‘जस्ताको तस्तै दुरुस्तै, बलियो प्रशस्तै’ भन्नेजसरी नै बन्ने छ सम्पदा ढुक्क हुनुस्

निर्माण सञ्चार, काठमाडौं । विनाशकारी भूकम्पले २० जिल्लामा ७५० वटा सम्पदातहरु क्षतिग्रस्त भएका छन् । क्षतिग्रस्त हुन पुगेकोमध्ये १३९ पूर्णरुपमा र ६११ आंशिक क्षति भएको तथ्यांक पुरातत्त्वभिगाले जनाएको छ । त्यसमध्ये विश्वसम्पदामा सूचीकृत उपत्यकाका ७ सम्पदाहरु भने गम्भीर क्षति पुगेको छ । आर्थिक वर्ष ०७३/७४ को बजेटले पुनःनिर्माण र पुनःस्थापनाका लागि १ खर्ब ४० अर्ब ६६ करोड बजेट विनियोजन गरेका छ तर सम्पदा पुनःनिर्माणकै लागि कुनै शीर्षक भने निर्दिष्ट गरेको छैन् । क्षतिग्रस्त सम्पदाको पुनःनिर्माणको लागि नियमित बजेट सिलिङ २७ करोड रहेको छ । सम्पदाको पुनःनिर्माण विषयमा पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालसँग निर्माण सञ्चारले गरिएको कुराकानीको कही अंश–

आरम्भ

वर्तमान ओली सरकारले ‘मेरो धरहार म बनाउँछु’ जस्तै लोकप्रिय नारा सहित भूकम्प पछिको पुनःनिर्माणका लागि पञ्चवर्षीय विस्तृत कार्यक्रम खाका गत वैशाख ३१ गते दातृ निकायसमक्ष पेस गरेको छ । तत्कालीन राष्ट्रिय योजना आयोगले भूकम्पलगत्तै पिडिएनए सार्वजनिक गर्दा ७ खर्ब ६ अर्ब बराबर क्षति भएको र पुनःनिर्माणका लागि ६ खर्ब ६९ अर्बको रकम लाग्ने आँकलन प्रस्तुत गरेकोमा अहिले पुनःनिर्माण र पुनःस्थापनाका लागि ८ खर्ब ३८ अर्ब रुपियाँ लाग्ने सरकारको प्रक्षेपण छ । यो १ खर्ब ६९ अर्बले बढको तथ्यांक हो । तत्कालीन पिडिएनएले १९ अर्ब २२ करोड बराबर क्षति भएको बताउँदै सम्पदा क्षेत्र पुनःनिर्माणका लागि २० अर्ब ५६ करोड आवश्यक रहेको बताएको थियो । जसमा भूकम्प प्रभावित २० जिल्लाको डाटा अनुसार ७५० सम्पदाहरु क्षतिग्रस्त हुन पुगेको, १३९ पूर्णरुपमा क्षति भएको तथ्यांक पुरातत्त्वभिगाले प्रस्तुत गरेको थियो । त्यसमध्ये ६११ आंंशिक क्षति भनिएकोमा विश्वसम्पदामा सूचीकृत उपत्यकाका ७ सम्पदाहरु भने गम्भीर क्षति पुगेको बताइएको छ । तत्कालका लागि ३५ करोड माग गरिए पनि पुनःनिर्माण प्राधिकरणले २ अर्ब र प्राधिकरण कोषबाट १७ अर्ब गरी १९ अर्ब रकम सम्पदा पुनःनिर्माणमा विनियोजन गर्ने घोषणा गरिएको थियो ।

 बजेट कति विनियोजन भयो कति पुगेन सम्पदा पुनःनिर्माणका लागि ?

