घरेलु उद्योग महोत्सवः तीन दिनमा सवा १० करोडको कारोबार

निर्माण सञ्चार, काठमाडौं । राजधानीमा चलिरहेको नेपाल १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा तेस्रो दिन शनिबारसम्म सवा १० करोड रुपियाँ बराबरको कारोबार भएको छ । शनिबारसम्म मेलामा एक लाख ८७ हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा विहीबारदेखि राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमा शुरु भएको मेलामा विहीबार २० हजारले अवलोकन तथा ५० सवा करोडको कारोबार भएको छ भने शुक्रबार ५० हजारले अवलोकन तथा चार करोड रुपियाँको कारोबार भएको एफएनसिएसआईले जनाएको हो ।

शनिबारको कारोबारबारे जानकारी दिदै आयोजकले एक लाख १७ हजारले अवलोकन गरेको दाबी गरेको छ भने ६ करोड रुपियाँ बराबरको कारोबार भएको बताएको छ ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी मङ्गलबारसम्म चल्ने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार राजधानीमा एक समारोहका बीच उद्घाटन गरिएको १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ को मेलामा प्रतिनिधि सभा उपसभामुख शिवमाया तुम्बहाम्के, राष्ट्रियसभा तथा प्रतिनिधि सभाका सांसद, पूर्व मन्त्री, पूर्वप्रधान सेनापति, सरकारी तथा गैरसरकारी निकायका जिम्मेवार व्यक्तित्वलगायत सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०५८ सालबाट नेपाल घरेलु तथा साना उद्योग महासंघले शुरु गरेको औद्योगिक प्रदर्शनी विभिन्न आरोह अवरोह पार गर्दै यसपटक १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र तेश्रो प्रांगारिक कृषि मेला–२०७५ को नामबाट सञ्चालन भएबारे बताएका थिए ।

मुलकले अहिले वार्षिक १२ खर्ब भन्दा बढीको वैदेशिक व्यापार घाटा व्यहोरिरहेको भन्दै उनले भने, ‘एकातिर हामी दैनिक उपभोग्य बस्तुका सामान समेत विदेशबाट आयात गरिरहेका छौं भने अर्कोतिर हाम्रा निर्यातयोग्य उत्पादन समेत निर्यात गर्न सकिरहेका छैनौं ।

निर्यातले मात्र हाम्रो व्यापारघाटा पुर्ति गर्नसक्ने अवस्थामा हामी छैनौं, अपितु स्वदेशी उत्पादनको उपयोगबाट मात्र हामीले यसलाई कम गर्न सक्छौं ।

त्यसैले हामीले यस मेलाको मूल उद्देश्य मेहनत सिर्जना, उत्पादन र वस्तु मेरै, नेपालको र “नेपाली वस्तु प्रयोग गरौं नेपाली भएकोमा गर्व गरौं” भन्ने नारा मार्फत प्रकट गरेका छौं ।’

नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ विहीबारदेखि राजधानीमा शुरु भएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा फागुन २३ देखि २७ गतेसम्म घरेलु उद्योग महोत्सव र तेश्रो प्राङ्गारिक कृषि मेला–२०७५ आयोजना गरेको हो ।

मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको मेला संयोजक तथा महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले बताए ।

उनले भने, ‘हाम्रो जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रुपमा रहेका भएतापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेको हुँदा आकर्षक प्रतिफल दिन सकिरहेका छैनन् जसका कारणले युवा पुस्ता यस्ता उद्योगप्रति आकर्षित हुन सकिरहेका छैनन् ।’

सिंहले थपे, ‘परिणामतः यस्ता उद्योगहरूमा पुस्ता हस्तान्तरणको समस्या रहेको छ । यस्तै पक्षलाई सम्वोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले धेरै अगाडीदेखि नै नियमित रुपमा राष्ट्रिय, प्रदेश तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दै आएको छ ।’

आयोजक अन’सार नेपालको तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने यस मेलाले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुनेछन् ।

महोत्सवको सह–आयोजक अर्गानिक एसोसियसन अफ नेपाल रहेको छ ।

नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग विकास कोष, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौं महानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्यमा यस प्रदर्शनी आयोजना गरिएको हो ।

पाँच दिनसम्म चल्ने मेलामा २०५ वटा स्टल रहेका, उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी रहेको, चीन, भारत र वंगलादेश गरी ४५ वटा अन्तर्राष्ट्रिय स्टल रहेका छन्, पाँच दिनको अवधिमा करिब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै १५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

 

 

...

शनिबार, २५ फागुन, ०७५

 

प्रतिक्रिया

Related