रारा घुमेर आउनेहरु बाटोमै अलपत्र ! सडक बनाउन लापरबाही

नाग्म, गमगढी सडक महिनौंदेखि अवरुद्ध, यात्रु अलपत्र !
निर्माण सञ्चार, कर्णाली प्रदेश । स्थानीय सरकारहरुले कर्णाली राजमार्गमाथि गरेको बेवास्ताका कारण रारा यात्रुहरुले दुख पाएका छन् ।

लगातारको हिमपात र वर्षाका कारण गत पुस अन्तिमदेखि अवरुद्ध नाग्म, गमगढी सडक खण्ड सुचारु नहुँदा यात्रुले शास्ती पाएका हुन् ।

हिमपात रोकिएको डेढ हप्ता भइसकेको छ, तैपनि स्थानीय निकायले सडक खुलाउन पहल नै गरेको छैन । सडक अवरुद्ध भएपछि राराताल घुमेर फर्किनेदेखि मुगु गमगढी आउजाउ गर्नेलाई पनि सकस भएको हो ।

नेपालगन्ज, सुर्खेत, जुम्ला, कालिकोट हुँदै राराताल घुम्न तथा मुगु जाने आन्तरिक र बाह्य पर्यटकदेखि सबै यात्रुहरु बिचबाटोमै अलपत्र पर्न थालेका छन् ।

यस सडक खण्ड अन्र्तगत हाल जुम्ला सिंजाको गोठीज्युलासम्म मात्रै धौ धौ गरी सवारी सञ्चालन भइरहेका छन् ।

कच्ची सडक खण्डमा खसेको पहिरो, ठाउँ–ठाउँको हिलो र अत्यधिक हिउँले यातायात आवगमनमा समेत कठिनाइ उत्पन्न भएको हो ।

जसले गर्दा ‘कालमार्ग’का रुपमा चिनिन थालिएको कर्णाली राजमार्ग झनै कष्टकर बनेको छ । यात्रुहरु दुर्घटनाको जोखीम मोलेर यात्रा गर्न बाध्य छन् ।

पर्यटकले गोठीज्युलाबाट रारा, मुगुसम्म आउजाउ गर्दा पैदल यात्रा गर्नुपरेको छ ।

‘सडकभर हिलै हिलो छ, गाडी फसेर चार घण्टाको बाटोमै रात पर्छ,’ नाग्मदेखि मुगु जाँदैगरेका कमल रोकायाले भने, ‘अहिले यो बाटोमा कत्तिखेर हिड्ने र कहाँ बस्ने भन्ने कुनै पत्तो छैन ।’

शनिबार सुर्खेतबाट गोठीज्युलाका लागी छुटेको बस आइतबार जुम्लासिंजाको बाँजाघाट नजिकैको हिलोमा फस्दा उनीसँगै मुगु जाँदै गरेका अन्य ५ को पनि बाटोमै बासभयो ।

कतिपय मुगु जाने यात्रुले बस छाडेर पैदल यात्राको समेत तय गरे ।

धनबहादुर बुढाले भने, ‘जुम्ला सदरमुकामदेखि गोठीज्युला पुग्न तीन घण्टाको सवारी यात्रा हो, तर हिलो र वर्षाका कारण अचेल एक दिनले पनि धौ धौ पुगिन्छ ।’

यतिखेर रारा घुम्न आउने अधिंकाश पर्यटकहरु समेत बिच बाटोबाटै फर्किने गरेको सिंजाका होटल ब्यवसायी बताउँछन् ।

सवारी चालक दिवाकर साउद भन्छन्, ‘सडकको अवस्था नबुझी राराताल जान खोख्ने तर, पछि गारो पर्दा फिर्ता हुने पर्यटकहरु कर्णाली राजमार्गमा धेरै भेटिन्छन् ।’

रारामा घटे पर्यटक

महिनौंदेखि अवरुद्ध सडककै कारण रारा आउने पर्यटकहरु ह्वात्तै घटेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

मुगुबाट परीक्षा दिन जुम्ला आँउदै गरेका संचारकर्मी नन्द रोकायाले भने, ‘यस्तो अवस्थामा सवारी यात्रा गरी रारा घुम्न जान खोज्नु पनि मूर्खता हो, कच्ची बाटो हेर्दै डर लाग्छ, कतिखेर के हुनी हो भर छैन ।’

जतिसक्दो जाँडो अवरुद्ध सडक खुलाउन नागरीकको माग छ ।

‘सबै यात्रुहरुको हवाई जहाँज चड्ने क्षमता छैन, सवारी यात्रा गर्दा बाटोमै अलपत्र परीन्छ’ यात्रु बिमल योगीले भने, ‘यसतर्फ चाँडै सम्बन्धित निकायको ध्यान पुगोस्, होइन भने दुर्घटना हुनसक्छ ।’

जिल्ला प्रशासन मुगु र सडक डिभिजन कार्यालय जुम्लाले अवरुद्ध सडकको हिँउ हटाउन दुई वटा स्काभेटर समेत परिचालन गरिएको छ ।

तर स्काभेटरले लेकमा परेको हिँउ हटाए पनि नियमित हिउँ पग्लिँदा हिलो भने हटाउन सकेको छैन ।

‘लेक क्षेत्रको सडक खण्डमा हिँउपर्ने बित्तिकै एकै दिन तीन, चार फिट हिँउ जम्छ, पटक पटक स्काभेटरले हिँउ हटायौँ,’ सडक डिभिजनका इन्जिनियर श्रवणकुमार महताराले भने, ‘सडकको हिलो स्थानीय ठेकेदारलाई समेत हटाउन भनेका छौं, तर पूर्ण रुपमा सडक सुचारु गर्न मौसम अनुकूल नभएसम्म संभव देखिँदैन ।’

कार्यालय सडक खुलाउन निरन्तर लागि परेको उनले बताए ।

___

सागर परियारको फोटो फिचर

 

 

...

सोमबार, २७ फागुन, ०७५

 

प्रतिक्रिया

Related