आर्थिक वर्ष ०७३÷७४ को बजेटले पुनःनिर्माण र पुनःस्थापनाका लागि १ खर्ब ४० अर्ब ६६ करोड बजेट विनियोजन गरेका छ तर सम्पदा पुनःनिर्माणकै लागि कुनै शीर्षक भने निर्दिष्ट गरेको छैन । र, सम्पदा पुनःनिर्माणकै लागि मागबमोजिम रकम विनियोजन भएको पनि देखिदैन । नयाँ बजेटले सम्पदा पुनःनिर्माणका लागि कति बजेट विनियोजन गरेको छ भन्ने प्रश्नको जवाफमा महानिर्देशक भेषनारायण दाहालले भने, ‘नियमित बजेट सिलिङ २७ करोड रहेकोमा केही रकम बढेको भन्ने जानकारी त पाएको छु, बढेको जम्मा गर्दा पनि ३० करोडको विनियोजन भएको होला भन्ने मलाई लागेको छ ।’ महानिर्देशक दाहालले लागत इस्टिमेट अनुसारको आवश्यक रकम बजेट मार्फत नतोकिए पुनःनिर्माण प्राधिकरणले आवश्यकता अनुसार दिदै जाने भएकाले अब काम गर्न आर्थिक समस्या नरहेको उच्च मनोविज्ञान रहेको संकेत गरेका छन् । निर्माण बिम्बसँगको टेलिफोन संवादका क्रममा बाजुरा जिल्लाको बडिमालिका मन्दिर लगायत जिल्लाका सम्पदा संरक्षण बारे स्थानीय २० विद्यालयका शिक्षकहरुलाई अभिमुखीकरण तालिमका लागि विभागका ५ सदस्यहरु सहित पुरातात्त्विक संरक्षणका लागि देश दौडाहमा रहेका दाहालले सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि अब केही समय अघिको जस्तो लागत इस्टिमेट समेत नभएको जस्तो अवस्था नरहेको बताएका छन् ।

 कहिलेदेखि सुरु भयो त सम्पदा पुनःनिर्माण कार्य ?

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गएको माघ २ गतेबाट राष्ट्रिय पुनःनिर्माण महाअभियान भन्दै गोरखको बारपाक, काठमाडौंको रानीपोखरी लगायत क्षेत्रबाट पुनःनिर्माण कार्य थालनी भएको उद्घोष गरेको थियो तापनि विभिन्न प्राविधिक र नीतिगत अप्ठेरा र त्यो भन्दा पनि अर्थमन्त्रालयबाट आवश्यक रकम विनियोजन नभएकाले आँटेजति चाँडो पुनःनिर्माणले गतिलिन नसकेको प्राधिकरणका अधिकारीले स्वीकार गरेका थिए । यसै बिच प्रधानमन्त्री सहित सबै दलका शीर्ष नेतृत्वले ‘मेरो धरहरा म बनाउँछु’ अभियानको समेत घोषणा गरेका थिए । नयाँ वर्षको वैशाखबाट विभिन्न स्थलका पुनःनिर्माण कार्य अघि बढ्ने प्राधिकरण सिइओ सुशील ज्ञवालीले बताएजस्तै भूकम्प गएको वर्ष दिन पुगेकै दिन गोरखा बारपाकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनःनिर्माण स्मारक उद्घाटन, प्रधानमन्त्री ओलीबाट सिन्धुपाल्चोक जिल्लामा निजी घर निर्माण अभियान सुरु भएको सन्देश प्रवाह गर्ने काम भएको थियो । भक्तपुरमा नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले, स्वयम्भूबाट पुष्प कमल दाहाल, हनुमान ढोका क्षेत्रमा काँग्रेस नेता रामचन्द्र पौडेल लगायत नेताहरुले सम्पदा पुनःनिर्माण सुरु गरेर सम्पदा पुनःनिर्माण अघि बढेको बताएका थिए । नयाँ वर्षको सँघार टेक्दासम्म पनि सम्पदा पुनःनिर्माणबारे लागत इस्टिमेटमै अल्मलिरहेको पुरातत्व विभाग समेत नयाँ आर्थिक वर्षसँगै उत्साही भएर सम्पदा पुनःनिर्माणमा लागेको सन्देश दिएको छ । केही महिना अघि ललितपुर र भक्तपुर क्षेत्रमा रहेका सम्पदा पुनःनिर्माण सुरु भएलगत्तै यो सन्देश गएको सम्पदा पुनःनिर्माणमा संलग्न इन्जिनियरहरु पनि बताउँछन् ।

 पुरातत्त्वले कुन कुन काम अघि बढायो ?

