एसिया विश्वको आर्थिक शक्तिका रुपमा उदाउँदै, बोआओ सम्मेलनमा प्रधानमन्त्री ओली

निर्माण सञ्चार, प्रम भ्रमण विशेषःः

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिया विश्वकै आर्थिक केन्द्रका रूपमा उदाउँदै गएको बताएका छन् । चीनको हाइनान प्रान्तमा ‘एसियाज न्यु फ्युचरः न्यु डाइनामिक्स, न्यु भिजन’ थिममा आयोजित बोआओ एनुअल फोरम फर एसिया २०१६ सम्मेलनमा बिहीबार प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विश्वमै एसिया अहिले आर्थिक नेतृत्वकर्ताका रूपमा उदाइरहेका कारण एसिया २१ औं शताब्दीको परिवर्तित विश्व व्यवस्थामा विश्वको ध्यान तानिरहेको बताए ।

‘विश्व अर्थतन्त्रलाई अझै बलियो पार्न एसियाले गरिरहेको आर्थिक प्रगतिलाई आजको विश्वले नियालिरहेको छ । एसियाका ठूला अर्थतन्त्र भएका मुलुकको आर्थिक प्रगतिबाट एसियाका सम्भावनालाई प्रतिबिम्बित गरिरहेको छ’, ओलीले भने ।

हालसम्मका प्रगति हेर्दा एसियाको भविष्य उज्जवल रहेको निश्चित देखिएको ओलीले बताए । ‘नयाँ आविष्कार र प्रविधिका क्षेत्रमा एसियामा भइरहेका विकास आशाप्रद छन् । नयाँ आविष्कार र प्रविधिले विकासका लागि नयाँ आयाम खोलेका छन्’, ओलीले भने ।

प्रधानमन्त्री ओलीले एसिया विभिन्न सभ्यताले भरिपूर्ण क्षेत्र रहेको उल्लेख गरे । ‘तिनै सभ्यतालाई निरन्तरता दिँदै एकआपसको सहअस्तित्व स्वीकार्दै अघि बढ्नु आवश्यक छ’, प्रधानमन्त्रीले भने । सूचना, सञ्चार, प्रविधि, औद्योगिक उत्पादनमा भइरहेका ऐतिहासिक प्रगतिबाट एसियाको आर्थिक उन्नतिलाई अघि बढाएको उनले बताए ।

एसियाको गतिशिलतालाई उपयोग गर्दै अबका दिनमा सबै मुलुकमा साझा अवसर र फाइदा लिन सहकार्यको मोडल निर्माण गर्नुपर्ने प्रधानमन्त्री ओलीले जोड दिए । ‘हाम्रो साझा प्रयासबाट एक साझा सहकार्यको मोडल निर्माण गर्दै विचारको स्वतस्फूर्त प्रवाह, निर्वाध व्यापार र सबैले जित्ने खालको दिगो व्यवस्था अवलम्बन गर्न आवश्यक छ’, उनले भने ।

एसियाको दृष्टिकोण अब सबैलाई समेट्ने खालको हुनपर्ने प्रधानमन्त्रीले बताए । एसियाली मुलुक पछाडी परे एसियाको शान्ति र समृद्दिको सपना चकनाचुर हुने प्रधानमन्त्रीले बताए । विकास प्रक्रिया समावेशी नभएको खण्डमा विकास दिगो हुन नसक्ने उनले बताए । एसियाली मुलुकपछि परे ‘एसियाली मुलुकबीच साझा भाग्य’ निर्माण गर्ने चाहना नै अधुरो रहने उनले बताए ।

एसिया अहिले विश्वकै आर्थिक पावर हाउसका रूपमा अघि बढिरहेको उनले बताए । बजार, उद्योग कलकारखाना खुलिरहेको र नयाँ नयाँ रोजगारीका अवसर सिर्जना भइरहेको उल्लेख गर्दै ओलीले एसिया मुलुक गरिबीबाटमाथि उठ्न थालेको बताए ।

नेपालीको चाहनाअनुशार नेपालले समावेशी र लोकतान्त्रिक नयाँ संविधान जारी गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले चीनलगायत एसियाका सबै मुलुकले संविधान निर्माणमा पुर्‌याएको सहयोगका लागि धन्यवाद दिए । सम्मेलनको उद्घाटन गर्दै चिनियाँ प्रधानमन्त्री ली खछ्याङले एसियाली जनताको जीवनस्तर, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा, वृद्धाको सुसार एवं आवासमा सुधार ल्याउनुपर्नेमा जोड दिए ।

चिनियाँ प्रधानमन्त्रीले एसियाली मुलुकले शान्ति र स्थिरताका लागिसँगै मिलेर काम गर्नुपर्ने बताए । ‘विश्व अर्थतन्त्रलाई अघि बढाउन एसियाली देशबीच मजबुत सहकार्य आवश्यक छ’, उनले भने ।

बिहीबार सुरु सम्मेलनमा एसियाका थाइल्यान्ड, कम्बोडियालगायत मुलुकका सरकार प्रमुखको सहभागिता छ ।

भिडियो—

स्रोत एजेन्सीको सहयोगमा ।

प्रकाशितः १२ चैत, ०७२

प्रतिक्रिया

Related