताए ।

बिहीबारको उद्घाटन समारोहमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. चन्द्रमणि पौडेलले कार्यक्रमको निरन्तरताको कामना गरेका थिए ।

हिसानद्वारा सहकार्यको अपिल

कार्यक्रमको उद्घाटन सत्रमा अतिथिका रुपमा रहेका हिसानका अध्यक्ष तथा गोल्डेन गेट कलेजका सिइओ रमेश सिलवालले गणित समाजको कार्यक्रम प्रशंसनीय रहेको बताए ।

हिसान अध्यक्ष सिलवालले कार्यक्रम अझै चौडा र फराकिलो बनाउन र धेरैलाई समेट्ने गरी अघि बढ्न आयोजक गणित समाजलाई सुझाब दिएका थिए ।

६४ वटा कलेज र स्कूलको सहभागिता रहेको सो प्रतियोगितामा कुल १२८ विद्यार्थी प्रतिस्पर्धामा उत्रिएको आयोजकले बतायो ।

देशका सातवटै प्रदेशबाट विद्यार्थीहरुलाई सहभागिता गराइएको छ ।

आयोजकका अनुसार यस पटकको प्रतियोगितामा विज्ञान विषय अन्तर्गतका कक्षा ११ र १२ का विद्यार्थीहरुमात्र सहभागी रहेका छन् ।

प्रतियोगिताको प्रायोजक भक्तपुर जिल्लास्थित काठमाडौं वर्ल्ड स्कूल रहेकोछ । सोही विद्यालय परिसरमा कार्यक्र सञ्चालन भइरहेको छ ।

सह आयोजकमा पिइए थापाथली, एडभान्स कलेज अफ इन्जिनीयारिंग एण्ड म्यानेजमेन्ट, कस्मोस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी, ललितपुर इन्जिनीयरिङ्ग कलेज, कान्तिपुर इन्जिनीयरिङ्ग कलेज, नेशनल स्कूल अफ इन्जिनीयरिङ्ग, सगरमाथा इन्जिनीयरिङ्ग कलेज र सुकुन्दा पुस्तक भवन रहेकाछन् ।

कार्यक्रमका संयोजक निजर शर्मा हुन् ।

यसै बीच नेपाल गणित समाजको सातवटै प्रदेशका प्रदेश (च्याप्टर गठनका प्रक्रिया पनि अगाडि बढाएको पनि जानकारी दियो ।

 

 

...

शुक्रबार, ११ माघ, ०७५

 

प्रतिक्रिया

Related