संगीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

निर्माण सञ्चार, काठमाडौं । संगीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेले बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो प्रस्तावबारे छलफल भइसकेको बताए ।

मन्त्री पोखरेलले भने, ‘यसअघि उहाँको उपचारका लागि सरकारले सहयोग गरेको थियो, ‘अन्त्येष्टि पनि राष्ट्रिय सम्मानका साथ गरिन्छ ।’ पोखरलेले बताए अनुसार गुरुङको योगदानको उच्च मूल्यांकन गर्दै सरकारले सम्मान गर्ने तयारी गर्ने छ । के कसरी भन्नेबारे थप विषयमा भोलि बस्ने मन्त्रीपरिषद्को बैठकले निर्णय गर्ने उनले जानकारी दिए ।

उनले यसका लागि अहिले बिहान गृह मन्त्रालयसँग आवश्यक तयारी गरी निर्देशन समेत भइसकेको बताए । गुरुङको सम्मानमा नेपाल प्रहरी र सैनिक टुकडीले सलामी दिने छ । गुरुङको आज बिहान २ बजेर ३७ मिनेटमा ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रज्ञा भवन कमलादीमा नेपाली कलाकारहरुले स्वर्गीय गुरुङको सम्मानमा नेपाली राष्ट्रिय गीत र धुनहरु बजाइरहेका छन् । विभिन्न राजनीतिक दलका प्रतिनिधि, वरिष्ठ व्यक्तित्वहरुले गुरुङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिइरहेका छन् । संगीतकर्मी संघका तर्फबाट उपस्थित बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, दीपक जंगम, सुरेश अधिकारीलगायत कलाकारहरुले गुरुङलाई संगीतवद्ध राष्ट्रिय गीतले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
 
अहिले उनको पार्थिव शरीर प्रज्ञा भवन कमलादीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । साँझ आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार हुँदै छ ।
 
 

प्रतिक्रिया

Related