‘पहिला देश, अनि विदेश’

सोट्टो–नेपालका अध्यक्ष भन्छन्– ‘आन्तरिक र बाह्य पर्यटकलाई हेर्ने दृष्टिकोण समान हुनुपर्छ’
निर्माण सञ्चार,

स्थापनाकालदेखि नै सक्रिय रुपमा लागेका सोट्टो–नेपाल अध्यक्ष यमबहादुर खड्का पर्यटन व्यवसायीका माझ लोकप्रिय नाम हो । सदस्य, कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष पद निर्वाह गरिसकेका अध्यक्ष खड्काकोे कार्यकाल आगामी डिसेम्वरसम्म छ । पर्यटन व्यवसायबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन लागिपरेका खड्कासँग निर्माण सञ्चारका सहकर्मी ऋषि खतिवडाले गरिएको कुराकानी :

सोट्टो–नेपालको अवधारणा र जन्म कसरी भयो ?

सन् २००८ मा ‘आइटा’ को अवधारणा अनुसार एयरलाइन्स कम्पनीबाट पर्यटन व्यवसायी थिचोमिचोमा परेका थियांै । एयरलाइन्स कम्पनीको सिन्डिकेटका कारण साना तथा मझौला व्यवसाय अत्यधिक मारमा परेकाले उन्मुक्तिका निमित्त संघर्ष समिति खडा गर्यौं । त्यतिबेला हाम्रोे आधिकारिक संस्था नभएकाले सरकारले सुन्दै—सुनेन । ‘नाटा’ ले साथ दिने अपेक्षा थियो, त्यो पनि तुहियो । त्यसपछि शान्तिप्रिय हामी पर्यटन व्यपसायी बाध्य भएर व्यवसाय नै बन्द गरी आन्दोलनमा उत्रियौं । लगतै सरकारसहित हामी व्यवसायी र एयरलाइन्स कम्पनी बीच त्रिपक्षीय वार्ताका लागि आह्वान भयो । त्यतिबेला हाम्रा माग पूरा पनि भए कति अझै बाँकी नै छन् । र, अहिले परिवर्तित समय अनुसार हाम्रा मागहरुलाई आवाज राख्ने माध्यम बनेको छ अहिले सोट्टो–नेपाल ।

आठ वर्षे सोट्टो–नेपालका सम्पादित कार्य केके हुन ?

पहिलो कुरा त हामी ‘लिगलाईज’ संस्था भएपछि व्यवसाहिक हक र हितका लागि आवाज बुलन्द गर्ने माध्यमका रुपमा स्थापित भईसकेका छौं । व्यवसायीका समस्याहरुलाई समाधान गर्न दबाब दिनु हाम्रो जिम्मेवारी हो । विशेषतः हामी माग राख्ने भन्दा पनि पर्यटन व्यवसायलाई अगाडि बढाउने खालका कार्यक्रमहरुमा विशेष फोकस गर्छाैं । जसका लागि आन्तरिक र बाह्य पर्यटन—प्रवद्र्धनमा हामीले विभिन्न कार्यक्रमहरु सम्पन्न गर्यौं । व्यवसायीहरुलाई एकीकृत गर्दै लैजानु, कार्यशाला, व्यवसायिक तालिम जस्ता गतिविधिहरु यस अवधिमा सम्पन्न भइसकेका छन् । जे होस् हामी पर्यटन व्यवसायका अभिभावक हौं । व्यवसायका हरेक समस्या, चुनौति एवं सम्भाव्यतालाई सरकार सामु देखाउने काम गर्दै आएका छौं ।

पर्यटन व्यवसायिको एउटै संस्थाको अवधारणालाई अङ्गिकार गर्न सकिन्न ?

हाम्रो स्थापित उद्देश्य साना तथा मझौला पर्यटन व्यवसायलाई समेट्दै लैजाने हो । हामीलाई स्थापना हुनुअघि हेर्ने दृष्टिकोण फरक थियो । हामी हेलामा बाँचिरहेका व्यवसायी थियौं । हाम्रो स्थापना र सबैलाई समेट्दै लैजाने रणनीतिले हामी अन्य स्थापित संघसंस्थाहरु भन्दा हैसियत कम भएन । एउटै धारमा हिँड्ने कुरा व्यवसायीको आफ्नै कुरा हो, तर पनि अन्य पर्यटकीय संघसंस्थाहरुले व्यवसायकै हक र हितका लागि काम गर्ने भएकाले धेरै संस्था हुनु गलत होइन । बरु पर्यटन व्यवसायका समस्यालाई उजागर गर्न मद्दत पुग्छ ।

व्यवसायीले भोग्दै आएका समस्या र चुनौती कस्ता कस्ता छन् ?

