युवाका लागि ६० प्रतिशत कोटा तोकिनुपर्छ — युवा व्यवसायी विष्णु पोखरेल

निर्माण सञ्चार,

दोलखाको च्यामा गा.वि.स.वडा नं २ मा २०४६ साल असार २३ गते बुबा दुर्गाप्रसाद पोखरेल र आमा लक्ष्मीदेवी पोखरेलको कोखबाट कान्छो सन्तानको रुपमा जन्मेका विष्णु पाखरेलको बाल्यकाल गाउँमा नै वित्यो । २०६२ सालको एस.एल.सी पछि काठमाडौं आएर उच्च शिक्षा अध्ययन सँगसँगै विभिन्न पेशामा संलग्न हुँदै अहिले व्यवसायी बन्नुपर्छ भन्ने चेतनाका कारण सानोतिनो लगानीमा व्यवसायतिर आकर्षित भएका छन् ।

तपाई एक युवा उद्यमी हुनुहुन्छ, कुन कुन क्षेत्रमा कार्यरत हुनुहुन्छ ?

म युवा व्यवसायी बन्नुपर्छ भन्ने लक्ष्य लिइएर व्यवसायमा लागेको युवा हुँ । व्यवसायलाई केही पmराकिलो पार्ने उदेश्यमा देश सञ्चालनका मेरुदण्ड शिक्षा, स्वास्थ्य, यातायात र सञ्चार यी ४ वटै क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्नु पर्छ भन्ने चाहनाका साथ सानोतिनो लगानी गरेको छु र भोलीको दिनहरुमा यसै क्षेत्रलाई विस्तार गर्दै कसरी अगाडि बढ्ने भन्ने कुरामा म लागि परेको छु ।

नेपालमा युवाका लागि राज्यले कस्तो नीति नियम बनायो भने तपाई जस्ता कर्मशील युवाहरु नेपालमा नै रहलान् ?

नेपालमा राज्यले युवाको लागि स्वदेशमै बसेर युवाको श्रम र सीपलाई स्वदेशमा नै परिचालन गर्न सक्ने र युवाको भावना तथा क्षमतालाई कदर गर्ने खालको नीति आवश्यक छ तर राज्य अहिले चिर निन्द्रामा सुतेको अवस्था छ तर यो निन्द्राबाट राज्य छिट्टै नै ब्यूँझियो भने त युवाको श्रम सीप र पसिनाले राज्यले विकासको गतिमा केहि फड्को मार्ला तर म जस्तो युवाहरुलाई एउटा मात्रै चिन्ता भनेको राज्य निदाइ नै रह्यो भने देशको अवस्था कहाँ पुग्ला र कस्तो अवस्थामा रहला भन्ने हो ।

हामी राज्यको युवा निती तथा योजना नहुँदा नै कयौं युवाहरु विदेशी भुमी गएर पसिना बगाउँदा देश धेरै पछाडि परि सकेको छ ।

खै, देशमा युवाका लागि आवश्यक कल कारखाना, उद्योग धन्दा अनि पेशा व्यवसायहरु ? खै श्रम र सीपलाई लागु गर्ने ठाउँहरु ? खै राज्यको निती र नियमहरु ? खै सरोकारवाला निकायको पहल कदमी ?

अत्यन्तै दिक्दार लाग्ने अवस्था छ । तर पनि म युवा साथीहरुलाई भन्न चाहान्छु तपाई हामी निरास भै हाल्ने अवस्था छैन सम्भावना अझै छ । स्रोतहरु हामीसँगै छन् तपाई हामीयुवा साथी जुन समाज जुन समुदाय अनि जुन अवस्थामा छौं त्यही ठाउँबाट परिश्रमका हातहरु अगाडि बढाऔँ । कृषि योग्य जमीनमा आधुनिक कृषि प्रणाली अपनाऔँ, पशुपालनको सुरुवात गरौँ ।

थोरै लगानी तथा आफ्नो क्षमताको लगानीमा स्थानीय स्रोत र साधनलाई परिचालन गरि उद्योग धन्दा कलकारखानाको सुरुवात गरौँ । अनि सरकार र सम्बन्धित निकायको लागि जनस्तरबाट नीति र नियको लागि दबाबको श्रृजना गर्न सक्नु पर्छ त्यसो गर्न सकेको अवस्थामा श्रमशील र सृजनशील युवाहरु स्वेदशमा नै रहेर देश विकास र जिविको पार्जनमा रहन सक्छन् ।

तपाई सचेत र सजग युवा व्यवसायीको आँखाले नेपालको निर्माण क्षेत्रलाई हेर्दा कस्तो पाउनु भएको छ ?

मैले निमार्ण क्षेत्रलाई हेर्ने हो र भन्ने हो भने निमार्ण क्षेत्र त अहिले खोज्नु पर्ने अवस्थामा छ । गाउँ तथा अविकसित क्षेत्रलाई उजाड गर्दै शहरी क्षेत्र तथा विकसीत क्षेत्रमा व्यक्तिगत महल तथा सुविधा सम्पन्न घरहरु निर्माणरत भएका छन् तर यी ठूला ठूला घर निर्माण भनेको विकास निर्माण होइन विलासिताको निर्माण हो । गाउँलाई विनास गर्दै शहरलाई प्रदुषणको निर्माण हो ।

यसले देशको विकास होइन सही व्यवस्थापन नहुँदा विनास गरेको छ । यो निर्माण देशको विकास र गरिब असाहय तथा निमुखा जनताको लागि भएको निर्माण होइन । यत्रो देशमा गएको महाभुकम्प पछाडि त निर्माणको काम झनै पूर्णविराम लागेको छ ।

अब साँच्चै नेपालको निर्माण गर्ने हो भने विदेशमा रहेर १८ घण्टा पसिना बगाउने युवाहरुलाई देशमा बसेर काम गर्न सक्ने खालको वातावरणको श्रृजना राज्यले गर्न सक्दैन तव सम्म देश विकासको निर्माण सम्भव नै छैन ।

हाम्रोमा उपभोक्ताको छनौटको अधिकारलाई युवाले कत्तिको प्रयोग गरेका छन् त ?

