नाकाबन्दी भन्दा डरालाग्दो : भारतीय घृणाको राजनीति —जीवन क्षेत्री

नेपाललाई भारतको समृद्धि र सबलताबाट हैन उसको दुर्बलताबाट बढी खतरा छ

भारतले गरेको अघोषित नाकाबन्दीले आहत नेपालीहरुमा राष्ट्रवादको पारो अचानक बढेर आएको छ। खास गरी सामाजिक सञ्जालतिर त्यस्तो राष्ट्रवादको विस्फोटक रुप देख्न सकिन्छ। सँगसँगै, हाम्रो अर्थतन्त्र भारतप्रति झण्डै परजीवी नै भएको अवस्थामा भोको पेट र राष्ट्रवाद कतिञ्जेल सँगसँगै जालान् भनेर प्रश्न गर्ने विश्लेषकहरु पनि देखिएका छन्। भारत–नेपाल व्यापारमा अहिले जुन अवरोध छ, त्यसलाई भारतले नाकाबन्दी भनेको छैन। तर नाम जे भए पनि भारतीय अवरोधले यहाँका शासकदेखि आम मानिससम्म सबैलाई प्रभावित गरेको छ। धेरैलाई अहिले थकथकी लागिरहेको छः हामी किन केहीमा पनि आत्मनिर्भर हुन सकेनौं? भुमण्डलीकृत विश्वमा निरपेक्ष आत्मनिर्भरता त सम्भव छैन नै, तर केही हप्ता वा महिनासमेत आफ्नो खुट्टामा उभिन नसक्ने हाम्रो निरीहताले अहिले धेरैलाई पोलेको छ।

तत्कालको भौतिक कठिनाइ त छँदैछ, दीर्घकालमा हेर्दाचाहिं हामी कति कमजोर र निरीह रहेछौं भन्ने यथार्थबोधले धेरै नेपालीहरुमा हीनताबोधको नयाँ ग्रन्थि सिर्जना गरिदिने देखिन्छ। अर्थात्, प्रकट वा अप्रकट रुपमा हामी जहिले पनि भारतको कृपा वा दयामा बाँचिरहेका रहेछौं भन्ने बोधले हामीलाई गाँजेर ल्याउनेछ। अमेरिकादेखि इराकसम्म, मलेसियादेखि कतारसम्म दुखजिलो गरेर हामी रेमिट्यान्स नेपाल पठाउन त सकौंला तर भारत दाहिना नभएसम्म हामी त्यसले इन्धन किनेर खाना पकाउन वा गाडी चढ्न नसक्ने रहेछौं भन्ने अब प्रमाणित भएको छ।

यो मनोविज्ञानले सकारात्मक प्रभाव छाड्नेहरु देशलाई आंशिक रुपमा भए पनि आत्मनिर्भर बनाउने माध्यम खोज्न लागीपर्ने छन् भने नकारात्मक प्रभाव छाड्नेहरु स्थायी रुपमा भारत–निन्दक बनेर राष्ट्रवादको नारा लगाइरहनेछन्। तर यो लेखको विषयचाहिं फरक हो। नाकाबन्दीले अस्तव्यस्त नेपालको आँखाबाट हेर्ने हो भने भारत एउटा हल्लाउनै नसकिने महाशक्तिका रुपमा देखिन सक्छ। नेपालभन्दा भौगोलिक रुपमा झण्डै २३ गुना र जनसाँख्यिक रुपमा झण्डै ४० गुना ठूलो भारत वार्षिक आर्थिक वृद्धिदरदेखि प्रतिव्यक्ति आयसम्मका सुचकांकहरुमा हामीभन्दा धेरै माथि छ। सैन्य शक्ति, औद्योगिक क्षमता र प्रविधिको विकासमा पनि भारतसित नेपालको तुलना हुनै सक्दैन। यो यथार्थले धेरै नेपालीलाई भारतको शक्ति र सबलतासित त्रस्त बनाइदिएको छ।