यस प्रश्नको जवाफ दिदै महानिर्देशक दाहालले भने, ‘राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग १०० वटा प्रस्ताव पेस गरेका छौं । प्रस्ताव स्वीकृतिमा प्राधिकरणले काम चाँडो अघि बढाओस् भन्ने मेरा आग्रह छ । त्यसका अतिरिक्त सम्पदा पुनःनिर्माणका लागि आवश्यक इन्जिनियरहरु समेत परिचालन गरिसकिएको छ । यसर्थ काम अघि बढिसकेको सन्देश तपाईको मिडिया मार्फत् जाओस् ।’ दाहाले बताए अनुसार यही महिनादेखि ५१ वटा टेन्डर आह्वान गरी काम अघि बढाइएको छ । ३५ वटा टेन्डर सम्पन्न भइकनै कार्यादेश पर्खिरहेको अवस्था हो । त्यो पनि केही दिनमा काममा खटिनेवाला छन् । इन्जिनियरहरुका हकमा ४० जना आर्किटेक्चर, १५ ओभरसियर, १० जना सिभिल इन्जिनियर, ६ जना स्ट्रक्चरल इन्जिनियर र ४ जना सामाजिक परिचालिका सहित जनशक्ति स्वीकृत गरी पुरातत्त्व विभागले आवश्य स्थानमा पुनःनिर्माणमा खटाएको हो ।

 चालु पुँजी निकासा नहुँदा काममा अवरोध

विभाग महानिर्देशक दाहालले प्राधिकरणले चालु पुँजी अझै निकासा नगरेकाले विभिन्न कामहरु अघि बढाउन, दैनिक रुपमा इन्जिनियहरु खटाउन र आउटपुट लिनका लागि ढिला भइरहेको बताए ।

 कुन सम्पदा कसले बनाउनेमा अन्योल

यद्यपि सम्पदा पुनःनिर्माणमा सरकार मातहतका कुन निकाय कुन क्षेत्र निर्माणको जिम्मेवारी बहन गर्ने भन्नेमा समेत अन्योल रहेको महानगर पालिकाका रुद्र सिंह तमाङले निर्माण मिडिया समक्ष केही हप्ता अघिको कुराकानीमा बताएका थिए । पुरातत्व विभागलाई पनि सरकारले आवश्यक बजेट र जनशक्ति परिचालनमा अपेक्षाकृत सहयोग नदिएको गुनासो छ ।

 पुरातात्त्विक सम्पदा पुनःनिर्माणको अवस्था ?

यस सवालमा विभागले भूकम्पले देशभरिमा ७ सय ५३ वटा सम्पदालाई बढी क्षति प¥याएको छ । त्यस मध्ये काठमाडौंमा २ सय ५०, ललितपुरमा १ सय ३०, भक्तपुरमा ७८ वटा रहेको बताए । सबैभन्दा बढी क्षति काठमाडौंमा भएको छ । विशेष गरी काठमाडौंको हनुमानढोकामा बढी नै क्षति भएको हो । सरकार, विभिन्न व्यक्तित्व, दातृ निकाय र जिम्मेवार निकायहरु सबैको पहल कदमी भनौं हातेमालोमा सम्पदा पुनःनिर्माण अघि बढिरहेको छ ।

 विश्व सम्पदासूचीमा रहेका सम्पदाहरु कुन कुन हुन् ?

नेपालको विश्व सम्पदा सूचिमा रहेका ७ वटा क्षेत्र हनुमाढोका, भक्तपुरका दरबार क्षेत्र, ललितपुर दरबार क्षेत्र, स्वयंभु नाथ स्तुप क्षेत्र, बौद्ध नाथ स्तुप, चागुनारायण मन्दिर र पशुपति नाथ मन्दिर हाम्रा विश्व सम्पदा सूचीमा रहेका सम्पदाहरु हुन । १९७७ मा विश्व सम्पदामा सूचीकृत भएका हुन ।

 सम्पदाहरु निर्माणका खास आचार संहिता के हुन् ?

