निर्माण व्यवसायी महिलाहरुको राष्ट्रिय भेलाः के भनिन् मन्त्री थममाया थापाले ?

निर्माण व्यवसायीका लागि ऋण र औजारहरुमा विशेष छुटको घोषणा गर्न महासंघको आग्रह
निर्माण सञ्चार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ अन्तर्गत महिला निर्माण व्यवसायीहरुको तेस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ ।

राजधानीमा शनिबार सम्पन्न उक्त कार्यक्रममा महिला, बालबालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले महिला निर्माण व्यवसायीको भूमिका र सरकारले दिने सहयोगबारे बोलेकी थिइन् ।

प्रमुख अतिथिका रुपमा रहेकी मन्त्री थापाले सरकारले घोषणा गरेको आर्थिक समृद्धिको यात्रालाई मूर्त रुप दिन निर्माण क्षेत्रको भूमिका अपरिहार्य रहेको भन्दै निर्माण क्षेत्रमा महिलाहरुको भूमिका अझै बढाउनु पर्ने बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले निर्माण व्यवसायको विकासका लागि सरकारबाट हरतरहले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् ।

मन्त्री थापाका अनुसार वर्तमान संविधानले हरेक क्षेत्रमा महिला प्रतिनिधित्व सुनिश्चित गरेको अवस्थामा निर्माण व्यवसायमा पनि महिलाको उचित सहभागिता हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘निर्माण व्यवसाय क्षेत्रलाई अझ भरपर्दो तथा विश्वासिलो बनाउन तपाईहरु ठोस योजना सहित आउनुहोस्, सरकार सहयोग गर्न तयार छ ।’

सरकारले हालै घोषणा गरेका कार्यक्रमहरु सबै व्यवसायीको पक्षमा रहेको उनको दाबी छ ।

कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले महिला निर्माण व्यवसायीहरुका लागि सरकारले ऋण तथा औजारहरुमा विशेष छुटको घोषणाको आग्रह गरेका छन् ।

महिला कन्ट्र्याक्टरहरु पेसाबाट विस्थापित हुने खतरा बढ्दो !

निर्माण व्यवसायी महिला समन्वय समिति संयोजक सरस्वती कार्कीले व्यवसायी मैत्री ऐन कानूनको अभाव, भुक्तानीको समस्या, चन्दा आतंक जस्ता समस्याले निर्माण व्यवसाय क्षेत्र आक्रान्त रहेको बताइन् ।

उनले दिनरात नभनी घरबार सम्हाल्दै चुनौतीपूर्ण पेसामा लागेका महिला निर्माण व्यवसायीहरु पेसाबाट विस्थापित हुने खतरा बढेको भन्दै सबै पक्षबाट सहयोग र संरक्षणको आवश्यकताबारे औंल्याइन् ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु जयराम लामिछाने तथा यक्षध्वज कार्कीले निर्माण क्षेत्रप्रति सरकारी नीतिको अस्पष्टताले कन्स्ट्रक्सन इन्डस्ट्रिज मारमा परेको बताए ।

वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले सीमित स्रोत साधन तथा अवसरका बाबजुद महिला निर्माण व्यवसायीहरुको भूमिका प्रशंसनीय रहेको बताए ।

महासचिव रोेशन दाहालले महिला निर्माण व्यवसायीलाई अझ व्यावसायिक तथा दक्ष बनाउन वर्तमान कार्य समिति क्रियाशील रहेको जिकिर गरे ।

केन्द्रीय सदस्य मोहनकुमारी कालिकोटेले महासंघका महिलाहरुको प्रतिनिधित्व बढाउन महासंघ नेतृत्वको ध्यानाकर्षण गराएकी छन् ।

कार्यक्रममा महासंघका कानूनी सल्लाहकार अधिवक्ता बाबुराम दाहालले कार्यपत्र प्रस्तुत गर्दै निर्माण व्यवसाय र यसमा महिला सहभागिताबारे प्रकाश पारेका थिए ।

भेलाको बन्द सत्रमा देशभरबाट आएका महिला निर्माण व्यवसायीहरुले कार्यक्षेत्रमा भोग्नु परेका समस्याबारे महासंघ नेतृत्वको ध्यानाकर्षण गरेका छन् ।

कार्यक्रममा निर्माण व्यवसाय क्षेत्रमा उल्लेख्य योगदान दिने महिला व्यवसायीहरुलाई सम्मान गरिएको थियो ।

त्यस्तै सामाजिक उत्तरदायित्व अन्र्तगत भक्तपुर चाँगुनारायणमा रहेको मानव कल्याण समाजलाई नगद १५ हजार र अन्य अत्यावश्यक जिन्सी सामाग्री प्रदान गरिएको महासंघले जनाएको छ ।

 

 

...

शनिबार, ११ फागुन, ०७५

 

प्रतिक्रिया

Related