मेलम्चीमा आउला त सिएमसी ? सिंगापुरमा वार्ता

निर्माण सञ्चार, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउने उदेश्यले मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीका प्रतिनिधिहरु बीच वार्ता भईरहेको छ । वार्ता सिंगापुरमा जारी छ ।

सिएमसी कम्पनीले राखेका केही मागहरुको विषयमा छलफल भईरहेको छ ।

मेलम्चीको काम छिटो भन्दा छिटो सक्न सकेसम्म यही ठेकेदार कम्पनीबाट काम गराउने नभए विकल्पका रुपमा अन्य कदम चाल्ने विषयमा खानेपानी मन्त्रालयले गृहकार्य गरिरहेको छ ।

आयोजना समाप्त नहुँदै काम छाडेर भागेको इटालियन कम्पनी सीएमसीलाई ठेक्का खारेज किन नगर्ने भन्दै त्यसको कारण भए १४ दिनभित्र जवाफ पठाउन सरकारले गत माघ ६ गते पत्राचार गरेको थियो ।

खानेपानी मन्त्रीका सचिवालयका अनुसार मेलम्चीबारे निकास निकाल्न सिएमसीसँग सिंगापुरमा पहिलो चरणको वार्ता भईरहेको हो ।

यसअघि औपचारिक र अनौपचारिक रुपले सिएमसीका प्रतिनिधिहरुसँग छलफल भईरहेको थियो ।

दिल्लीस्थित नेपाली र ईटालीका राजदूत बीच यस विषयमा छलफल समेत भएको थियो ।

यसअघि सिएमसीलाई पठाइएको पत्रमा मेलम्ची खानेपानी समितिलाई कुनै जानकारी नदिई आयोजनास्थल छाडेर भागेको उल्लेख गदै यसका कारणसहित जवाफ दिन भनिएको थियो ।

त्यसैगरी आर्थिक रुपमा टाट पल्टेको भन्दै खारेजीका लागी इटाली सरकारलाई सीएमसीले निवेदन दिएको विषयमा स्पष्ट पार्न पनि उल्लेख गरिएको थियो ।

ठेकेदार कम्पनी सिएमसीसँग कुनै सहमति नभए सरकारले कानुनी व्यवधान नआउने गरी औपचारिक रुपमा ठेक्का सम्झौता तोड्ने जनाइएको छ ।

 

 

...

बुधबार, २३ माघ, ०७५ 

प्रतिक्रिया

Related