भारतीय चुनौती सामना गर्न चीनसित नजिकिनुपर्ने सुझाव दिने पण्डितहरु बग्रेल्ती देखा परेका छन्। यो आलेखको केन्द्रीय तर्क के हो भने, हामीले भारतको सबलता र शक्तिसित तर्सनु व्यर्थ छ, किनकि त्यो डरले हामीलाई कहीं पुर्याउँदैन। आफ्नो अक्षमताले उसको अनुचित प्रभावलाई यता निम्तो दिइरहने र हामी अन्तहीन अस्थिरता र तरलतामा रहिरहने हो भने मात्र समृद्धिसित जोडिएको भारतको सबलता हाम्रा लागि चुनौती हो। नत्र अहिले पनि त्यो नेपालका लागि एउटा अवसर हो र भविष्यमा पनि अवसर नै रहिरहनेछ। भारतको सन्दर्भमा हामी डराउनुपर्नेचाहिं केसित हो भने उसका दुर्बलता र कमजोरीसित।

त्यो किन भने हामीले राष्ट्रवादका नारा जति चर्को उराले पनि दक्षिण एसियाको भुराजनीतिक यथार्थबाट हामी भाग्न सक्दैनौं। उताको अवरोह, धार्मिक–साम्प्रदायिक विग्रह, हिंसा अनि दण्डहीनताका दुष्प्रभाव अनिवार्य रुपमा नेपालमा पर्छन्। बलियो र विशाल भारत अनि निर्धो र सानो नेपाल यहाँका अपरिवर्तनीय यथार्थ हुन् अनि आर्थिक प्रगति गरिरहेको भारत र अन्तहीन कंगालीकरणले गाँजेको नेपाल यहाँका परिवर्तनीय यथार्थ हुन्। भारतका डरलाग्दा दुर्बलता दुई दिन अगाडि दिल्ली नजिकै ग्रेटर नोएडाको दादरी इलाकामा गोरुको मासु घरमा राखेको आरोपमा मोहम्मद अखलाक नामक व्यक्तिलाई भीडले इँट्टाले हानीहानी मार्यो र उनका छोरालाई सख्त घाइते बनायो। स्थानीय पुजारीले मन्दिरको माइकबाट अखलाकले गोरुको मासु खाएको वा घरमा राखेको घोषणा गरेपछि उक्त हत्या भएको भए पनि टाइम्स अफ इण्डियाका अनुसार पुजारीले उक्त घोषणाचाहिं गाउँकै दुईजना युवाको दबाबमा गरेका थिए। नरेन्द्र मोदीले चुनावताका देखाएको विकसित र समृद्ध भारतको सपना र व्यवहारमा अहिलेको भारतले लिएको दिशाबीच जुन खाडल छ, त्यो खाडल क्षणिकबाट स्थायी प्रकृतिको बन्दै गइरहेको सुचकका रुपमा मैले अखलाक हत्याकाण्डलाई लिएको छु। जसरी अमेरिकामा बाराक ओबामाले परिवर्तनको सपना देखाएर दुई पटक चुनाव जिते, उसरी नै भारतमा पनि मोदीले चुनाव जिते।

तर अमेरिकी मतदाताले देखेको परिवर्तनको सपना र भारतीय मतदाताले देखेको परिवर्तनको सपनामा आकाश–पातालको फरक थियो। सम्भावना हुँदाहुँदै पनि पछि परेको सवा अर्ब मानिस बस्ने भारतले मोदीजस्ता चामत्कारिक प्रशासनिक क्षमता भएका मानिसको नेतृत्वमा परेपछि रातारात नै नभए पनि एकाध वर्षमा ठूलो फड्को मार्नेछ, भ्रष्टाचार र गरिबी स्वाट्टै घट्नेछन् अनि दैनिक जीवनमा ठूलो राहत मिल्नेछ भन्ने आम भारतीयहरुको अपेक्षा थियो। मोदीको सिंगो कार्यकाल कस्तो रहला भनेर अनुमान लगाउने बेला अझै भएको छैन तर भारतमा उनको शासनका प्रारम्भिक लक्षणहरु उत्साहजनक रहेका छैनन्। देशको अर्थनीतिमा आधारभुत सुधारहरु गर्दै ठूला नयाँ लगानीहरुमार्फत् करोडौं नयाँ रोजगारी सिर्जना गर्ने र तीव्र आर्थिक वृद्धि हासिल गर्ने मोदीको योजना अद्यापि कायम छ तर जुन गतिमा उनले सुधार र विकासलाई अघि बढाउलान् भन्ने मानिसहरुको अपेक्षा थियो, त्यो पूरा हुन सकेको छैन। परिणामः मोदी, उनको दल भाजपा र त्यसको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) निरन्तर वैधताका लागि आर्थिक विकासबाहेकको ‘हिन्दुत्व’ भनिने वैकल्पिक एजेण्डाको वैशाखी टेक्न बाध्य छन्।

