नेपालको भूकम्पबारे कभर स्टोरी छाप्दै अन्तर्राष्ट्रिय पत्रिका टाइमले भन्यो ‘सुस्त’ पुनःनिर्माण

१३५ दिने नाकाबन्दी पनि उल्लेख गर्याे टाइमले

निर्माण सञ्चार,

एजेन्सी । विश्वप्रसिद्ध टाइम म्यागजिनले नेपालमा गएको विनाशकारी भूकम्प र त्यसबारे वर्षदिन सम्म पनि हुन नसकेको पुनःनिर्माणलाई समेटेर कभर स्टोरी प्रकाशित गरेको छ । उक्त पत्रिकाले आफ्नो नयाँ अंकमा सो कभरस्टोरी प्रकाशित गरेपछि नेपालको पुनःनिर्माणबारे अन्तर्राष्ट्रिय चसो बढेको छ ।

उक्त पत्रिका टाइमले नेपालमा भूकम्प गएका बेलामा पनि नेपाल विशेष कभरेज गरेको थियो । उसैलाई स्रोत मानेर अरु अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समेत नेपालबारे रिपोर्टिङ गरेका थिए ।

टाइम फोटो जर्नालिस्ट जेम्स न्याच्वे गत वर्षको भूकम्प लगत्तै नेपाल आएका थिए । उनले भरखरै मात्र खिचेको गोरखा बारपाकको तस्बिर नै टाइमको यस अंकको कभरमा प्रयोग भएको छ । टाइमका दक्षिण एसिया ब्युरो प्रमुख निखिल कुमारले समाचार तयार पारेका हुन् ।

वर्षदिनको पुनःनिर्माण ‘सुस्त’

ठाइमले आफ्नो स्टोरीमा गएको एक वर्षको पुनःनिर्माणलाई निकै ‘सुस्त’ भनी टिप्पणी गरेको छ । उसका अनुसार अन्तर्राष्ट्रिय समुदायबाट भूकम्प पछिको पुनःनिर्माणका लागि ४.१ बिलियन डलर सहयोग घोषणा भएपछि नेपालका मुख्य दलहरुबीच उत्पन्न राजनीतिक द्वन्द्व र खिचातानीका कारण पुनःनिर्माण सुस्त भएको उल्लेख गरेको छ ।

१३५ दिने नाकाबन्दी पनि उल्लेख

टाइमले उक्त कभरेजमा संविधान जारी गरिएपछि मधेसमा सुरु भएको आन्दोलन र १ सय ३५ दिन चलेको नाकाबन्दीबारे समेत समाचार कथन गरेको छ । भारत शब्द उल्लेख नगरीकनै ‘नाकाबन्दी’ को असर विश्लेषण गरेको उक्त स्टोरीमा पुनःनिर्माण सुस्त हुनुको कारण मध्ये मधेस आन्दोलन र नाकाबन्दीलाई पनि उल्लेख गरिएको हो ।

 

प्रकाशितः ५ वैशाख, ०७३ ।

प्रतिक्रिया

Related