पत्रकार दीक्षितको ‘लुकाइएको’ जग्गाको रहस्य र अख्तियारको छानबिनको कथा

निर्माण सञ्चार, काठमाडौं । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा रहेको गैरकानुनी ढंगले लुकाएर राखिएको १८ रोपनी जग्गा सरकारको नाममा ल्याउन अख्तियारले भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।

रानी जगदम्बाकुमारी राणाबाट सरकारको नाममा आउनुपर्ने जग्गा दीक्षित परिवारले आफ्नो नाममा सारेको प्रमाणसहित अख्तियारले गत आईतबार मन्त्रालयलाई निर्देशन दिएको स्रोतले जानकारी दिएको छ । मदन पुरस्कार पुस्तकालय र जगदम्बा प्रेसका नाममा रहेको जग्गा मात्र होइन, पाटन क्याम्पसको नाममा रहेको जग्गा पनि दीक्षित परिवारले आफ्नो नाममा सारेको अख्तियारको दाबी छ ।

कसरी भेटियो त जग्गा ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीक्षितमाथिको अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमाथिको छानविनका क्रममा दीक्षित परिवारले सरकारको हक कायम हुने पुल्चोकस्थित करिव १८ रोपनी जग्गा अनधिकृत रुपमा लुकाएको भेटिएको हो ।

अख्तियार स्रोतले बताए अनुसार जेठ १६ गते बसेको अख्तियारको बैठकले साझा अध्यक्ष दीक्षित र उनको परिवारले लुकाई राखेको १८ रोपनी जग्गा तत्काल नेपाल सरकारका नाममा कायम गर्न भूमी सुधार तथा व्यवस्था मन्त्रालयलाई पत्र पठाएको थियो ।

अख्तियार स्रोतका अनुसार दीक्षित परिवारको अकुत सम्पत्ति छानविनका क्रममा फेला परेको हो । अख्तियारको खोजीमा ललितपुरको पुल्चोकस्थित श्रीदरबार श्रीमहल परिसर र उपत्यकाको विभिन्न स्थानमा रहेका ५९८ रोपनी जग्गा मध्ये ५८ रोपनी जग्गा आफूले राखेर रानी जगदम्बाले बाँकी सम्पूर्ण जग्गा नेपाल सरकारका नाममा कायम गरिदिन स्वेच्छिक घोषणा गरेके भेटिएको छ । २०२१ सालमा भूमी सुधार ऐन लागू भएपछि हदबन्दी भन्दा माथि रहेको जग्गा यसरी नेपाल सरकारको नाममा कायम गरिदिन रानी जगदम्बाले घोषणा गरेकी थिइन ।

स्रोतका अनुसार रानी जगदम्बाले आफना वारेस लक्ष्मीप्रसाद देवकोटामार्फत २०१८ सालमा नै पाटन क्याम्पसलाई चन्दा स्वरुप दिने भनि घोषणा गरेको ५ रोपनी २ पैसा जग्गासमेत दीक्षित परिवारले लुकाएको देखिएको छ । दीक्षित परिवारले सो जग्गा मध्ये २ रोपनी १ आना ३ पैसा जग्गा जगदम्बा प्रेसका नाममा र २ रोपनी ६ आना जग्गा मदन पुरस्कार पुस्तकालयका नाममा गैरकानुनी रुपले नामसारी गरी लुकाइएको पाइएको हो ।

त्यस्तै रानी जगदम्बाले हदबन्दी भन्दा बढि भई नेपाल सरकारको नाममा दिने भनि घोषणा गरेको आफनो जग्गा मध्ये कित्ता नम्बर ८६ बाट दीक्षित परिवारका मुली कमलमणी दीक्षितले जालसाझी गरी विभिन्न कित्ताकाट गर्दै क्रमशस् आफना बहिनीज्वाईं चन्द्रशेखर ज्ञवालीलाई १० आना र स्वयं कमलमणिले आफ्ना नाममा ४ रोपनी ९ आना ३ पैसा जग्गा अनाधिकृत दर्ता कायम गरेको समेत छानविनको क्रममा पाइएको अख्तियारको खोजीमा भेटिएको छ ।

यसरी जालसाझी पूर्वक हात पारेको सो जग्गामध्ये कमलमणि दीक्षितले होटल ओएसिसको नाममा २ रोपनी ११ आना ३ पैसा, आफ्नै छोरा कुन्दमणि दीक्षितको नाममा २ रोपनी ८ आना र कनकमणि दीक्षितका नाममा १ रोपनी १३ आना समेत हक हस्तान्तरण गरेको पाइएको अख्तियार स्रोतले बतायो । होटल ओएसिस दीक्षित परिवारकै स्वामित्वमा रहेको छ । त्यसरी नै कमलमणि दीक्षितले ललितपुरस्थित भूमिसुधार कार्यालयमा २०२१ माघ २ गते आफनो अचल सम्पत्ती घोषणा गर्ने क्रममा फाँटवारी पेश गर्दा रानी जगदम्बाबाट हत्याएको २४ रोपनी जग्गा मध्ये आफू र आफनो परिवारको नाममा १२ रोपनी जग्गा मात्र भएको विवरण पेश गरेको अख्तियारको छानविनमा देखिएको अख्तियारको खोजीमा देखिएको छ ।

दीक्षितले त्यसरी फाँटवारीमा विवरण उल्लेख नगरेको जग्गा मध्ये ५ रोपनी १ पैसा जग्गा गैरकानूनी रुपमा आफनो नाममा दर्ता गरेको पाइएको छ ।

के छ त कानुनी प्रावधान

भूमिसुधार ऐन अनुसार ७ नम्बर फाँटवारीमा उल्लेख नगरेको त्यस्तो जग्गा सरकारले अनिवार्यतस् जफत गर्ने प्रावधान रहेको छ ।

दीक्षित परिवारले लुकाएको जग्गा मध्ये अर्को भूमि सम्बन्धी ऐन २०२१ बमोजिम हदवन्दी भन्दा बढि भई नेपाल सरकारका नाममा कायम हुनु पर्ने २ रोपनी ७ आना जग्गा कमलमणि दीक्षितका बहिनीज्वाईं चन्द्रशेखर ज्ञवालीका नाममा गैरकानूनी दर्ता भएको पाइएको अख्तियारले जनाएको छ ।

ज्ञवालीबाट उक्त जग्गा २०३८ सालमा होटल नारायणी प्रा.लि पुल्चोकको नाममा र होटल नारायणीबाट २०४२ सालमा होटल ओएसिस प्रालि पुल्चोकको नाममा पुन हक हस्तान्तरण भएको पाइएको छ । मदन शम्शेरको निधनपछि दीक्षित परिवारले षडयन्त्रपूर्वक रानी जगदम्बालाई बन्दक बनाई नेपालतर्फको सम्पूर्ण सम्पत्ति हत्याएको दावी गरिएको छ ।

यसरी स्वर्गीय मदन शम्शेरको अपूताली समेत षडयन्त्रपूर्वक हत्याएको दीक्षित परिवारले नेपाल सरकारको नाममा कायम हुनु पर्ने १८ रोपनी जग्गा गैरकानूनी ढंगबाट लुकाएको पाइएबाट दीक्षित परिवारको नियत माथि प्रश्न उठेको अख्तियारका अधिकारीहरु बताउँछन् । दीक्षित परिवारको स्वदेश तथा विदेशमा रहेको थप अकुत सम्पत्तिमाथि छानबिन भइरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Related