गौरक्षाका नाममा भारतभर मानिसलाई निर्मम यातना दिंदै मच्चाइएको वितण्डादेखि ‘लभ जिहाद’ र ‘घर वापसी’जस्ता अभियानहरु त्यही वैशाखीका आयामहरु हुन्। खास गरी चुनावहरु अघि विभिन्न राज्यमा चर्काइने साम्प्रदायिक तनाव र बेलाबेलामा भड्काइने साम्प्रदायिक हिंसाले त कतै भारतको ठूलो भुभागमा विकास र संभावनाको राजनीतिलाई घृणा र हिंसाको राजनीतिले विस्थापित गर्दै त छैन भन्ने प्रश्न उठाइदिएको छ।

पछिल्लो समयमा स्थानीय पञ्चायतको चुनाव अघि जसरी दादरीमा अखलाक मारिए, त्यसले यो प्रश्नलाई अझ पेचिलो बनाइदिएको छ। धर्म निन्दाको राजनीति यही वर्ष मार्च महिनामा अफगानिस्तानको राजधानी काबुलमा कुरान जलाएको अभियोगमा एक २७ वर्षे महिला फर्खुण्डालाई भीडले सडकमै कुटेर मार्यो। पछि फेला परेका तथ्य अनुसार ती महिलाले कुरान जलाएको हैन बरु स्थानीय मस्जिदका मुल्लाहले फैलाएको अन्धविश्वासको खण्डन गरेकाले त्यसको बदला लिन मुल्लाहले भीडसामू उनलाई उक्त आरोप लगाएका थिए। २०१२ अगस्टमा पाकिस्तानी प्रहरीले कुरान जलाएको अभियोगमा क्रिश्चियन परिवारकी ११ वर्षीया बालिकालाई पक्राउ गर्यो। तिनको अपराध थियोः झोलामा कुरानका केही पानाहरु पनि हुनु।

मुस्लिमहरुको आक्रोशित भीडले क्रिश्चियन बस्ती नै जलाइदिने धम्की दिएपछि ती बालिकालाई पक्रन र सुरक्षाका लागि उनको सिंगो परिवारलाई हिरासतमा लिन आवश्यक परेको मात्र थिएन करीब ६०० क्रिश्चियन धर्मावलम्बीहरु विस्थापित नै भएका थिए। समाचारहरुमा जनाइएअनुसार ‘डाउन सिन्ड्रोम’नामक वंशानुगत समस्याबाट ग्रस्त ती बालिकाको मानसिक अवस्थासमेत सुस्त थियो। सन् १९८६ अगस्टमा इरानको कुपाये नामक गाउँमा सोराया मनुचेरी नामक ३५ वर्षे महिलालाई ढुंगाले हानीहानी मारियो। कारणः उनका श्रीमान्ले उनलाई परपुरुषसित सम्बन्ध राखेको आरोप लगाए। उक्त आरोप लाग्नुको कारणचाहिं ७ सन्तानकी आमा सोरायाले त्यस्तो अनैतिक सम्बन्ध राख्नु हैन कि आपराधिक पृष्ठभुमिको उनको श्रीमान्लाई अर्की १४ वर्षे बालिकासित बिहे गर्न मन लाग्नु र अंश छुट्याएर पारपाचुके गर्नभन्दा उनलाई मार्नमा फाइदा हुने उसको निक्र्योल थियो। अफगानिस्तानदेखि इरानसम्म अनि साउदी अरेबियादेखि पाकिस्तानसम्म, धर्म वा धर्मशास्त्रको निन्दा वा अपमान गरेको आरोपमा एक मानिसले अर्कोलाई मार्ने अवस्था भएका देशहरुको सूची लामो छ । तर ती देशको सुचीमा भारत पनि सामेल हुनु, खास गरी नेपालका लागि, एकदम दुखको कुरा हो किनकि दक्षिणी छिमेकका असल कुराहरु हामीकहाँ ढिलो गरी पुग्ने गरेका छन् तर खराब कुराहरुचाहिं तीव्रताका साथ। अझ दुखद् कुरा त के भने, अखलाकको हत्या गरिएको घटना अहिलेको भारतमा एक्लै आएको छैन।

