नेपाली रङ्गमञ्च उर्वर छ- ‘यात्री’

निर्माण सञ्चार, रंगविमर्श ।

यी ‘यात्री’ चिनिया यात्री हु–एन साङ पनि होइनन् जसले अर्वाचीन नेपालको यात्रा गरेका थिए । न त क्रिस्टोफर कोलम्बस नै जसको यात्राले अमेरिका पत्ता लगाएको थियो । यी ‘यात्री’ त्यो यात्री हुन् जसले आफ्नो बाल्यकालदेखि नै नेपाली नाट्य क्षेत्रमा अविरल यात्रा गरिरहेका छन् र पत्तालगएका छन् नाटक–रंग विधामा दुर्लभ तथ्य र प्रयोग गरेका छन् नवीनताको । सिर्जना र रंगकर्म दुवैलाई सँगसँगै लैजनसक्ने थोरैमध्येका यात्री रंगमञ्च, सिर्जना र निर्देशनका त्रिवेणी हुन् । नेपाली नाट्य विधामा पछिल्लो चरणमा आधिकारिक अनुसन्धान तयार गर्ने अरु कोही छ भने उनी नै रहेका छन् । निर्माण सञ्चारको रंग चर्चामा वर्तमान रंगमञ्च उर्वर रहेको बताउने यात्रीसँगको छलफल संक्षेप—

नेपाली रंगमञ्चको अहिलेको अवस्था कस्तो छ ?

सबै भन्दा उर्वर अवस्था छ अहिले । ६० दशकसँगै करिब १५ वर्षको यो अवधि भनेको धेरै हिसाबले उर्वर अवस्था हो, नेपाली नाटकको ।

कुन कुन कारणले उर्वर भन्न सकिन्छ ?

यसका केही वस्तुगत आधारहरु छन् जसका आधारमा नेपाली नाटक उर्वर अवस्थामा रहेको भन्न सकिन्छ । जस्तो कि अहिले म केही वर्षदेखि ‘नेपाली रंगमञ्चको इतिहास’ शीर्षक अन्तर्गत अनुसन्धान गरिरहेको छु । करिब ४०० पृष्ठको ग्रन्थ तयार भइसकेको छ ।

यस अध्ययनबाट मैले के पाएँ भने यो दशक ५/६ वटा कारणहरुले विगत भन्दा उर्वर रहेको पुष्टि हुन्छ ।

पहिलो कारण— नियमित चलिरहनु । अहिले ५/७ वटा नाटक घरहरुमा नियमित नाटक चलिरहनु भनेको चानचुने कुरै हैन । दोस्रो, विभिन्न स्वादका, शैली भएका, प्रयोगपरकदेखि पौराणिक र नेपाली मौलिकदेखि पश्चिमा नाटकसम्म अहिले नेपाली रंगमञ्चमा प्रयोग भइरहेका छन् ।

६० भन्दा बढी रंगकर्मी अहिले त्यस कर्ममा व्यस्त रहनु, लागिपरिरहनु पनि चानचुने कुरा हैन । अर्काे महत्त्वपूर्ण कुरा हो, दर्शकहरुको उपस्थिति ।

र्शकहरुको उपस्थितिको कुरा गर्नु भो, के यसअघिका नाटकहरुमा दर्शकहरु हुँदैनथे र ?

नहुने हैनन् । तर आजका दर्शक र हिजोका दर्शक बिच केही खास खास कुराले ‘डिमार्केसन’ गरेको म देख्छु । आजका दर्शक संस्कारयुक्त दर्शक छन् । तिनमा नाट्यकारिताका खास खास बोध क्षमता छ र त दर्शकहरुले नेपाली नाटकलाई यसरी माया गरिरहेका छन् ।

तर यस अघिका दर्शकहरुमा संस्कार अर्थात् नाट्य विशिष्टता बोधक चेतना भन्दा पनि मनोरञ्जनका आँखाले हेर्ने गरेको पाइन्छ । आजको दर्शक नाटकलाई हेर्नका लागि मात्र हैन, नाटककार र निर्देशक अथवा रंगकर्मीहरुका बिचमा सुखदुख साट्नेसम्मको पंक्ति पनि तयार छ । उनीहरुलाई सम्झाउने, अर्थात् सक्रिय दर्शक छ ।

निर्देशकलाई नै केही खुराक दिने दर्शक छ । किनकि विश्वविद्यालयको प्रोडक्टदेखि स्वअध्ययन र आजको टेक्नोलोजीले विश्वसँग जोडिएको दर्शकसँग यस अघिका दर्शको तुलना गर्न मिल्ला र ?