विश्व सम्पदामा सूचीकृत हुनु भनेको सूचीकृत भएकै बेलादेखि विश्व सम्पदको नीति, नियमलाई पालना गर्छौं भनेर हस्तक्षर गरिएको हुने हुँदा उसले तोकेको क्राइटेरिया भित्र रहेर मात्रै सांस्कृतिक सम्पदाको पुनःनिर्माण हुने विभाग जनाउँछ । त्यसैले ती सबै सम्पदाहरुको पुनःनिर्माण गर्दा उसले तोकेको नीति र नियमभित्र रही जस्ताको तस्तै बनाउनु पर्छ । त्यसमा परम्परागत निर्माण सामग्री बाहेक आधुनिक सामग्रीहरु कुनै पनि प्रयोग गर्न पाइँदैन । प्राचीन विधि र प्रविधिहरु जस्तै, सुर्की, चुना जस्ता पदार्थहर । सखुवाका काठहरु जस्तो थियो तस्तै बनाउनु पर्ने मापदण्डहरु छन् ।

 पुरातात्त्व विभागले भूकम्प पछिको यो अवधिमा के के गर्न सफल रहयो त ?

भूकम्प लगत्तै विभागले फोटोग्राफ डकुमेन्टेन्सनको काम सम्पन्न गरेको थियो भने रेस्क्युका लागि नेपाल आर्मी, सशस्त्रबल, नेपाल प्रहरीको संयुक्त टोली र पुरातत्व विभाग सहित भूकम्पग्रस्त सम्पदा क्षेत्रमा जनशक्ति खटाएर आवश्यक महत्त्वपूर्ण सम्पदाको संरक्षण गरेको थियो । सो क्रममा पाइएसम्मका सांस्कृति सम्पदा, मन्दिरका गजुरहरु, मन्दिरका तोरणहरु, टुँडाल, घण्टाहरु, देवी–देवताका मूर्तिहरु जस्ता पुरातात्त्विक महत्त्वका अमूल्य वस्तुहरु तत्तत् क्षेत्रका जिम्मेवार समिति र मानिस, सेना र सुरक्षा निकायको रोहबरमा मुचुल्का सहित सुरक्षित स्थानमा राख्ने काम गर्यौँ । काडमाडौं उपत्यका, गोरखा, नुवाकोट, सिन्धुपाल्चोक र दोलखा लगायत भूकम्प अति प्रभावित जिल्लाहरुका महत्त्वपूर्ण सम्पदाहरु पनि त्यसमा समेटिएका छन् । त्यस चरणमा सुरक्षा गरिएको बताउने विभाग अबको चरण भने पुनःनिर्माणकै रहेको बताउँछ ।

 पुनःनिर्माणका लागि प्रेरक नाराहरु के छन् ?

सम्पदा पुनःनिर्माणका लागि विभागले जनताको भावनालाई पनि सम्मान गरेको महानिर्देशक दाहाल बताउँछन् । उनले भने, ‘राष्ट्रको सम्पदा भनेकै राष्ट्र चिनाउने पहिलो र अन्तिम साधन हुन् । तिनको निर्माण जस्ताको तस्तै गर्नु पर्छ । त्यसैले, हामीले भनेका छौं ‘जस्ताको तस्तै दुरुस्तै, बलियो प्रशस्तै’ भन्ने नारा पनि तय गरिएको छ ।’

 कुन कुन राष्ट्र सम्पदा निर्माणमा अग्रसर भए ?

