‘नेपाल दक्षिण एसियाको उदाउँदो तारा’– १५ परियोजनामा १७ खर्बको लगानी प्रस्ताव

निजी क्षेत्रको १५ परियोजनामा विदेशी लगानीको घोषणा र समझदारीः १३ सरकारी परियोजनामा १२ खर्बको प्रारम्भिक आवेदन
निर्माण सञ्चार, काठमाडौं । अपेक्षाकृत ठूला परियोजनामा सम्झौता तथा थप परियोजनाहरुमा आवेदन नै परेर सम्पन्न ‘नेपाल लगानी सम्मेलन २०१९’ भव्य रुपमा सफल भएको छ ।

लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताले करिब १७ खर्ब ३० अर्ब रुपियाँ बराबर लगानी प्रस्ताव गरेका छन्, जसमा सरकारले प्रस्तुत गरेका ५० आयोजना मध्ये ११ वटामा लगानीका लागि १७ वटा प्रस्ताव आएका छन् ।

दुई दिनसम्म राजधानी काठमाडौंमा चलेको उक्त लगानी सम्मेलनमा निजी क्षेत्रले प्रस्ताव गरेका १५ परियोजनाहरुमा विदेशी लगानीको सहमति सहित समझदारी पत्रमा हस्ताक्षर नै भएका छन् ।

सम्मेलनको दोस्रो दिन विदेशी लगानीकर्ताले कुल गरी १७ वटा परियोजनामा लगानीका लागि आवेदन दिएका थिए ।

तिनमा यातायात पूर्वाधार तर्फ ७, कृषि क्षेत्रमा ३, लजिस्टिक १, शिक्षा क्षेत्रमा २ र ऊर्जा क्षेत्रमा ४ गरी १७ परियोजनामा लगानी आवेदन पेस गरेका हुन् ।

लगानी बोर्डले दिएको प्रारम्भिक आँकडा अनुसार आवेदन परेमध्ये कुल लगानी १२ खर्ब १५ अर्ब रुपियाँ अर्थात् १० अर्ब ९५ करोड अमेरिकी डलर बराबरको लगानी प्रतिबद्धता आएको हो ।

तर, स्वदेशी उद्यमीहरुले मुनाफा कमाएको देखिनसहने, छुस्सछुस्स अख्तियार लगाउने प्रवृत्तिबाट भने नेपाल माथि उठ्नु पर्ने स्वदेशी निजी क्षेत्रको सुझाव छ । विदेशी लगानीमा पनि स्वदेशी उद्यमीको हिस्सा किटान गरे मात्रै लगानी गर्ने वातावरण विदेशीलाई पनि निर्धक्क हुने र स्वदेशी पुँजीको पनि विकास हुने उनीहरुको भनाइ छ

निजी क्षेत्र, सरकार र दातृ निकायबीच १७ आयोजनामा लगानी गर्ने समझदारी भएको छ । यो समझदारीका आयोजनाको लागत ५ खर्ब १३ अर्ब रुपियाँको रहेको छ ।

लगानी बढ्ने अपेक्षा

लगानी बोड सदस्य समेत रहेका उद्यमी बालकृष्ण सिवाकोटी सरकारले पेस गरेका थप परियोजनाहरुमा आगामी दिनमा पनि लगानी भित्रिने दाबी गर्दछन् ।

उनका अनुसार सरकारले पेस गरेका ५० आयोजनाका लागि आउने वैशाख पहिलो साता अर्थात् अप्रिल २० भित्र लगानी प्रस्ताव पेस गर्ने डेटलाइन रहेको छ ।

सो मितिसम्म थप परियोजनामा प्रस्ताव आउने उनले बताए ।

कुन कुन परियोजना परे लगानीकर्ताका आँखामा ?

प्रतिबद्धता तथा आवेदन सहितका लगानी घोषणामध्ये यातायात पूर्वाधार तर्फ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं बाहिरी चक्रपथ, काठमाडौं उपत्यका भित्र मेट्रो र बस र्यापिड ट्रान्जिट (बिआरटी) मा लगानीको आवेदन परेका हुन् ।

ऊर्जा प्राथमिकतामा

सरकारले तयार गरेमध्ये हाइड्रो क्षेत्र प्राथमिकतामा थियो । लगानी प्रतिबद्धता पनि ऊर्जा क्षेत्रमा बढी जुटेको छ ।

अरुण तेस्रो परियोजनामा लागनी जुटेको छ, बुढी गण्डकीमा प्रतिबद्धता सहितको आवदेन र पश्चिम सेती, तमोर लगायतमा आवेदन परेका छन् ।

शानिबारकै दिन सिन्हुवा वाटर कन्जरभेन्सी एन्ड हाइड्रोपावर इन्भेस्टमेन्ट, हाइड्रो सोलुसन ग्रुप र सांघाई इन्भेस्टमेन्ट, डिजाइन एन्ड रिसर्च इन्स्टिच्युसनबीच १६० मेगावाटको कालीगण्डकी गर्ज निर्माणको समझदारी भएको छ ।