जको यो अवस्थालाई ऐतिहासिक विकासक्रमका आधारमा कसरी स्पष्ट पार्न सकिन्छ होला ?

अत्यन्त सही सवाल उठाउनु भो नवराजजी । आजको अवस्था कस्तो छ भन्ने छुट्याउने मापदण्ड भनेकै यसअघिको तुलनात्मक चेतनाले नै हो । नेपाली रंगमञ्च लिच्छवीकालबाट सुरु भएको मानिन्छ ।

लिच्छवीकालबाट विकास हुँदै आउँदा मल्लकालमा नेपाली रंगमञ्चको विकास यति राम्रो भएको मानिएको छ, जसलाई ‘स्वर्ण–काल’ नै भनिएको छ । मल्लकाल हरेक हिसाबले स्वर्णकालमा गनणा भएको सबैलाई थाहै छ । ललितकलाका विभिन्न विधा– भाषा, साहित्य, पेन्टिङदेखि अभिनयसम्म मल्लकालमा तत्कालीन राजाहरुकै अगुवाइमा समाजमै स्थापित भएका थिए ।

जनताको तहसम्म नै अभिनयलाई सम्मानित ढंगले लिइएको प्रशस्तै प्रमाणहरु छन् । अहिले पनि काठमाडौं, भक्तपुर र ललितपुरका मठ–मन्दिर पुजाआजा र देवीदेवतालाई लिएर विभिन्न समयमा भइरहने जात्रा, नाटकहरु नै पनि छँदैछन् ।

राज्य एकीकरण पछिको अवस्था नेपाली रंगमञ्चको पनि राम्रो छैन । पृथ्वी नारायण शाहले एकीकरणको अभियानै सुरु गरे । उनले सायद ध्यान दिन भ्याएनन् होला, त्यसपछि उनका सन्तानहरुले पनि नाटकलाई ध्यान दिएनन् भनौं, मञ्चन गरिए पनि दरबारमै सीमित थिए ।

राणाहरुको उदयले जनस्तरमा भएका साहित्यिक, कला चेतलाई झनै दरबारमै कैद गर्ने काम भयो । राणाजीहरुले आफ्नो मनोरञ्जनको साधनका रुपमा मात्रै सीमित गरे । कला र रंगमञ्चलाई सबैभन्दा अपमान गरिएको कुनै युग थियो भने त्यो राणाकाल नै होलाजस्तो लाग्छ ।

अझ राणाहरुले त मौलिक नाटकको त कुरा छाडौं, संस्कृत नाटक पनि हैन, हिन्दी, उर्दू र पारसी नाटक र कलाकारहरु झिकाएर पनि दरबारमा मनोरञ्जन लिए तर जनस्तरमा विकास गर्ने, सम्मान गर्ने कामै भएनन् भन्दा हुन्छ ।

हो, यिनै आधारमा नै नेपाली नाटक–रंगमञ्चको प्राचीन काल, मध्यकाल र आधुनिक गरी तिन कालखण्ड भित्र यो ६० को दशक पछिको नेपाली रंगमञ्च वास्तवमै उर्वर रहेको पाइन्छ ।

नेपाली रंगमञ्च/नाटकलाई आधुनिकीकरण गर्ने श्रेय कसलाई दिदा न्याय हुन्छ होला ?