गाइ रक्षाको नाममा मानिसलाई चरम यातना दिने भिजिलान्तेहरुले अभियान बिस्तारका लागि अरु युवालाई आकर्षित गर्ने अभिप्रायले युट्युबमा अपलोड गरेका गाइवस्तु ओसारपसार गर्ने मानिसलाई दिइएको क्रुर यातनाका भिडियोहरु अहिले इराक र सिरियामा इस्लामिक स्टेट नामक आतंकवादी संगठनले सार्वजनिक गर्ने गरेका भिडियोहरुसित तुलना गर्न थालिएका छन्।

त्यसबाहेक, अखलाकको हत्या मात्र भएन, उनका हत्याराहरुको बचाउमा सत्तापक्षीय दलका नेताहरु अहिले खुलेआम लागिरहेका छन् र यही घटनाले उत्पन्न गरेको साम्प्रदायिक ध्रुवीकरणको पुल तरेर आसन्न पञ्चायत चुनाव जित्ने प्रपञ्च भइरहेको सार्वजनिक भएको छ। अखलाकको परिवारले दाबी गरेझैं उनीहरुको घरमा भेटिएको मासु गाइ वा गोरुको नभई खसीको हुने र त्यो अफवाहचाहिं गाउँमा उनीहरुसित रिस भएको कसैले यत्तिको फैलाएको वा चुनावी फाइदाका लागि कसैले सुनियोजित रुपमा फैलाएको भए त्यसमा अनौठो मान्नुपर्ने छैन। पाकिस्तानको बाटोमा भारत भारतले स्वतन्त्रतासँगै रक्तपातपूर्ण विभाजन भोगेयता भारत र पाकिस्तानले फरक फरक बाटोहरु लिए। विविध चुनौतीबीच पनि भारतले राज्य सञ्चालनमा धर्मलाई भुमिका नदिएर बहुलता कायम राख्यो भने शुरुमा मुस्लिम–बहुल धर्म निरपेक्ष रहेको पाकिस्तान राजनीतिक अस्थिरता हुँदै इस्लामिक राष्ट्र बन्न पुग्यो।

आफ्नो क्रुर तानाशाही व्यवस्थाको वैधताका लागि धर्मको अतिवादी रुपको वैशाखी टेकेका तानाशाह जिया उल–हकको शासनपछि त पाकिस्तान गैर–मुस्लिमद्वेषी मात्र भएन महिलाहरुको उत्पीडन अचाक्ली र संस्थागत हुन पुग्यो। त्यो पृष्ठभुमिमा अमेरिका नेतृत्वको आतंकवादविरुद्धको लडाइँमा संसारभरका मुस्लिमहरुहरु तारो बनाइएपछि जुन धार्मिक अतिवाद र सशस्त्र विद्रोह फैलियो, त्यसले पाकिस्तानलाई विश्वकै सबैभन्दा डरलाग्दा ठाउँमध्ये एक बनाइदियो। गरिबीमा सशस्त्र युद्धको थप मार परेपछि त्यसले समाजमा ध्रुवीकरण चर्कियो र धार्मिक अतिवादले प्रश्रय पायो। जियाको शासनकालदेखि संस्थागत भएको धर्म निन्दा वा ‘ब्लास्फेमी’ (उर्दुमा ‘कल्मा कुफर’) सम्बन्धी कानुनको यति दुरुपयोग हुन थाल्यो कि कसैसित, खास गरी गैर–मुस्लिम समुदायको सदस्यसित, बदला लिनु पर्यो भने भीडमा गएर निन्दाको आरोप लगाए पुग्ने भयो। त्यति मात्र हैन, धर्मको पुरातन र रुढ संस्करणले समाजमा कति गहिरो जरा गाड्यो भने ती कठोर र मानवद्वेषी कानुनमा सुधार गर्नुपर्ने आवाज उठाएका कारण पञ्जावका तत्कालीन गभर्नर सल्मान तसिर र पाकिस्तानका तत्कालीन अल्पसंख्यक मामिला मन्त्री सहवाज भट्टीको हत्या भएपछि समाजमा दुवैका हत्याराहरु नायकका रुपमा लिइए।