पर्यटकीय व्यवसायको अत्याधिक सम्भावना रहेको देशमा राजनीतिक अस्थिरताले धेरै अप्ठ्यारो पारेको छ । भूकम्प, नाकाबन्दी जस्ता समस्याले गत महिनाहरुमा व्यवसाय ठप्पै भयो । व्यवसायीको लाइसेन्स ६ महिनाको छोटो अवधिमा रिन्युु नगर्दा खारेज हुने प्रावधानले व्यवसायी मर्का परेका छन् । नेपालका फाइभ स्टार होटलकोे नेपाली र विदेशी व्यवसायीहरुमा दिइने छुटमा नै धेरै अन्तर छ । विदेशीलाई दिँदा सस्तोमा र हामी व्यवसायीलाई महँगो गर्छन् । पर्यटकीय क्षेत्रको खोजी, अध्ययन र स्पष्ट नीति अझै छैन ।

व्यवसायिक सुधारका लागि सरकारले के गर्नुपर्यो ?

सर्बप्रथम पर्यटन व्यवसायलाई एउटा ठूलो उद्योगको रुपमा विकसित गर्न जरुरी छ । राजनीतिबाट पर्यटन व्यवसाय टाढा राखिनुपर्छ । देश विकासका लागि पर्यटन विकास नै मुख्य आधार भएकाले लगानीको क्षेत्र बढाउनुपर्दछ । अझ नेपालमा त विदेशीलाई मात्र पर्यटकका रुपमा लिइन्छ, आन्तरिक पर्यटकलाई वास्तै हुँदैन । सरकारसँग आन्तरिक पर्यटकको खास डाटा छैन, राख्नुपर्यो । आन्तरिक पर्यटन—प्रवद्र्धन गर्ने घुमफिर वर्ष २०७३ जस्ता नयाँ–नयाँ कार्यक्रम थपिनुपर्यो । सञ्चारमाध्यमको सहायताले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा जोड दिनुपर्यो । सम्बन्धित निकायले पर्यटकीय क्षेत्रलाई बलियो बनाउन ‘होमस्टे’ लगायतका जनमुखी अभियानलाई जोड दिनुपर्दछ । पर्यटकीय क्षेत्रमा बजेट ०.३ प्रतिशत मात्रै राज्यले छुट्याउँछ जसले पर्यटकीय उद्योगलाई विस्तार एवं अध्ययन गर्न त्यति ठूलो सामथ्र्य राख्दैन ।

सुधारका लागि तपाईंहरुको तर्फबाट कस्तो पहलकदमी गर्नुहुन्छ ?

हाम्रा तर्फबाट पनि आन्तरिक तथा बाह्य पर्यटन-प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु ल्याएका छौं । दूरदराजमा रहेका पर्यटकीय स्थलहरुको खोजी गर्दै पश्चिम नेपाल हामी गएका थियौं । जसले आन्तरिक पर्यटन-प्रवद्र्धनमा टेवा दियो भन्ने अपेक्षा राखेका छौं । यस्ता अन्य कार्यक्रमहरु पनि हामीसँग छन् । यसवर्ष ‘सेल्स मिसन’ कार्यक्रम अन्तर्गत विभिन्न देशका पर्यटक व्यवसायीहरुसँग सहकार्यका लागि जाने निर्णय गरेका छौं । हामी पर्यटन विकासका लागि सरकारलाई साथ दिनेछौं ।

कूल गार्हस्थ उत्पादनमा तपाईं व्यवसायीहरुलको योगदान कस्तो रहेको छ ?

ठ्याक्कै डाटामै आउने तथ्यांक हामीसँग छैन, न त खास तथ्यांक सरकारसँग नै छ । हामी व्यवसायीकै तालमेलबाट पर्यटक नेपाल भित्रिन्छ, विभिन्न ठाउँमा खर्च गर्छ । तर, त्यो खर्च जुन ठाउँमा गर्यो त्यही ठाउँको उत्पादनका रुपमा लिइन्छ । यसले हाम्रो प्रत्यक्ष योगदान नदेखाएपनि समग्र राष्ट्रिय उत्पादनमा हाम्रो योगदानको सम्मान गरिनुपर्दछ ।

नेपालीहरु विदेश घुम्न जानेको संख्या कस्तो रहेको छ ?

विस्तारै बढ्दै छ, मेरो विचारमा ‘पहिला देश, अनि विदेश’ को अवधारणा ल्याउनुपर्छ । जसले देशलाई राम्रोसँग चिन्दछ, उसैले देशको प्रचार गर्न सक्दछ । आन्तरिक पर्यटकको महत्व त होटल व्यवसायीलाई मात्र थाहा छ, र प्रमाणित गर्यो कि गत नाकाबन्दी र भूकम्पको बेला कसरी होटल बाँच्यो । नेपाली होटल सञ्चालकलाई आन्तरिक पर्यटकले धेरै धाने ।

प्रकाशितः ७ वैशाख, ०७३

प्रतिक्रिया

Related