नेपाल सरकार र चीन सरकार बिच सम्पदा संरक्षणका लागि अर्थमन्त्रालयमा एमओयु भएको विभागको भनाइ छ । त्यस आधारमा चीन सरकारले वसन्तपुर क्षेत्रको ४ वटा बुर्जा सहित ९ तले दरबार, नुवाकोटको ७ तले दरबार, गारत घर, तलेजु भवनीको मन्दिर र वरपरका अन्य सबै सम्पदा पुनःनिर्माणको जिम्मा लिएको छ । दोस्रो, मित्र राष्ट्र श्रलंका सरकारले नेपालका दुइटा सम्पदाहरु खास गरी ललितपुर जिल्लाको रातो मच्छिन्द्रनाथको मन्दिर र स्वयभूस्थित आनन्दकुटी विहारको सम्पूर्ण खर्च व्यहोर्ने गरी सम्झौता भइसकेको छ । उनीहरु सबैले पुरातत्व विभागको निगरानी र मापदण्डमा रही काम गर्ने विभागले स्पष्ट पारेको छ । यी क्षेत्रका लागि टेन्डर आह्वान भइकनै काम अघि बढिसकेको हो । तेस्रो, एउटा एनजिओले चागुनारायण परिसरका सतलहरु पुनःनिर्माण र संरक्षणका लागि सहमति गरिकन काम अघि बढाएको छ । अहिले खड्कयोगिनी र बज्रयोगिनीको टेन्डर भइकनै काम अघि बढिसकेको अवस्था छ । बेलायतको एउटा विश्वविद्यालयका प्रोफेसर रोबिन कनिङ्गहम नाम गरेका भाइस चान्सलरले पहिलेको शुद्धोधनको दरबारको प्राचीनताकै आधारमा अध्ययन तथा नयाँ तथ्य निकाल्ने गरी पाँच वर्षे सम्झौता समेत भइसकेको छ । उसँग आर्कियोलोजिकल एक्टिभिटिजको रिसर्च गर्ने, अध्ययन गर्ने कामका लागि एमओयु भएको हो । उहाँहरुले गरेको अध्यननले लुम्बिनीका पाँचवटा क्षेत्रमा पुरानो सहरका भग्नावशेष फेला परेका छन् ।

 हनुमानढोकाको लागत आँकडा बारे ?

यसबारे विभाग गहिलो अध्ययन पछि मात्र टुंगोमा पुग्ने बताउँछ । त्यसका लागि काम अघि बढिसकेको छ । यस अघि काष्ठमण्डप पुनःनिर्माणबारे १३/१४ करोड लागत लाग्ने अनुमान बाहिर आएको थियो । त्यसका लागि अझै पनि कुन कुन स्थल महानगर पालिकाले र कुन कुन स्थल अन्य निकायले निर्माण गर्ने भन्ने समेत टुंगो लागिसकेको छैन । विभाग अनुसार माझुदेवल र काष्ठमण्डप महानगरपालिकाको आफ्नै खर्चले गर्ने र पुरात्वविभागले ड्रोइङ, स्टिमेट तयार गरेर दिने, सुपरभिजन गर्ने गरी काम बाँडफाँडको आँकडा प्रस्तुत भएको छ ।

सम्पदा पुनःनिर्माणमा बिड ओपन नगर्न विज्ञको सुझाव

विश्व सम्पदा सूचीको प्रावधान अनुसार कतै तलमाथि नगरी सांस्कृतिक सम्पदाहरुको पुनःनिर्माण गर्न बोलपत्र आह्वान नगरीकनै योग्यतम निर्माताहरुलाई छनोट गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।

 सरकारको चासो कमजोर–

विज्ञ उनीहरुले गत वर्ष वैशाख १२ र त्यसपछिका परकम्पनहरुले भत्किएका काठमाडौंँ उपत्यकाका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्त्वका सम्पदा पुनःनिर्माणमा सरकारले चासो नदेखाएकोप्रति दुःख व्यक्त समते गरेका छन् । ऐतिहासिक सम्पदाको पुनःनिर्माण ढिलाइले काठमाडौं उपत्यकाको सुन्दरतामै ह्रास आएको र धार्मिक, सांस्कृतिक र परम्परागत निरन्तरतामा समेत अप्ठेरो परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । विश्वेश्वरप्रसाद कोइराला स्मृति प्रतिष्ठानद्वारा आयोजित काठमाडौँका सांस्कृतिक सम्पदा पुनःनिर्माणसम्बन्धी कार्यक्रममा उनीहरूले सम्पदाको महत्त्व बुझेर समयमा निर्माण गर्न नसकिए विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक सम्पत्ति गुम्नसक्ने खतरातर्फ पनि औंल्याएका छन् ।