लगानी बोर्ड अनुसार यी आयोजनाका लागि करिब ४२ अर्ब रुपियाँ लागत आवश्यक पर्छ ।

शनिबारै भएको लगानी घोषणा मध्ये २१६ मेगावाटको माथिल्लो त्रिशूली १ मा कोरियाली कम्पनीले करिब ७२ अर्ब लगानी घोषणा गरेको छ ।

अपी पावर कम्पनी र कँडेल ग्रुपअफ कम्पनीबीच नेपालमा ऊर्जा विकासका लागि करिब १ खर्ब ७५ अर्ब बराबरको समझदारी भएको छ ।

त्यस्तै, १८ मेगावाटको सोलार प्लान्ट, ९८ मेगावाटको जलविद्युत् आयोजना र १० मेगावाटको वायु ऊर्जा उत्पादनका लागि समझदारी भएको बोर्डको भनाइ छ ।

हिजै भएको समझदारी मध्ये डोल्मा फन्डले पनि १५० मेगावाटको सोलार प्लान्ट स्थापनाका लागि ग्रान्ड फन्डबाट करिब २ अर्बको लगानी स्वीकृति पाएको घोषणा गरिएको छ ।

सूचीकृत नभएकैमा पनि विदेशी लगानी प्रस्ताव

अचम्म लाग्दो के भयो भने, लगानी सम्मेलनमा सरकारले सूचीकृत नगरेका परियोजनामा समेत लगानी गर्न आवेदन परेका छन् ।

यसबाहेक ५ सय ५० मेगावाट क्षमताको अर्को सोलार प्लान्ट स्थापना गर्न एक स्वतन्त्र कम्पनीले प्रस्ताव पेस गरेको छ ।

विदेशी लगानीकर्ताबाट ५ सय ५० मेगावाटको सोलार र लजिस्टिक ब्लक टर्मिनल लगायतमा पनि आवदेन दिएका छन् ।

विदेशी एक लगानीकर्ताले ६ अर्ब ५० करोड रुपियाँ बल्क टर्मिनल लजिस्टिक पार्क बनाउने प्रस्ताव गरेका हुन् ।

एकीकृत कृषि परियोजना, धुलिखेल मेडिसिटी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलगायत परियोजनामा पनि लगानीका लागि आवेदन परेको लगानी बोड स्रोतले बतायो ।

सरकारबाट लगानी सम्मेलनमा सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका १७ गरी ७७ परियोजना सूचीकृत थिए । तर सम्मेलनको दोस्रो दिन शनिबारसम्म १७ परियोजनाका लागि लगानी गर्ने आवेदन आएका हुन् ।

आवेदनको अन्तिम मिति २० अप्रिलसम्म रहेको छ ।

कुन कुनमा भए लगानी सम्झौता र समझदारी डाटामा ?

आवेदन परेका ११ आयोजनाको विवारण यस प्रकार रहेको छ ।

काठमाडौ रिंगरोड बस र्यापिड ट्रान्जिट परियोजना– १६ अर्ब ५४ करोड

तमोर जलाशय परियोजना– १ खर्ब ४९ अर्ब ३६ करोड

धुलिखेल मेडिसिटी– ८ अर्ब १८ करोड

पश्चिम सेती जलविद्युत् आयोजना– १ खर्ब ६३ अर्ब ७४ करोड

काठमाडौं बाहिरी चक्रपथ– २ खर्ब ७ अर्ब ७४ लाख

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल– ३ खर्ब ३१ अर्ब ९२ करोड

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भक्तपुर– १ अर्ब ७७ करोड

एकीकृत कृषि पूर्वाधार परियोजना बनेपा र चितवन– ४९ करोड

एकीकृत कृषि पूर्वाधार परियोजना हेम्जा– ६२ करोड २९ लाख

एकीकृत कृषि पूर्वाधार परियोजना उर्लाबारी– ६० करोड २९ लाख

काठमाडौं मेट्रो– ३ खर्ब ३१ अर्ब ९२ करोड

त्यस्तै, समझदारीमा हस्ताक्षर भएका १५ परियोजना निम्नानुसार रहेका छन् ।

चौधरी ग्रुप र सर्राफ ग्रुप– मल्टी–मोडल लजिस्टिक पार्क– १० अर्ब

चौधरी ग्रुप र स्काई पावर– ६ सय मेगावाटको सोलार– ५० अर्ब

सीजी लाइफसेल र टर्कसेल– फाइभजी मोबाइल नेटवर्क– २५ अर्ब

प्रदेश २ र सीजी इन्फ्रास्ट्रक्चर– २ सय मेगावाट ऊर्जा प्लान्ट–१२ अर्ब

एसबीआई बैंक, एभरेस्ट बैंक, नबिल बैंक र सतलज– ९ सय मेगावाटको अरूण तेस्रो– ७८ अर्ब ६० करोड