सल्मान तसिरको हत्यापछि त टेलिभिजनको प्रत्यक्ष प्रसारण भएको बहसमा एक मौलवीले गर्वसाथ भनेका थिएः सल्मान तसिरको रगत मेरो हातमा भइदिएको भए कस्तो हुन्थ्यो, उसलाई म मेरै हातले मार्न चाहन्थें। छुवाछुत, अन्धविश्वास र धर्मको नाममा हुने ठगीको विरोधमा जब भारतमा नरेन्द्र धबोल्कर र गोविन्द पान्सरेजस्ता सुधार अभियन्ताहरु गोली हानेर मारिए र तिनका हत्याराहरुले पञ्चखत माफी पाउने अवस्था सिर्जना भयो, त्यसले मलाई पाकिस्तानमा तसिर र भट्टीको नियतिको याद दिलायो।

सिंगापुर वा ताइवानको बाटोमा भारतलाई लैजाने वाचा गरेका नरेन्द्र मोदीले कतै भारतलाई पाकिस्ताको बाटो लैजाँदै त छैनन् भन्ने गहन प्रश्न उठेको छ अहिले। विकासको असली रुप कुनै बेला चर्को गरिबी र अशान्तिका लागि चिनिएको, असीको दशकमा भोकमरीबाट दश लाख मानिसको मृत्यु व्यहोरेको र सन् १९९१ मा विखण्डन भोगेको इथियोपिया अहिले मुहार फर्ने क्रममा छ। जब नेपालमा संविधान जारी हुनुअघि नयाँ संविधानबारे बहस घनीभुत हुँदै थियो, त्यही बेला पत्रिकाको बिजनेश पृष्ठमा एउटा समाचार थियोः इथियोपियाको राजधानी अदिस अबाबामा चीनले बनाइदिएको ट्राम सेवाको भव्य उद्घाटनबारे। अस्तव्यस्त र जीर्ण सडकमा जो एकदेखि डेढ घण्टा लगाएर मिनिबसहरुमा खाँदिएर यात्रा गर्दै अफिस पुग्थे, उनीहरु अब आरामसित बीस मिनटमा त्यही यात्रा गर्न सक्नेछन्। दैनिक लाखौं मानिसको त्यसरी समय बच्नु भनेको उनीहरुको उत्पादकत्व बढ्नु मात्र हैन, समग्रमा उनीहरुको जीवनशैली नै बदलिनु हो।

इथियोपिया विकसित देश त हुँदै हैन, उत्कृष्ट राजनीतिक व्यवस्था, सुशासन, व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारका लागि चिनिएको मुलुक पनि हैन। छिमेकीसित चौपट्ट राम्रो सम्बन्धका कारण शान्ति र समृद्धिको बाटो खुलेको नमुना मुलुक पनि त्यो हैन। अहिले पनि गरिबीको चर्को समस्या छ त्यहाँ, समाज अझै कति पिछडिएको छ भन्ने एउटा सानो उदाहरणः २००३ को तथ्यांकले देशभरमा ६९ प्रतिशत विवाहहरु केटीलाई अपहरण गरेर हुने गरेको देखाएको थियो। तर विविध चुनौतीबीच पनि असफल वा असफलता–उन्मुख देशहरु सोमालिया, सुडान र इरिट्रियाबाट घेरिएको र इरिट्रिया अलग्गै भएपछि भुपरिवेष्ठित बन्न पुगेको इथियोपिया २००४ देखि २००९ सम्म १० प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्न सफल भयो। विभिन्न आन्तरिक र बाह्य कारणले २०१२ तिर आउँदा केही खुम्चिएको आर्थिक वृद्धिदर २०१३ मा फेरि १०.३ प्रतिशत पुगेर इथियोपियालाई अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वकै तीव्रतम वृद्धिदर भएका पाँच राष्ट्रको सुचीमा राखेको छ। चीनले अदिस अबाबामा बनाइदिएको अफ्रिकन युनियनको भव्य हेडक्वार्टर (लागतः करीब २० करोड डलर, पूरै चिनियाँ अनुदान) पछि सोही शहरमा सुचारु भएको ट्राम सेवा इथियोपियाको भविष्यका सांकेतिक विम्बका रुपमा देखा परेका छन्। नेपालः कुन बाटो लिने? अदिस अबाबाको ट्राम वा लाइट रेलवे उद्घाटनसम्बन्धी समाचार पढेपछि मेरो मनमा उठेको पहिलो अप्ठेरो सवालः समुद्र पारको अर्को महादेशमा झण्डै ४६ करोड डलर खर्चमा (त्यसको उल्लेख्य हिस्सा चीनको एक्जिम बैंकले लगानी गरेको थियो) त्यत्रो योजना सम्पन्न गर्ने चीनले नेपालको काठमाडौंलाई त्यही दृष्टिले किन हेर्दैन? वा भनौं, काठमाडौं वा अर्को कुनै नेपाली शहर चिनियाँ लगानीका लागि त्यस्तै आकर्षक गन्तव्य किन बन्न सक्दैन?

