‘सरकारी स्वामित्वका उद्योग सरकारले नै बेची खायो, अब यस्तो हुँदैन’– उद्योगमन्त्री यादव

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको १५ औं वार्षिक साधारण सभा सम्पन्न
निर्माण सञ्चार, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकारी स्वामित्वमा रहेका विभिन्न उद्योगहरु सरकारले बेचेर खाएको आरोप लगाएका छन् ।

आइतबार बालाजु औद्योगिक क्षेत्रभित्र रहेको ‘नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ’को १५ औं वार्षिक साधारण सभामा बोल्दै उनले उदारीकरण र निजीकरणको नाममा भएभरका उद्योगहरु सरकारले नै बेचेर सिध्याउने काम गरेको बताएका हुन् ।

यस अघिका सरकारले उक्त गल्ती गरेको भन्दै उनले अब नेपाललाई आत्मनिर्भर बनाउन औद्योगिक विकास गर्नु पर्ने बताए ।

उनले भने, ‘यसअघिका सरकारको माथिल्लो ओहोदामा बसेका केही व्यक्तिहरुबाटै सरकारी स्वामित्वमा रहेका कतिपय उद्योगहरुलाई निजीकरण गर्ने नाममा बेचेर खाइयो, अब त्यस्तो हुनु हुँदैन ।’

उनले नेपाली मजदुर सस्तोमा विदेसिनु परेको भन्दै विश्व श्रमबजारमा नेपाली मजदुरको हैसियत बढाउनु पर्ने पनि बताए ।

विगतमा भारतीय मजदुर पनि नेपाल आउने गरेको र नेपाली मजदुर पनि भारत जाने गरेको सन्दर्भ कोट्याउँदै मन्त्री यादवले आजको नेपाली श्रमबजार भारत मात्र नभएर विश्व नै भएको पनि बताए ।

उनले हाल मजदुरले बाहिरबाट कमाएको रेमिटे्यान्समा नै नेपाल निर्भर भएको बताउँदै नेपालको मजदुरलाई नेपालमै सदुपयोग गर्ने नीति ल्याउन जरुरी रहेको बताए ।

कार्यक्रममा मन्त्री यादवले निजी क्षेत्र र सरकारबीच मतभेद भएको बताउँदै सरकार र निजी क्षेत्र एकजुट भएर अघि बढ्नु पर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा औंद्योगिक क्षेत्रका विभिन्न समस्याहरु सुनाउँदै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका निवर्तमान अध्यक्ष माधव अधिकारीले सरकारले उक्त समस्याको समाधान खोजिदिन आग्रह गरेका छन् ।

उनले औद्योगिक क्षेत्रभित्रको जग्गामा छिमेकी मुलुकमा जस्तै ९९ वर्षको भोगाधिकार सहितको लिजमा उद्योग मात्र संचालन गर्नका उपलब्ध गराउने व्यवस्था गरिदिन आह्वान गरेका हुन् ।

जग्गाको भाडा २–२ वर्षमा १५ प्रतिशतले वृद्धि हुने गरेको गलत रहेको बताउँदै आयोजकले प्रत्येक ५ वर्षमा मात्रै पुनरावलोकन हुने भन्ने मान्यताबाट हिजोआज अत्यधिक वृद्धि गर्ने व्यवस्था हटाउन बालाजु क्षेत्रका उद्योगीहरुले माग गरेका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले कच्चा पदार्थको आयात र तयारी आयातको भन्सार दरमा कम्तिमा १५ प्रतिशतको फरक हुनुपर्ने र बैंक ब्याज कम्तिमा ५ वर्ष स्थिर रहनु पर्ने माग गरेका छन् ।

हाल महासंघको सम्पन्न साधारणसभाबाट अध्यक्षमा देवराज तामाङ निर्वाचित भएका छन । सोही सभाले अन्य ५ जना सदस्य पनि मनोनयन गरेको छ ।

 

 

फोटोः मनराज सिंखडा, समाचारः आकाश बोगटी 

...

सोमबार, २० फागुन, ०७५

 

प्रतिक्रिया

Related