सिन्हवा वाटर कन्जरभेन्सी एन्ड हाइड्रोपावर इन्भेस्टमेन्ट, हाइड्रो सोलुसन ग्रुप र सांघाई इन्भेस्टमेन्ट, डिजाइन एन्ड रिसर्च इन्स्टिच्युसन– १६० मेगावाटको कालीगण्डकी गर्ज निर्माण– ४२ अर्ब

आईएफसी र विशेष आर्थिक क्षेत्र प्राधिकरण– सिमरा विशेष आर्थिक क्षेत्र– अनुमानित १० अर्ब

सिन्सियर कन्सल्टिङ कम्पनी र रिसोर्स हिमालय बुटिक भिलेज रिसोर्ट– बुटिक भिलेज– ६ अर्ब

एनआरएन र उद्योग विभाग– प्रत्यक्ष वैदेशिक लगानी– १० अर्ब

नेसनल कोल्याटलर म्यानेजमेन्ट सर्भिस लिमिटेड र नेपाल वेरहाउस कम्पनी लिमिटेड– अन्नबाली भण्डारण केन्द्र– २० अर्ब

कोरियाली कम्पनी– २१६ मेगावाटको माथिल्लो त्रिशूली–१– ७२ अर्ब ८० करोड

भारतीय मुतुथ ग्रुपद्वारा नेपालको युनाइटेड फाइनान्समा– ४० करोड

अपी पावर कम्पनी र कँडेल ग्रुप अफ कम्पनी– नेपालमा ऊर्जा विकास– १ खर्ब ७५ अर्ब

डोल्मा फन्ड– २ अर्ब बल्क टर्मिनल लजिस्टिक पार्क– ६ अर्ब ५० करोड

यस्तो छ लगानी सम्मेलनको तथ्यांक

दुई दिनसम्म चलेको लगानी सम्मेलनमा ७३५ जना विदेशी पाहुन रहेको लगानी बोर्डले बतायो । त्यस्तै, नेपालको निजी क्षेत्र सहितको स्वदेशी सहभागीहरुको संख्या भने ६ सय रहेको थियो ।

सहभागी विदेशी कम्पनीहरु ३ सय रहेका थिए भने स्वदेशी कम्पनीहरुको संख्या एक सय रहेको थियो ।

संक्षेपमा उल्लेख गर्नु पर्दा लगानी सम्मेलनभर करिब ७० वटा जति द्विपक्षीय वार्ताहरु सम्पन्न भएका छन् भने सम्झौता भएमध्ये ६ वटामा संयुक्त लगानी सम्झौता भएका छन् ।

त्यस्तै चारवटामा लगानी सम्झौता भएका छन् भने ३ वटामा लगानीको घोषणा भएका हुन् । लगानी प्रतिबद्धताका रुपमा एक परियोजना रहेको छ भने सहकार्यको समझदारी भएका दुई परियोजना रहेका छन् ।

स्वदेशी निजी क्षेत्र भन्छः ‘विदेशी लगानीमा अनिवार्य स्वदेशी सहभागिता गराऊ’

लगानी सम्मेलनबाट उत्साही बनेको सरकारले नेपाल दक्षिण एसियामै उदाउँदो ताराका रुपमा आफूमाथि नै घोषणा गरेको छ ।

सरकारले आगामी दिनमा निरन्तरता दिने, विदेशी लगानीको सुसमन्वय तथा ब्युरोक्रेसीबाट समयमै काम तथा सेवा दिने गरेमा विदेशी लगानीकर्ता बढ्ने कुरामा दुई मत छैन ।

तर, स्वदेशी उद्यमीहरुले मुनाफा कमाएको देखिनसहने, छुस्सछुस्स अख्तियार लगाउने प्रवृत्तिबाट भने नेपाल माथि उठ्नु पर्ने स्वदेशी निजी क्षेत्रको सुझाव छ ।

विदेशी लगानीमा पनि स्वदेशी उद्यमीको हिस्सा किटान गरे मात्रै लगानी गर्ने वातावरण विदेशीलाई पनि निर्धक्क हुने र स्वदेशी पुँजीको पनि विकास हुने उनीहरुको भनाइ छ ।

विदेशी लगानीकर्ताले मुनाफा लैजादा नेपाली ढुकुटीमा पनि पैसा रहने, नेपाली उद्यमी पनि उद्यमीकै रुपमा विकास हुनका लागि विदेशी लगानीमा स्वदेशीलाई पनि अनिवार्य सहभागी गराउनु पर्ने नेपालको निजी क्षेत्रको माग छ ।

___

पढौं यो पनि 


लगानी सम्मेलन उपलब्धिमूलकः भए भटाभट सहमति, पूर्वाधार क्षेत्रमा एनआरएनको ऐतिहासिक लगानीमा हस्ताक्षर 

 

 

...

आइतबार, १७ चैत, ०७५

 

प्रतिक्रिया

Related