राडीपाखी बुनेरै उच्च शिक्षा हासिल

राडीपाखी बुनेकै रुपिँयाबाट +2 पास गरि विएड पढ्ने तयारीमा
निर्माण सञ्चार, जुम्ला । जुम्ला हिमा गाँउपालिका ७ कुडुकि मुनकला बुढाको प्राय दैनिकी अध्ययन र राडीपाखी बुन्दै बित्छ ।

२१ बर्षिया अबिवाहित मुनकला राडीपाखी ब्यवसायमा लागेको करीब २ वर्ष भयको छ । घरको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षाका लागि पढाई खर्च जुठाउन भन्दै उनि यो पेशामा लागेकि हुन् ।

पढाई र घरमा आईपर्ने काम बाहेक अन्यसबै समय उनको राडीपाखी बुनेरै बित्छ । कर्णालीमा छोरीले आफै राडीपाखी बुनेर पढाई खर्च जुटाएको सायद मिडियामा प्रकाशित यो पहिलो घटना हो ।

एसएलसी उतिर्ण भएपछि अध्ययनसँगै राडीपाखी बुन्दै गरेकि मुनकला अहिले कक्षा १२ पनि पास भईसकिन् । भने बिएड भर्नाको प्रतिक्षामा छन् ।

एसएलसी पास पछि राडीपाखी बुनेकै पैसाबाट ११/१२ पास गरिसके अब विएड पढ्ने तयारीमा छु । पढाई र व्यवसाय लाई संगै लिएर अघि बढ्ने उनको लक्ष्य छ ।

कच्चा पदार्थ भेडा बाख्राको उन जम्मा गर्न सके घरमै बसिबसि राडीपाखी बुन्न सकिन्छ । यो पेशालाई उनी सुःखको पेशाको रुपमा पनि लिन्छन् । राडीपाखी बुन्दा काठका विभिन्न सामाग्री प्रयोग गरीन्छ ।

‘राडीपाखी बुन्ने सिप सिक्न कुनै गाह्रो छैन, मैले पनि मेरो बुवाबाट सिकेकि हुँ’ उनले भनिन्, ‘शुरु शुरुमा मलाई सिप सिक्न लाज लाग्थ्यो, गाँउका दाजुभाईले पनि जिस्काउँथे, तर अचेल बानि परिसकेँ ।’

पैसाकै लागी विदेश भौतारीनु भन्दा परम्परागत पेशालाई ब्यवसायीक रुपमा अंगाल्न सके फाईदा हुने उनको अनुभव छ ।

एकल रुपमै राडीपाखी बुन्न थालेकि उनि बार्षिक दुईदेखि तीन लाखसम्म रकम आम्दानी गर्छिन् । तर यो पेशाप्रति भने युवा पुस्ताको आकर्षण घट्दो छ ।

बरु कामको खोजीमा देश विदेशसम्म भौतारीने तर परम्परागत पेशालाई नअंगाल्ने गरेका कारण यहाँका हजारौ युवा युवति बेरोजगार छन् ।

जसको कारण घर, समाज र उनिहरुलाई उच्च शिक्षा आर्जन गर्न समेत प्रत्यक्ष असर पुगेको छ । सामान्य लगानीमा राडीपाखी बनाउन थालेकि उनलाई देख्ने र भेट्नेजति अहिले सबै दंग छन् ।

पछिल्लो पुस्ताले वास्था नगरेको र अघिल्लो पुस्ताले समेत बिर्सदै गएको राडीपाखी बनाउने ब्यवसाय शुरु गरेपछि गाँउमा उनको प्रशंसा समेत निकै हुन्छ ।

‘मैले यो पेशा नअपनाएको भए पढ्नपनि मुस्किल हुन्थ्यो, मैले कमाएको रकमले १० जनाको परिवारलाई समेत घरखर्च चलेको छ’ उनले थपिन्, ‘राडीपाखी बुनेरै जम्मा गरेको पैसाले डिग्रि हाँसिल गर्ने सपना छ ।’

हाल उनले बुनेका प्रति राडीपाखी सात हजारदेखि १० हजारसम्मले बिक्रि हुने गरेका छन् । एउटा राडीपाखी बुन्न १० दिनसम्मको समय लाग्ने उनले बताईन् ।

उनका अनुसार बजारमा राडीपाखीको माग बड्दो छ । तर पुरर्याउनै मुस्किल छ । कुनै निकायको सहयोग पाए आफु जस्तै गाँउका अन्य साथीलाई पनि उद्यमि बन्न सिकाउने उनको अपेक्षा छ ।

अर्कोतिर रोग, भोग, गरिबि, अशिक्षा, छाउप्रथा र बालबिवाहले जगेडिएको कर्णालीका किशोरी तथा युवा पुस्तालाई आफ्नै गाँउठाँउमै केहि गर्न सकिन्छ भन्ने उनले दह्रो उदाहरण दिएकि छन् ।

उनको यो आँट र परिश्रम देखेर हिमा गाँउपालिका उपाअध्यक्ष हिमाली रोकायाले समेत प्रशंसा गरीन् ।

युवा पुस्तालाई गाँउमै उद्यमि तथा स्वरोजगार बनाउन आगामी आर्थिक बर्षमा विशेष बजेटको समेत ब्यवस्था गरीने उनको भनाई छ ।

...

सोमबार, १८ चैत, ०७५

प्रतिक्रिया

Related