 महानगरले गरेको बोलपत्रप्रति आपत्ति प्रकट

पुरातत्वविद डा साफल्य अमात्यले बारम्बारको आग्रह एवम् अनुरोध भएपनि काठमाडौँका पुरातात्विक एवम् सांस्कृतिक महत्त्वका सम्पदाको निर्माणको काम सरकारले थाल्न नसकेको बताए । उनले काठमाडौंँ महानगरपालिकाले सम्पदा पुनःनिर्माणका लागि बोलपत्र आह्वान गरेकोमा समेत आपत्ति प्रकट गरेका छन् । उनले, सम्पदाको निर्माण कुनै घर वा पर्खाल निर्माण गरेजस्तो नभएकाले यिनको सांस्कृतिक महत्त्व बुझ्न महानगरले नबुझेको आरोप लगाएका छन् । विज्ञहरुको ऐतिहासिक सम्पदाको पुरातात्विक र सांस्कृतिक महत्त्व नगुम्ने गरी तथा पुरानै कलाकारिता र कच्चा पदार्थको प्रयोग गरी निर्माण गर्नसक्ने क्षमताका कम्पनी वा संस्था नेपालमा नरहेकोले बोलपत्रबाट निर्माणको काम सम्भव नरहेको उनको तर्क थियो । वास्तुविद प्रा डा सुदर्शन तिवारीले यी सम्पदाको निर्माणमा स्मारकको वास्तुकला, प्रविधि, धार्मिक र सांस्कृतिक पक्ष तथा जीवन्त संस्कृतिको पनि समावेश हुनुपर्नेमा बताए । उनले अबको पुनःनिर्माणमा विश्व सम्पदा सूचीमा रहेका यी सम्पदाहरु त्यो सूचीबाट नहटुन् भन्ने पक्षमा विशेष रुपमा ध्यान दिनुपर्ने र त्यसका लागि विश्व सम्पदा सूचीको प्रावधान र मूल्य मान्यताबमोजिमकै कला र सामग्री प्रयोग गर्न सुझाए । प्रा डा नरेशमान बज्राचार्यले सम्पदाको निर्माण भनेको पर्यटकलाई फोटो खिच्नका लागि होइन भन्दै जीर्णोद्धारभन्दा पनि पुनःनिर्माणमा सम्वेदनशील विषय रहेको बताए ।

 पुरातात्विक सम्पदा निर्माण कसले गर्ने भन्नेमा आन्योल

काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रमानसिंह तामाङले यी पुरातात्विक सम्पदाको निर्माणको अगुवाइ कसले गर्नेभन्ने विषयमा स्पष्ट नहुँदा निकै गाह्रो भएको बताए । पुनःनिर्माणको कामका लागि महानगरपालिकाले बोलपत्र आह्वान गरेपनि स्थानीय जनता वा यस क्षेत्रका विज्ञहरुको परामर्शबाटै काम गरिने उनको भनाइ छ । प्रतिष्ठानका अध्यक्ष जीवन डङ्गोल, पर्यटनविद् कर्ण शाक्य, शिक्षाविद् केदारभक्त माथेमा, संस्कृतिविद् रामकृष्ण दुवालले सम्पदाको पुनःनिर्माणका लागि सबैको चासो हुनुपर्नेमा जोड दिए ।

 सदस्य सचिवको कार्यकला र कार्यशैली प्रति हनुमान ढोका संग्रहालय समितिको रोष

यस्तै, हनुमान ढोका संग्रहालय परिसर भित्र बोर्डका सदस्यहरुको सदस्य सचिव सरस्वती सिंह र उनको कार्यशैली प्रति बोर्डका सदस्यहरुले आक्रोस व्यक्त गरेका छन् । संस्कृति विद् तथा जनगायक रामृष्ण दुवालले आफूहरुलाई खेताला जतिको पनि व्यवाहार नगरेको र आवश्यक सूचना र सरसल्लाहै विनै सदस्य सचिव चलेको प्रति गुनासो गरेका छन् । त्यस्तै स्थानीयका तर्फबाट सदस्य रहेका राजशाक्यले पनि सदस्य सचिव सिंह एकलौटी रुपले चलेको भन्दै उनको कार्यकाल सकिदा समेत सम्बन्धित निकायले गैर कानुनी रुपमा उनको निरन्तरता दिएको दाबी गरेका छन् ।

प्रस्तुतीः नवराज खतिवडा

प्रतिक्रिया

Related