स्वर्गीय रवीन्द्रका नाउँमा लेखिएको मनै रुवाउने त्यो कविता !

निर्माण सञ्चार, काठमाडौं । शुक्रबार (आज) को दिन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीका नाउँमा अन्तिम श्रद्धाञ्जली दिने दिनका रुपमा रहन गयो ।

यतिबेला गृहनगर पोखरामा उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिनेहरु स्वजनहरुको घुइँचो छ । शवलाई नगरपरिक्रमा सहित अन्त्येष्टिको सँघार चलिरहेको छ ।

एउटा होनहार, आशालाग्दो युवा नेता, जसको करिब २ दशक अघि विद्यार्थी राजनीतिमै रहँदा सिन्धुपाल्चोकमा जन्मेकी विद्या भट्टराईसित विवाह भएको थियो ।

प्रेम विवाह गरेका दुई नेता मध्ये रवीन्द्रको करिअर अघि बढाउन पत्नी विद्याले आफूलाई सक्रिय राजनीतिबाट अलग गरिन् र आफ्नो घर सम्हाल्न तिर लागिन् ।

नियतिले ठगेपछि कसको के लाग्छ, गत बुधबार तिनै नेता मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी अकल्पनीय निधन भयो ।

उनी सहित हेलिकोप्टरमा सवार पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, चालक सहित पर्यटन क्षेत्रका दुई अब्बल इन्जिनियर सहित ७ जनाको अकालमै मृत्यु हुन पुग्यो ।

उक्त घटनाले मुलुक एकखाले शोकमा डुबेको छ । 

स्वर्गीय अधिकारीको शोकमा मुलुक नै डुबिरहेका बेला उनकी धर्मपत्नी विद्या भट्टराईको रुपक बनेर एकजना कविले मनै छुने कविता लेखेका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्यापनरत विद्याको मनोभावना टिप्ने यो कविताको मर्म सबैका लागि साझा हुन सक्ने ठानेर हामीले पनि यहाँ सार्वजनिक गरेका छौं ।

यस्तो छ, पतिलाई गुमाएको शोकमा परेकी विद्याको भाव टिपेर लेखिएको हृदयविदारक काव्यपंक्ति

नियतिको कालो पर्दा
बज्रो आफू माथि
कसोरी मन बुझाउँ अब
मेरो प्रिय जीवन साथी !

आकाश कालो, दिनै धुम्म
आज फागुन पन्ध्र
बीच बाटोमै मलाई छोडी
गयौ मेरो चन्द्र !

हाय प्यारा, मेरा आँसु 
रोकिएनन् आज
के भनेर कसोरी यो
मन बुझाउँ दिलको राजा !

के गतिले कुन मतिले 
तिमी गयौ त्यहाँ
हाम्रो धर्ती उजाड भो
फेरि आउन यहाँ !
 
पूजा सार्दम ठीक पार्दे’र
बिदा गरेँ आजै,
पाथीभरा प्रसाद पनि 
निधारमा छ ताजै ।

मन्त्री हुँदै हजार सपना 
देशवासीमा छर्यौ
वर्ष दिनमै नयाँ उभार दिन 
सफल पनि भयौ

तर, काम धेरै थिए
गर्नु पर्ने बाँकी साज
मुलुक बनाउने तिम्रा पाइलमा
कस्ले हाल्यो यो बाँध ?

समय नै काल बन्छ
भन्ने कस्लाई हुन्छ शंका ?
मुटु मेरो चिरा पर्यो
हेलिकप्टर खस्ता ।

विराज रुन्छ, स्वराज रुन्छ
बाबा मेरो खोई भनी
हाँस्तै ग’का सातै जना
फर्किएनन् कोही पनि !

काम गर्दै जाँदा तिम्रो
नाम मुछ्ने पनि भए
कालो दाग मेटाउँछु भन्थ्यौ 
प्रिये, ती अधुरै रहे ।

मुलुकको समृद्धिमा 
आज लाग्यो ठेस
कसरी म बाँधु अब 
मेरा लामो केश !

चन्द्र पनि कालो भयो
आशा सेलाइगयो
पोखराको बल्दो दीप
कुन दैवले हर्यो ।

पाथीभरा छोड्नु अघि
जुन फोन गर्यौ हरे
त्यही संवाद नै अन्ति हुन्छ
कस्ले सोच्थ्यो कस्ले ?

बादल कालो मडारिएको
गडबड थियो मौसम,
आधा जिन्दगीमै लुट्यौ
दैव, मेरो प्यारो खसम !

अवलोकन गर्न गाको
विमानस्थल बनाउन
निजगढ विमानस्थल अब के होला
कस्ले सक्ला मनाउन ?

गौतम बुद्ध विमान र 
त्रिवी विमान स्थलको
जिन्दगी नै बदलेथ्यौ
समृद्धिको साँचो ।

ईन्द्र–लक्ष्मी कोखबाट
जन्म्यौ २६ सालमा,
देशको सेवा गर्दा गर्दै
बिदा लियौ अकालमा !

योजनाका द्रष्टा थियौ
रह्यौ सदाचारी
इतिहासमा सीमित रह्यौ
मेरो राजा, रवीन्द्र अधिकारी ।

द्रष्टव्यः कभर फोटो, स्वर्गीय अधिकारी मन्त्री भएकै दिन साँझ हात्तीगौंडास्थित उनको निजी निवासमा धर्मपत्नी विद्या भट्टराई निर्माण मिडियाले क्यामेरामा कैद गरेको तस्वीर हो । 
 
 
...
शुक्रबार, १७ फागुन, ०७५

 

 

 

 

प्रतिक्रिया

Related