राजकीय सम्मानका साथ अधिकारीको अन्त्येष्टिः श्रीमती र छोराहरुले दिए दागबत्ती

निर्माण सञ्चार, पोखरा । सयौं मानिस सहभागी भएको शवयात्रा पछि संस्कृति, पर्यटन तथा उड्ययन मन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरको उनकै गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ ।

उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागबत्ती दिएका थिए । उनको पोखरास्थित रामघाटमा अन्त्येष्टि गरिएको थियो ।

पोस्टमार्टम पछि शुक्रबार बिहान काठमाडौंस्थित टुँडीखेलमा बिहान ८ बजेदेखि साँढे ११ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीर आजै काठमाडौंबाट पोखरा लगिएको थियो ।

उनको पार्थिव शरीरलाई पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभामा राखिएपछि रामघाटसम्म शवयात्रा गरिएको थियो ।

शवयात्रा नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्म भएको थियो । सयौं जनसाधारणहरु उनको शवयात्रामा सहभागी भएका थिए ।

गत बुधबार भएको अकल्पनीय हेलिकोप्टर दुर्घटनामा परी उनी सहित ७ जनाको निधन भएको थियो ।

अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारको तयारी रहेको परिवार स्रोतले बतायो । पोखरा मालेपाटनस्थित उनको आफ्नै घरमा उनको दशक्रिया हुने छ ।

 

 

...

शुक्रबार, १७ फागुन, ०७५

 

प्रतिक्रिया

Related