म कुरा जोड्दै पनि छु, राणा शासनको अन्त्यका लागि भएका संघर्षहरुमा नेपाली साहित्यको भूमिका निकै नै प्रभावकारी देखिन्छ । त्यसमा कविता र अन्य विधाको प्रभाव परेको छ ।

जस्तै राणा विरोधी साहित्यका शीर्ष कविहरुमा देवकोटा, रिमाल, व्यथित, ज्ञवाली सिद्धिचरण र स्वयम् सम जस्ता मूर्धन्य स्रष्टाहरुको नाम आउँछ । त्यो समय जसले नेपाली साहित्यका हरेक विधाहरुलाई लगभग एकै कालखण्डमै आधुनिक चरणमा हिँडायो ।

त्यो समय भनेको विक्रम सम्बतका हिसाबले १९९० का केही अघिल्ला वर्ष र यो दशक नै हो । बालकृष्ण समले समले नै १९८६ मा ‘मुटुको व्यथा’बाट नेपाली नाटकमा मौलिक नाटकको पाइला चाले ।

१९९५ मा समले नै ‘मुकुन्द इन्दिरा’ बाट नेपाली नाटकलाई झनै नयाँ आयाम प्रदान गर्न सफल भए । उनी प्रजातान्त्रि विचारधाराका व्यक्ति हुनु, उनको चिन्तनले परिवर्तनलाई प्रतिबिम्बित गर्नु, बेलायतबाट सेक्सपियरियन सनेट शैलीबाट प्रभावित भई नाटकमा पद्यात्मक भाषा प्रयोग गर्नु, उनी आफैं नै सक्रिय निर्देशक र रंगकर्मी नै हुनु जस्ता पक्षहरुले उनको नाट्कारिता मलाई लाग्छ नेपाली नाटक, लेखनका हिसाबले मात्र हैन, रंगमञ्चमा अभिनय गर्ने हिसाबले पनि आजको नाटकको जग नै उनले बसालिदिने काम गरेका हुन् भन्दा अत्युक्ति हुँदैन ।

टल बहादुर भन्ने नाटक त मुटुको व्यथा भन्दा अघि नै आएको थियो, तर के त्यसले कुनै योगदान दिन सकेन ?

नाटक लेखिनुले कुनै न कुनै असर त पार्छ नै । तर पहलमानसिंह स्वाँरको ‘अटल बहादुर’ कथा विषयका हिसाबले मौलिक नाटकभित्र लिन सकिएला, नेपाली रंगमंचको समग्र विकासमा यसको खासै योगदान रहन सकेन ।

यसको मञ्चन तत्कालीन परिस्थितिले पनि हुन सक्छ, राणा शासनको दबदबा भित्र नेपालमा मञ्चन हुन नसकेको पनि हुन सक्छ, दार्जिलिङमा मात्रै सीमित भयो । तर नेपाली नाटक साहित्यमा उसको योगदान गणनाभित्र रहन सकेन ।

किनकि बालकृष्ण समको मुटुको व्यथा र मुकुन्द इन्दिरा हुँदै जति पनि समजीले लेखे, उनको जीवनको सिंगो समय नै रंगमञ्चमा र मौलिक नाटक लेखनमा यसरी आइदियो कि अरुको प्रभाव नै पर्न सकेन ।

त्यसपछि बरु समको प्रभावबाट चाहिँ नाटक र रंगमञ्चहरुले गति पाएका छन् ।

राणा शासनको अन्त्यसम्म नै राणाजीहरुका दरबारमा हिन्दी र उर्दू नाटकहरु देखाइन्थे भनिन्छ त ?

