नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गः प्राविधिक प्रस्ताव स्वीकृत, कहिले खुल्दै छ आर्थिक प्रस्ताव ?

चुरियामाई सुरुङ मार्गपछिको पहिलो सुरुङ मार्ग, वैशाखबाट काम अघि बढ्ने
निर्माण सञ्चार, काठमाडौं । एक जापानिज र ५ चिनियाँ कम्पनीहरुले प्रस्ताव हालेको नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत भएको छ ।

अब केही दिनमै आर्थिक प्रस्ताव खोल्ने गरी प्रक्रिया समेत आरम्भ भएको आयोजनाले जनाएको हो । यो जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋण सहयोगमा बन्न लागेको हो ।

चुरियामाई जंगलमा रहेको सुरुङ मार्ग पछिको नेपाल आधुनिक विकासे बाटोमा गएपछि बन्ने पहिलो सुरुङ मार्गका रुपमा यो चिनिदै छ ।

यो सुरुङ मार्गको निर्माण प्रक्रिया दुई वर्ष अघिदेखि सुरु भइसकेको छ ।

यस सुरुङ मार्गका लागि जाइकाले १६ अर्ब रुपियाँ सहयोग गर्नेछ भने बाँकी छ अर्ब रुपियाँ सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने छ ।

नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजना अनुसार प्राविधिक प्रस्ताव दिनेहरुमा ६ वटा कम्पनीहरु थिए ।

आयोजना निर्देशक श्यामप्रसाद खरेलले जानकारी दिए अनुसार अब केही दिनमै आर्थिक प्रस्ताव पनि खोलिने छ । प्राविधिक प्रस्ताव स्वीकृत भएका कम्पनीहरुको मात्र आर्थिक प्रस्ताव खोलिने उनको भनाइ छ ।

वैशाखबाट काम अघि बढ्ने

आयोजना निर्देशक खरेलका अनुसार आर्थिक प्रस्ताव खोल्ने प्रक्रियामा गइसकेकाले यसको सबै प्रक्रिया पुुरा गरी वैशाख अन्तिम हप्तादेखि निर्माण कार्य अघि बढ्ने छ ।

उक्त सुरुङ मार्ग प्रवेश मार्गसहित ५.५६ किलो मिटर रहेको छ । जसका लागि कूल २२ अर्ब रुपियाँ लागत अनुमान गरिएको छ ।

निर्माण कार्य अघि नै करिब साढे ५ अर्ब प्रभावितका लागि मुआब्जा वितरणमै खर्च हुनेछ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिकाको वडा नं- १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण कार्य पनि यस अघि नै सुरु भइसकेको आयाजनाको भनाइ छ ।

जानकारी अनुसार हालसम्म २ अर्ब ४० करोड रुपियाँ मुआब्जा वितरणमा खर्च भइसकेको छ । यो सुरुङ मार्ग आउने ४ वर्षभित्र सकिने लक्ष्य रहेको छ ।

खानेपानी र जलविद्युत् आयोजनाका लागि यस अघि पनि सुरुङ निर्माण भने भएका छन् । तर, यातायात सञ्चालन हुने गरी निर्माण हुन लागेको यो नै पहिलो सुरुङ मार्ग हो ।

यो सुरुङ मार्गमा दुई साना ‘फ्लाई ओभर’ बन्ने छन् ।

 

 

...

बुधबार, २९ फागुन, ०७५

 

प्रतिक्रिया

Related