विद्याका आँसुः ‘हाय रवीन्द्र’ !

अन्तिम विदाइमा यसरी आँसु आँसु भयो टुँडिखेल
निर्माण सञ्चार, काठमाडौं । लोकप्रिय नेताको उचाइ बनाएका भाविष्यको आशालाग्दा नेता रवीन्द्र अधिकारीको अनपेक्षित मृत्युले यतिबेला मुलुक एकखाले शोकमा छ ।

रवीन्द्रको त्यो उचाइका लागि पत्नी विद्या भट्टराईको त्याग कम आँक्न मिल्दैन । कास्कीमा जन्मेका रवीन्द्र अधिकारी र सिन्धुपाल्चोक जन्मेकी विद्या भट्टराई तत्कालीन नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको राजनीतिक मोर्चामा झन्डै ३ दशकअघि भेटिएका थिए ।

त्यतिबेलाको समयमा आजका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धेरै नेता दम्पतीहरु राजनीतिमे सक्रिय थिए । ती मध्ये स्वर्गीय रवीन्द्र र विद्याको जोडी पनि एक थियो ।

विद्यार्थी संगठन र पार्टी राजनीतिमा सँगै काम गर्दै यो जोडीको मिलन अर्थात् विवाह भएको थियो । ०५५ सालमा यो जोडीको विवाह भएको थियो ।

विद्या आफैं पनि विद्यार्थी राजनीतिको उचाइमा थिइन् । विवाह पछि रवीन्द्रको राजनीतिक राजमार्ग फराकिलो बनाउन जीवन सँगिनी विद्याले दुई दशकअघि नै सक्रिय राजनीतिबाट टाढिने निर्णय लिएकी थिइन् ।

तर, आज यो वियोगान्त !

दुई सन्तानकी आमा, रवीन्द्र पत्नी यतिबेला सबैभन्दा भावुक पात्रका रुपमा दुनियाँका नजरमा छिन् । गत बुधबार तेह्रथुमबाट पाथीभरा हुँदै काठमाडौं फर्कने क्रममा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारी र पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित सात जनाले ज्यान गुमाए । 

अब रवीन्द्र विद्या, आफ्ना सन्तान, स्वजन तथा यो मुलुकबाट सदा सदाका लागि बिछोडिएका छन् ।
 

हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरिरलाई काठमाडौंको टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको छ ।

श्रद्धाञ्जली दिन भीभीआईपी, भीआईपी, आफन्त र सर्वसाधारणसमेत टुँडिखेलमा पुगे ।

टुँडिखेलमा पुगेका सबै शोकमा थिए, स्वजनको रोदनले वातावरण थाम्नै नसकिने भावुक बन्यो । भावविह्वल बनेकाहरुले शोकाकुल परिवारका सदस्यलाई सम्हाल्न हम्मेहम्मे परेको थियो ।

उक्त दुखान्त घटनाले उदयीमान नेता अधिकारी, पर्यटन क्षेत्रका अगुवा आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका निर्देशक ध्रुव भोछिभया, प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरेको निधन भएको थियो ।

बिहीबार शवहरुको पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा गरिएको थियो । हिजै दिवंगतलाई अन्तिम श्रद्धाञ्जली दिने भनिए पनि पोस्टमार्टममा भएको ढिलाइले आज गरिएको थियो ।

मन्त्री अधिकारीलगायत अन्य दिवंगतहरुलाई श्रद्धाञ्जली दिन बिहानैदेखि सर्वसाधारण टुँडिखेलमा भेला भए ।

जहाँ, श्रद्धाञ्जलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायत सर्वसाधारणहरु पनि उल्लेख्य उपस्थिति रह्यो ।

यस पछि मन्त्री अधिकारीको शव सेनाको हवाइजहाजबाट गृहजिल्ला काश्की लैजाने कार्यक्रम रहेको छ । जहाँ शवयात्रा सहित उनको अन्तिम बिदाइ गरिने छ ।

 

  

 

रवीन्द्र पत्नी शोकाकुल विद्याको पछिल्लो तस्वीर अनलाइन खबरबाट लिइएको हो । बाँकी सबै तस्वीर निर्माण सञ्चारका मनराज सिंखडाले क्यामेरामा कैद गरेका हुन् ।

 

...

शुक्रबार, १७ फागुन, ०७५

 

प्रतिक्रिया

Related