हो, एकदम सही भन्नु भयो । १९९० को दशकमा मुनामदनदेखि नाटकमा हातमा गन्न मिल्ने दर्जनौं साहित्यिक कृतिहरु जन्मिएका हुन् । नेपाली साहित्यको आधुनिक चरण नै त्यही कालखण्डबाट भयो ।

जहाँसम्म नाटक र रंगमञ्चको जीवन्तताका कुरा आउँछ, जब मौलिक नाटकहरुको मञ्चनको सवाल आउँछ, यतिसम्म कि ००५÷०७ सालसम्म नै नेपाली नाटकघरहरुमा ‘लैला मोजन’ टाइपका नाटकहरु मञ्चन हुन्थे ।

हिन्दी, उर्दूका नाटक र कलाकार समेत दक्षिणतिरबाट झिकाइन्थे । तर जब व्यवस्था बदलियो । कवितामा देवकोटा र नाटकमा सम जस्ता ऐतिहासिक पुरुषहरु नै जन्मिए । समजीले आफ्नो जीवनको सबै समय नाटक र रंगमञ्चमा दिनु भएको देखिन्छ ।

अझै भनौं भने नाटकका लागि संगठन नै तयार पार्ने, अभिनयहरु आफैंले गराएर देखाउने, नाटकघरहरुको विस्तार समेत गर्ने जस्ता क्रियाकलाप उनले गरेपछि नेपाली रंगमञ्च जनस्तरमा आयो । २०२०/०२२ सालसम्म नै उहाँको निरन्तर प्रयासले २०३० र ०४० को दशकमा त नेपाली नाटकले नयाँ उचाइ नै लिएको देखिन्छ त ।

३० को दशकलाई पनि त नेपाली नाटकको समृद्ध काल नै भनिएको छ त ? तपाईले यो ६० को दशकलाई उर्वर चरण भन्नु भयो, कसरी लिने त ?

तपाईले ठिक सवाल उठाउनु भो, आखिर ३० को दशक र अहिलेको ६० को दशक तुलना गरेरै भन्ने हो । पञ्चायती समयको ३० को दशक र आजको लोकतान्त्रिक नेपालको नाटकको व्यावसायिकता, दर्शक र लेखकहरुमा विकास भएको चेतनाको स्तर, विविधता, निरन्तरता आदि सबैले मापन गर्दा मलाई के लाग्छ भने अहिलेको युग उर्वर युग नै हो ।

नेपाली रंगमञ्चमा यतिको उन्नत अवस्था आज अघि कहिलै भएन ।

नेपाली नाटकको व्यावसायिकताकै कुरा जोडियो, साँच्चिकै राम्रो छ त व्यावसायिक हिसबाले नेपाली रंगमञ्च ?

व्यावसायिकता भन्ने कुरालाई दुई/तिन कुराले निर्धारण गर्छ जस्तो मलाई लाग्छ । संख्याका हिसाबले हेर्ने, अनि त्यसमा गुणात्मक कोटीभित्र राखेर जाँचपरख गर्ने, त्यसमा पनि साहित्य हो, जनसहभागितको कुरा आउँछ, निरन्तरताको कुरा पनि आउँछ, दृश्य–श्रव्य विधा हो, त्यसैले दर्शकको कुरा पनि रहन्छ नै ।

त्यसमा प्रयोग भएका र हुने प्राविधिक पक्षहरु पनि रहन्छन् । त्यसैले ३०/४० को दशका व्यवासायिक नाटक त हुन्थे तर यो तहबाट हुन सकेका थिएनन् । सतही तरिकाका, हास्य वा प्रहसनहरु हुन्थे ।

तर अहिलेको जस्तो दर्शकको स्तर, उनीहरुको त्यो तहको लगाव र नाटकहरुमा पनि विविधता, स्वदेशी र विदेशी नाटकहरुको प्रचुर तुलनात्मकता चै कहिले देखिएन ।

मञ्चनका हिसाबले हेरौं, ०३३ सालमा ‘अनि देउराली रुन्छ' भन्ने मन बहादुर मुखियाको नाटक दार्जिकलिङबाट नेपाल एकेडेमीमा चलाउँदा मानिसहरु बिहान ४ः०० बजेदेखि नै टिकटका लागि लाइन लागेर बस्थे रे ।

त्यस्तै, अहिलेबाट फर्केर हेर्दा सत्यमोहन जोशीका नाटकहरु पनि महिनौं चल्थे । त्यो बेला एकेडेमीको ठुुलो हलमा, त्यो पनि राज्यले सबै सुविधा दिएको अवस्थामा चलेको थियो । एकै ठाउँमा चल्थ्यो । त्यो पनि काठमाडौंमा मात्रै ।