नेपाललाई रातारात सिंगापुर वा स्वीजरल्याण्ड बनाउने उडन्ते सपना देख्ने र राज्यको खर्चमा ती मुलुक डुल्न जाने नेताहरुले एकपटक आधुनिक विश्व अर्थव्यवस्थाको आधारभुत शिक्षा लिएर इथियोपियाको शैक्षिक भ्रमणमा जानु आवश्यक छ। सुरक्षाको प्रबन्ध हुन सकेमा अहिले प्रगति गर्दै गरेको इथियोपिया र दशकौंदेखि असफल अवस्थामा रहेको छिमेकी सोमालियासमेत पुगेर दुईबीचको फरक हेर्ने हो भने त्यसले नेपालको नेतृत्वलाई गहन पाठ सिकाउने निश्चित छ। अहिले हामी यस्तो दोबाटोमा उभिएका छौं जहाँबाट एउटा बाटो लागे भोलि अदिस अबाबादेखि आएजस्तै समाचारहरु काठमाडौं र विराटनगरबाट आइरहनेछन् र हामी चुनौतीबीच पनि समृद्धिको दिशा लिनेछौं, अर्को बाटो लाग्यौं भने दादरी बाट आएजस्ता समाचारहरु वीरगञ्ज र नेपालगन्जबाट आइरहनेछन् र अशान्ति र रक्तपातमा अरु कैयौं अमूल्य दशकहरु खेर जानेछन्।

त्यति मात्र हैन, सुशासन र जवाफदेहिताको स्थापना गरेर संभावनाहरुको सिर्जनामार्फत चुनाव जित्ने कठिन बाटो अपनाउनको सट्टा साम्प्रदायिक दंगा गराएर त्रास र घृणा बेचेर चुनाव जित्ने सरल बाटो आम रुपमा प्रयोग हुन थाल्यो भने भारतको समेत समग्र प्रगतिको बाटो अवरुद्ध हुनेछ।

भारतले त्यसरी लौकिक ‘नरक ’को बाटो समायो भने त्यसका बाछिटाबाट बच्न हामीलाई मुस्किल हुनेछ। त्यो अवस्थामा कमलनयनाचार्य मार्काका धर्मका व्यापारीहरु विगतको संक्रमणकालमा झैं फेरि नेपालको राष्ट्रिय राजनीतिको मुलधारमा आउनेछन्। हैन र यदि ढिलै भए पनि यो भयावह सम्भावनालाई ध्यानमा राख्दै मोदीले धार्मिक र साम्प्रदायिक अतिवादलाई नियन्त्रण गरे अनि सुधार र विकासमार्फत नै वैधता खोज्ने कठिन तर जायज बाटो लिए, भारतले तीव्र रुपमा आर्थिक समृद्धि हासिल गर्यो भने त्यो हाम्रा लागि पनि अवसर भएर आउनेछ। त्यसलाई सदुपयोग गर्न सक्ने र नसक्नेचाहिं त्यो समयको नेपालको नेतृत्वको कुशलतामा भर पर्नेछ। यो हो हाम्रो ऐतिहासिक दोबाटो। ऐतिहासिक उथलपुथलको पृष्ठभुमिमा नेपालका लागि यो सहजै देखिने दोबाटो हो भने भारतका लागि चाहिं झट्ट हेर्दा नदेखिने तर महत्वपूर्ण दोबाटो। स्थानीय पञ्चायतको चुनाव र प्रान्तीय सरकारको चुनावमा साम्प्रदायिकता र घृणालाई हतियार बनाउँदै जाने हो भने भोलि भारतीय जनता पार्टीलाई संघीय चुनावमा पनि तिनै हतियार अपनाउनु आवश्यक हुनेछ। अहिले नै सम्हालिन मुस्किल परेको नेपालले त्यस्तो प्रतिकुल अवस्थामा भारतीय राजनीतिको प्रमुख चरित्रलाई नकार्न झनै मुस्किल पर्नेछ।

