भरतीय दूतावासको आयोजनामा तीनदिने संस्कृत सम्मेलनः प्रधानमन्त्री ओलीले गर्दैछन् उद्घाटन

निर्माण सञ्चार, काठमाडौं । नेपालस्थित भारतीय दूतावासको आयोजनामा हुने तीन दिने संस्कृत सम्मेलनको अन्तिम तयारी पूरा भएको छ ।

नेपाल तथा भारतीय विद्वान, संस्कृतविद् तथा कूटनीतिज्ञहरु समेत संलग्न हुने उक्त संस्कृत महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन हुने कार्यक्रम रहेको भारतीय दूतावासले जनाएको हो ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले लाजिम्पाटस्थित होटेल राडिसनमा मंगलबार बिहान १० बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको प्रस्तुतिका रुपमा रहने उक्त कार्यक्रमको समुद्घाटन समारोहमा नेपालका लागि भारतीय राजदूत मञ्जीभ सिंह पुरी विशिष्ट अतिथिका रुपमा रहने छन् ।

चालू भारत महोत्सवको सांस्कृतिक पाटोका रुपमा सञ्चालित उक्त कार्यक्रमको उद्देश्य नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध अझै प्रगाढ बनाउनु रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र तथा उक्त सम्मेलनका निर्देशक प्रा.डा. केदारनाथ शर्माले जानकारी दिए ।

भारत सरकारको संस्कृति मन्त्रालय अन्तर्गतको कार्यक्रमलाई नेपालस्थित भारतीय दूतावासको संस्कृति विभागले सम्पन्न गर्दै छ ।

प्रा.डा. शर्माका अनुसार उक्त सम्मेलनमा भारतबाट भाषा, संस्कृतिविद् तथा भारत सरकारको उच्च पदमा रही अतुलनीय योगदान दिएका विद्वानहरु कार्यपत्र सहित सहभागी हुने छन् भने नेपालबाट संस्कृत भाषा, साहित्य, दर्शन, पुरातत्त्व तथा सम्पदाविद्हरुबाट विभिन्न विषयमाथि कार्यपत्रहरु प्रस्तुत हुने छन् ।

संस्कृत सम्पदा संरक्षण गर्ने उद्देश्यले संस्कृत विषयलाई नै लिएर नेपाल र भारतमा मात्रै संस्कृतका पूर्ण विश्वविद्यालयहरु रहेको सन्दर्भमा यस सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालयबाट ठूलो संख्यामा जिज्ञासुहरु सहभागी हुने वाल्मीकि विद्यापीठका प्राचार्य डा गणेश घिमिरेले बताए ।

कार्यक्रममा भारतबाट संस्कृत तथा संस्कृतिविद्बाहेक विश्वविद्यालयका वर्तमान तथा पूर्व कुलपतिहरु सहभागी हुने दूतावास स्रोतको भनाइ छ ।

नेपालबाट पनि पूर्वीय वाङमय सम्बद्ध विभिन्न विषयका दार्शनिक, विद्वानहरु सहभागी हुने छन् । जसमा वर्तमान तथा पूर्व उपकुलपतिहरु, संस्कृत तथा संस्कृत भाषाविद्हरु रहेका छन् ।

भारतबाट प्रा. सत्यव्रत शास्त्री, प्रा. अभिराज राजेन्द्र मिश्र लगायत दर्जन विद्वान्हरु सहभागी हुने छन् ।

नेपालबाट पनि संस्कृतिविद् सत्यमोहन जोशी, प्रा. जयराज आचार्य, प्रा. दिनेशराज पन्त, प्रा. माधवराज गौतम, प्राज्ञ जगमान गुरुङ, डा. काशीनाथ न्यौपाने लगायत ३० जना बढी विद्वान्ले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाल संस्कृत विश्वविद्यालयका बौद्ध दर्शन विभागका उपप्राध्यापक डा. प्रेमराज न्यौपनाले बताए ।

तीन दिनसम्म चल्ने कार्यक्रमको उद्घाटन सत्रमा नेपाल संस्कृत विश्वविद्यालयबाट शास्त्री तथा उत्तरमध्यमा तहका विद्यार्थी, जिज्ञासुहरु समेत सहभागी हुने कार्यतालिका रहेको उपप्राध्यापक प्रकाश तिवारीले जानकारी दिए ।

 

‘संस्कृतः नेपाल भारतको साझा सम्पदा’ भन्ने नारामा तीन दिनसम्म चल्ने उक्त सम्मेलनको कार्यक्रम तालिका निम्नानुसार रहेको छ–  

 

 

...

 

सोमबार, ४ चैत, ०७५

 

प्रतिक्रिया

Related