त्यही भोलुममा चलेका थिएन जुन अहिले चल्ने गरेका छन् । त्यो पनि निजी स्तरमा । राजधानीमा त अहिले नाटकप्रेमी दर्शकले एकै समयमा मन लागेका दुई नाटक एकै पटक चलेको भनेर एकातिर मन दुखाइ दुखाइ छाड्ने गरेका पनि छन् ।

यहाँ मात्र हैन, राजधानी बाहिर समेत देशका अरु औद्योगिक सहरमा पनि थिएटर खोल्ने उत्साह जन्मिएको छ । सडक नाटकदेखि विभिन्न संस्थागत ढंगले मञ्चन भएका छन् । मोफसलमा पनि नाटकबाट नजिकिएको छ अहिले ।

र्थिक उपार्जन अर्थात् आजीविकाका हिसाबले अहिलेको व्यावसायिकता काफी छ त ?

यो चैं गम्भीर प्रश्न हो नवराजजी । यो अवस्थाको रंगमञ्चहरुको चलायमानता भएपनि, अहिले पनि पूर्ण रुपमा व्यावसायिक भइसकेको भने छैन । ६० बढी रंगकर्मी लागिपरिरहेका छन् । एउटा ठुलो युव पंक्ति रातदिन नलागी यो सम्भव छैन ।

तर अभिनयले नै चै कसैको जीवना पाल्न सकेजस्तो मलाई लाग्दैन । यही मात्रै पेसा बनाएर कुनै पनि रंगकर्मी यसमा लागिरहन पनि सक्तैनन् । पेसाहरु जोडेर सँगसँगै लगिरहनु परेको छ । संस्थागत सहयोगहरु। उद्देश्यमूलक चलेका नाटकहरुले नै यस्तो चलायमानता ल्याएका पनि हुन् ।

स्तो उर्वर समय भन्नु हुन्छ, तर पनि आजीविका धानिदैन भने, नेपाली नाटककै कमजोरी चै के हो त ?

राज्यको स्पष्ट धारणा नहुनु नै नेपाली रंगसाहित्यको उन्नति नहुनु्को प्रमेख कारण हो । नाटकप्रति यतिका चासो र आकर्षण छ जनस्तरमा तर अझै पनि विश्वविद्यालयस्तरमा कुनै शैक्षिक करिकुलम तयार गर्नेबारे राज्यले सोचेकै छैन ।

यत्रो युवा पंक्ति छ जो नाटक वा अभिनय सिक्छु भन्छ भने अहिले पनि कि त भारत कि बिदेसिनै पर्ने अवस्था छ । सिस्टमेटिक अध्ययनको पाटो हुनु पर्दैन ? जबकि संगीतका लागि, ललितकालाका लागि समेत केही न केही एकेडेमिक व्यवस्था छ ।

हामीले विदेशमा नाटक/रंगमञ्चीय इतिहास हेछौं भने ईशापूर्वदेखिका गुरुकुल/थिएटरहरु सञ्चालन रहेका, विश्वविद्यालयले व्यवस्थित पढाउने गरेको पाउँछौं । भारतमै हेरौ राष्ट्रिय नाट्य विशवाविद्यालय छ, वार्षिक करोडौं बजेट छुट्याउँछ, नेपालबाट समेत कलाकार झ्किाएर पढाउने परम्परा छ ।

हामीकहाँ ३० औं वर्ष भइसक्यो विश्वविद्यालयहरुमा पनि रंगमञ्चबारे पढाइ नै भएका छैनन् । साधना गर्नु पर्याे भने, हामी युवाहरु मरिमेटेर, आफ्नो लगाव र लगानीमै रंगमञ्चमा होमिएका भएर मात्रै यो भएको हो ।

अहिले पनि समाजमा, तँ के गर्छस् भनी सोधेमा ‘अभिनय गर्छु’ भन्यो भने मानिसहरु हाँस्न थाल्छन् । शिक्षण पेसा गर्छु वा पसल व्यापार गर्छु भनेजस्तो गरी लिनै
सक्तैनन् ।

नेपाली रंगमञ्चको फिल्मी क्षेत्रमा कस्तो प्रभाव परेको छ जस्तो तपाईलाई लाग्छ ?