उपभोक्ताको छनौटको अधिकारलाई युवाले प्रयोग गर्न त परै जाओस छुन सम्म पाएका छैनन् । हाम्रो देशमा राज्यको माथिल्लो निकायदेखि तल्लो निकायसम्म जोस ,जाँगर, क्षमता र उमेरका युवाहरुले त्यो अवसर नै पाएका छैनन्, त कसरी छनौटको अधिकारलाई प्रयोग गर्न पाउँछन् ?

म राज्यसँग जोडदार माग गर्न चाहान्छु कि राज्यका विभिन्न निकायहरुमा जसरी दलित जनजाति, महिला, पिछडिएको क्षेत्र भनेर कोटा तोकिन्छ त्यसरी नै सम्पुर्ण निकायमा ६० प्रतिशत युवाको लागि भनेर कोटा तोकिनु पर्छ ।

अनि मात्र छनौटको अधिकार लगायत सबै अधिकारमा युवाको पहुँच पुग्छ । तब देशको विकास सम्भव छ र छनौटको अधिकारलार्इृ युवाले प्रयोग गर्न पाउँछन् । 

वर्तमान शिक्षा पद्धतिमा सुधार गर्नुपर्ने पनि केही छ कि ?

हो, म शिक्षा क्षेत्रको व्यववसायमा पनि संलग्न छु म लगायत केही युवा साथीहरुको संयुक्त लगानीमा गोठाटारमा हामीले एकलव्य शिक्षा सदन सञ्चालन गरेका छौँ । यो निजी विद्यालय हो तर नीजि विद्यालय भयता पनि हामीले अर्थोपार्जनको स्रोत विद्यालयलाई बनाएका छैनौँ र बनाउने पनि छैनौँ । किनकि सबै सञ्चालक साथीहरु अत्यन्तै समाजसेवी भावनाको हुनुहुन्छ ।

सबैको भावना र विचारले मेल खान्छ र हामी सबैको उदेश्य पनि विद्यालय सञ्चालनको सवालमा समान छ । विद्यालयमा हामीले विभिन्न समस्याबाट ग्रसित, अभिभावक विहीन, आर्थिक अवस्था कमजोर भएका र शिक्षा लिनबाट बञ्चित भएका बालबालिकाहरुलाई प्रथामिकताका साथ शिक्षा दिँदै आईरहेका छौँ । यसको मतलब सबै बालबालिकाहरु यो अवस्थाका मात्रै पनि छैनन् ।

जुन विद्यालयमा अत्यन्तै क्षमतावान् तथा जेहेन्दार शिक्षक शिक्षिकाहरुको व्यवस्था छ भुकम्प प्रतिरोधामत्मक भवनको व्यवस्था छ, अपाङ्ग मैत्री भवन छ, खेल्नको लागि प्रर्याप्त चौर छ, विद्यालय सञ्चालनको लागि शैक्षिक क्षेत्रका विज्ञहरु हाम्रो सल्लाहकार हुनुहुन्छ, उहाँहरुको सल्लाह र सुझाव विद्यालयले ग्रहण गर्छ त्यो तवरबाट विद्यालय सञ्चालन गर्दै आएका छौँ तर देशको समग्र शिक्षा यो अनुपातमा अगाडि बढेको अवस्था छैन देशको शिक्षा नीति ठिक छ तर कागजमा मात्रै कार्यान्वयन अत्यन्तै गलत तरिकाबाट हुँदै आएको छ ।

अनि सरकारले सहर र बजारलाई हेरेर कार्य नीति बनाउँछ त्यो नीति नियम देशको सम्पुर्ण अवस्थालाई हेर्दा कार्यान्यन गर्न सक्ने अवस्थाको छैन । साथै नीति तथा नियम बनाउने निकाय भ्रष्टचारको चंगुलमा फसेको छ ।

अझ केही निकाय त शैक्षिक माफियाको रुपमा देखा पर्दै आएको छ । नीतिमा भन्दा पनि सञ्चालनमा सुधार गर्नु पर्ने कुराहरु धेरै छन् । अझ सरकारले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण जहिले सम्म परिवर्तन हुँदैन तवसम्म शिक्षा नीतिको कार्यान्वयन गर्न पनि सकिदैंन । 

अन्त्यमा निर्माण सञ्चारका माध्यमबाट केही भन्न चाहनुहुन्छ ?

अन्त्यमा निर्माण सञ्चारले लिएको अभियानमा सफल बनोस् ।

विदेशीएका युवालाई स्वदेशमा रोक्न, भुकम्पबाट पिडीत नेपाली जनताको छाना र मानाको व्यवस्थामा सहयोग पुर्याउन, शिक्षा क्षेत्रको सञ्चालनमा आएका विभेदकारी नितीलाई चुनौती दिन र देशको निर्माण र विकासमा जनताको आवाज बुलन्द पार्न यो मिडियाले ठुलो भुमिका खेलोस सबै जनताको सुचना र सञ्चारको माध्यम बनोस् यही शुभकामना छ र सम्पृर्ण नेपालीलाई २०७३ साल पुनःनिर्माणको वर्ष बन्न सफल बनोस् भन्ने शुभकामना समेत दिन चाहन्छु ।

प्रतिक्रिया

Related