सक्रिए परिसंघको थप अर्काे सक्रियताः ‘एओटिएस जापान र परिसंघबीच छलफल सकारात्मक’

निर्माण सञ्चार, काठमाडौं । केही दिन अघि मात्रै ‘नेपाल आन्ट्रपेनरसिप समिट’ सम्पन्न गरेको परिसंघले यसै बीचमा एओटिएस जापानका अध्यक्ष सिन्ह्या कुवायमा को नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग छलफल गरेको छ ।

परिसंघका पदाधिकारीसँग भएको उक्त छलफलमा नेपाल र जापानबीच द्विपक्षीय प्राविधिक सहयोग सम्बन्धमा कुराकानी भएको थियो ।

छलफलमा एओटिएस जापानका अध्यक्ष कुवायमाले नेपाल आर्थिक प्रगतिको पथमा तीव्र गतिले अघि बढिरहेको भन्दै विगतमा जस्तै आउँदा दिनहरुमा पनि जापान तथा नेपालमा समेत मानव संशाधनको विकासका क्षेत्रमा तालिमको माध्यमबाट सहयोग वृद्धि गर्ने वचन दिएका छन् ।

त्यसको लागि निजी क्षेत्र बढी क्रियाशील भई कुन क्षेत्रमा कस्तो सहयोग, तालिम वा गोष्ठी गर्दा नेपाल र नेपालीको हित हुन्छ भन्नेमा प्रस्ट हुनु पर्ने उनको भनाइ छ ।

जापानी प्रतिनिधि मण्डललाई परिसंघका अध्यक्ष हरि भक्त शर्माले स्वागत गरेका थिए ।

उनले हालै सम्पन्न नेपाल उद्यमशीलता सम्मेलनबाट नयाँ सीप, ज्ञान र नवीनतम सोचको टड्कारो आवश्यकता महशुस भएको उल्लेख समेत गरेका थिए ।

उनले आर्थिक विकास र संघीय संरचनामा यसको अझबढी आवश्यकता रहेको बताउँदै सो सम्मेलनमा प्राप्त भएका सुझाव विगत २०१४ र २०१७ मा भएका नेपाल पूर्वाधार सम्मेलन लगायत उद्यमी व्यवसायीको औद्योगिक विकासको लागि आवश्यक पर्ने सीप, दक्षता, प्राविधिक तालिम गोष्ठीको लागि एओटिएसको सहयोग, सद्भाव र सहायता आगामी दिनहरुमा अझ बढी आवश्यक रहने र निजी क्षेत्रको अपेक्षा समेत सम्बोधन हुनेमा परिसंघ विश्वस्त रहेको उनको भनाइ छ ।

प्रतिनिधि मण्डलका अन्य सदस्यहरुमा एओटिएस दिल्ली कार्यालयका महाप्रबन्धक हिसासी काण्ड मासोनारी कासाई एओटिएस नेपालका द्वितीय उपाध्यक्ष अशोक कुमार अर्याल र नेपाल एओटिएसका सल्लाहकार अमित दलीको उपस्थिति रहेको थियो ।

भेटघाटमा परिसंघको तर्फबाट परिसंघका पदाधिकारी, गभर्निङ काउन्सिलका सदस्यहरु तथा राष्ट्रिय परिषदका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

नेपाली उद्यमीहरुको स्वतन्त्र संस्थाका रुपमा पछिल्ला दिनहरुमा नेपाल उद्योग परिसंघ निकै नै सक्रिय रहँदै आएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ जस्ता निजी क्षेत्रका छाता निकायहरु भन्दा परिसंघले उद्यमशील जगत्मा आफूलाई फरक ‘इनिसिएटर’का रुपमा उभ्याएको छ ।

 

 

...

मंगलबार, ७ फागुन, ०७५

 

प्रतिक्रिया

Related