नेपाली रंगमञ्चले वास्तवमै नेपाली फिल्मलाई यही ६० को दशकदेखि नै व्यापक रुपान्तरण गर्नु पर्ने ठाउँमा पुर्याइदिएको छ जस्तो मलाई लाग्छ ।

सरी ?

जस्तै, लुट फिल्मलाई हेरौं न । रंगमञ्चका कलाकारहरुले गरिदिएको प्रयोगले मरिसकेको फिल्मी जगत्लाई पुनरावलोकन गर्ने ठाउँमा ल्याइदिएको हैन र ? कसरी भने रंगमञ्चले कलाकारलाई साधना गराउँछ । खार्छ ।

कुनै पटकथा संवाद र कथावस्तु के कस्तो छ भनी पुरै स्क्रिप्ट कलाकारले हेरेर, पढेर, आफूले सोचेजस्तो अभिनय गर्ने मानसिकता तयार गर्छ रंग अभिनयले । नेपाली फिल्ममा अहिले चैं फिल्म बनाउनु पूर्व वर्कसप चलाउने ठाउँसम्म त रंगमञ्चका कलाकारहरुले नै त पुर्याइदिएका हुन् नि हैन ।

नत्र फिल्म सुटिङ गर्न हिरो हिरोइन बनेर फिल्ड गयो, डाइरेक्टरले त्यही बेला दिएको डाइलग कण्ठ गर्नु पर्ने बाध्यता त थियो नि । हाउभाउ गर्नु मात्रै अभिनय हैन रहेछ भन्ने त दयाहाङ राईहरुको प्रस्तुतिले मानिसहरुको अवधारणा नै बदलिदिए न त ?

नेपाली फिल्महरु कसरी यस्ता सूत्र फिल्म बन्दै आएका होलान्, फरक फिल्म जसले नेपाली फिल्मलाई टर्निङ प्वाइन्टमा पुर्याएको कुनै उदाहरण दिन सकिन्छ ?

जस्तै नुमा फुङ । सायद ०५८ सालतिर हुुनुपर्छ नवीन सुब्बाको मौलिक फिल्म यस्तो आइदियो जसले यस्तो पनि फिल्म बन्दो रहे छ त भन्ने ठाउँमा त पुर्याएको हो । तर सुब्बाको निरन्तरता अपेक्षकृत रहेन होला ।

नेपाली फिल्मको विकास पनि के हुनु र, जुन बेला राजा महेन्द्रले हीरा सिंह खत्रीलाई टपक्क टिपेर ल्याए, उनले के सिकाए भने सूत्र फिल्म । जुन भारतीयहरुको ढाँचामा थियो । त्यसपछि नेपाली फिल्म कतिसम्म कमजोर बन्न थाले भने, राजा महेन्द्रको पञ्चायती व्यवस्था ढलेको दशकौंसम्म पनि फिल्मी क्षेत्रमा नयाँपनले प्रवेश नै पाएन ।

यदि अन्र्राष्ट्रिय कुनै फिल्म प्रतिस्पर्धामा जाने हो भने भाषा र कलाकार हटाइदिने हो भने सबै भारतीय फिल्मजस्तो हुने भएपछि नेपाली फिल्म भनेर चिनाउने फरकता के हो त ?

हो त्यो पुरानो लिकबाट नेपाली मौलिक फिल्मी लिकमा हिडाउने ठाउँमा अहिले केही फिल्महरु आएका छन् । जसले फिल्म बन्ने अवधारणामै परिवर्तन ल्याए । त्यो रंगमञ्चकै प्रभावले सम्भव भएको हो ।

प्रस्तुति : नवराज खतिवडा

प्रकाशितः ३ वैशाख, ०७३ ।

प्रतिक्रिया

Related