यही सेप्टेम्बर २९ गते दि इकोनोमिस्ट पत्रिकाले ‘नरेन्द्र मोदी टेक्स अन सि जिन्पिङ चाइना इन अ सफ्ट पावर ब्याटल इन अमेरिका’ शीर्षक एउटा विश्लेषण छाप्यो। विश्लेषणको निश्कर्षः आर्थिक समृद्धिबाट निःसृत हुने सफ्ट पावरमा अहिले जिन्पिङको चीनभन्दा मोदीको भारत निकै पछि छ तर भविष्यको कुरा अर्कै हुन सक्छ। अमेरिकासित नजिकिंदै गरेको भारतसित लोकतन्त्रको बलियो साथ हुनु, मोदीसित आप्रवासी भारतीय समुदायको बलियो साथ हुनु र चीन अमेरिकाको प्रतिद्वन्दीका रुपमा दरिंदै जानुले सफ्ट पावरको लडाइँमा अन्ततः मोदीको हात माथि पर्ने उक्त लेखको निश्कर्ष छ।

उक्त निश्कर्षलाई सही प्रमाणित गर्ने हो भने भारतमा मोदीले तत्काल सुशासन र सुधारको प्रक्रियालाई गति दिंदै साम्प्रदायिकता र घृणाको राजनीति बन्द गर्नुपर्छ। शाकाहारी हिन्दु मुख्यमन्त्री भएकैले प्रदेशभरका करोडौं बालबालिकालाई स्कुलको फ्री लन्चमा अण्डासमेत खान बन्देज लगाएर बरु कुपोषणलाई प्रश्रय दिने कामले भारतको सिंगो पुस्ताको भविष्य अँध्यारो बनाएको आरोप लगाउँछन् धेरै विश्लेषकहरु अहिले। एउटा निर्दोष व्यक्तिलाई मार्ने, त्यसैको भरमा साम्प्रदायिक तनावको स्थिति सिर्जना गर्ने र मानिसहरुमा भयको अवस्था सिर्जना गरेर चुनाव जित्ने रणनीति पनि उत्तिकै प्रत्युत्पादक छ।

त्यस्तै नेपालले चाहिं आफूभित्रका वास्तविक समस्या समाधान गर्नको सट्टा बलियो र हस्तक्षेपकारी भारतको हाउगुजी देखाएर निरर्थक उग्र–राष्ट्रवादलाई प्रश्रय दिनु व्यर्थ छ। भारतको समृद्धि र शक्तिसित त्रसित हुने हैन कि भारत र चीनलगायतका उदाउँदा आर्थिक शक्तिहरुबाट लगानी आउने वातावरण सिर्जना गरी आर्थिक समृद्धिको बाटो समाउनु आवश्यक छ। त्यस हिसाबले कुनै बेला चरम गरिबीका लागि चिनिएको अहिलेका इथियोपियालाई रोल मोडल मान्न हिच्किचाउनुपर्दैन। अर्कोतिर संविधान जारी गर्दाताका उत्पन्न विग्रह, अशान्ति र घृणाको आदानप्रदान संस्थागत नहुँदै यसलाई निमिट्यान्न पारेर अहिले विरोधरत राजनीतिक शक्तिहरुसित समेत सहकार्यको नयाँ चरणमा प्रवेश गर्दै सही अर्थको सद्भाव र मेलमिलापको स्थिति सिर्जना गर्न ढिला गर्नु हुँदैन। त्यसो नभएर स्थिति तरल रहिरहने हो भने दक्षिणी छिमेकमा विकास भइरहेको त्रास र घृणाको ध्वंशक राजनीतिक हतियार हामीकहाँ पनि आम रुपमा प्रयोग भइरहने खतरा टड्कारो रहन्छ।

त्यसो गर्न जति ढिलो भयो, उति नै हामी थप दिग्भ्रमित हुने र आफ्नो असफलता लुकाउन वहाना खोज्दै हिंड्ने अवस्था कायम हुनेछ। त्यो अवस्थामा थाहै नपाइ क्षेत्रीय, जातीय, धार्मिक लगायतका आधारमा समाज थप विभाजित हुने र विकासको सिर्जनात्मक एजेण्डाले हैन, त्रास र घृणाको ध्वंशात्मक एजेण्डाले हाम्रो राजनीतिलाई निर्देशित गरिरहनेछ।

जीवन क्षेत्री South Asia and Beyond नामक ब्लगमा नियमित लेख्छन्।

प्रतिक्रिया

Related