फर्निचरमा आत्मनिर्भर बन्न ‘फर्निचर बोर्ड’ आवश्यक छ ,

अध्यक्ष जोशी भन्छन्, ‘नीति बनाएर कार्यान्वयन गरे ३ वर्षमै फर्निचरमा आत्मनिर्भर बन्छ ।’
 निर्माण सञ्चार,

विगत लामो समय देखि फर्निचर तथा फर्निसिङ क्षेत्रमा लामो अनुभव बटुलेका काठमाडौं फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष कवीन्द्र जोशी एक सफल व्यवसायी हुन् । जन्मदेखि मृत्यु पर्यन्त आवश्यक पर्ने फ्लोर एण्ड फर्निसिङ व्यवसायलाई बलियो , सांगठानिक एवं एक ढिक्का बनाउन पर्छ भन्ने अभियानमा लागि पर्दै आएका छन्—जोशी । फर्निचर एवं फर्निसिङ व्यवसायका बारेमा निर्माण सञ्चारका ऋषि खतिवडाले उनीसँग गरेको कुराकानी;

फ्लोर एण्ड फनिसिङको व्यापारको अवस्था कस्तो छ ?

भूकम्प र नाकाबन्दी पछि विस्तारै उँभो लाग्दै गइरहेको छ तर पनि सोचे अनुसारको व्यापार हुन सकेको छैन । वर्ष २०७२ व्यापारका लागि निराशाजनक भयो । आशा छ ०७३ साल राम्रो हुनेछ ।

नेपालमा फर्निचर एण्ड फर्निसिङ कहिले आत्मनिर्भर बन्छ ?

फर्निसिङ उद्योग सञ्चालन गर्न धेरै लगानी चाहिन्छ । त्यसमा पनि कच्चा पदार्थहरु विदेशकाटै ल्याउनु पर्दा लागत मूल्य बढी पर्ने हुन्छ । तर फर्निचरमा चाहि म ग्यारेन्टी दिन्छु ः हामीले भने अनुसारको वातावरण भए तीनचार वर्षमै देश यस क्षेत्रमा आत्म निर्भर बन्छ ।

तपाईंले खोज्नु भएको वातावरण कस्तो हो ?

मैले बच्चै देखि सुन्दै आएको हरियो वन नेपालको धन भन्ने नारा आज धनका रुपमा प्रयाग गर्न पाएका छैनौं । विदेशबाट मात्र फर्निचर आयात हुन्छ । हामी कति स्वाबलम्बी छौं , आफ्नै देशको प्राकृतिक उत्पादनलाई छोडेर विदेशीले घाँसफुसबाट बनाएका कम टिकाउ भएका , हेर्दा चट्ट दखिने मात्र सामानको पछि लागिरहेका छौं । मेरो प्रश्न छ सम्बन्धित निकायलाई कि नेपालको वन खोई ? कहाँ जान्छ नेपालका काठ ?हामी किन हाइब्रेड फर्निचरको पछि लागिरहेका छौं ?हो यस्तै समस्या समाधान गर्न सके आत्म निर्भर मात्र होइन धरैलाई राजगारी समेत सिर्जना गर्न सक्छौं ।

तपार्इंहरुको व्यवसायलाई सरकारले कसरी मुल्यांकन गरेको पाउनु भएको छ ?

२५ अर्ब भन्दा धेरै लगानी भएको यस व्यवसायले प्रत्यक्ष रुपमा डेढ लाख भन्दा बढी व्यक्तिलाई रोजगारी दिएको छ । सरकारसँग व्यवस्थित लेखाजोखा छैन । फर्निचर तथा फर्निसिङ व्यवसाय आफ्नै महत्व रहँदा रहँदै पनि सरकारबाट अपहेलिप पेशाका रुपमा परिचित रहेको छ ।

हाम्रो त जोडदार माग छ कि अब देशलाई फर्निचरमा स्वाबलम्बी बनाउन सरकारले ‘फर्निचर बोर्ड’ कै गठन गरी अध्ययन गर्न जरुरी छ । त्यस्तै सरकारले फर्निचरका लागि छुट्टै आद्योगिक क्षेत्र निर्धारण गरी बाटो घाटो , विद्युत्लगायतका आधारभूत संरचना तयार पारी काम गर्ने वातावरण भए धेरै राम्रो हुने थियो । यसले जनस्तरमा पर्ने ध्वनी प्रदूषण , वातावरण प्रदुषणलाई न्यूनीकरण गर्न मद्यत पुग्छ ।

व्यवसाय सुधारका लागि तपाईं व्यवसायीहरुको भूमिका कस्तो रहन्छ ?

व्यक्तिगत लगानीले खोलिएका प्रतिष्ठानहरु नाफामुखी नै रहन्छन् तर पनि । हामीले सरकारलाई भनिरहेका छौं सीटीभिटी लगायतका सरकारी संस्थाले थ्योरिटिकल कोर्ष दिन्छ भने हामी भत्तासहित प्राक्टिकल गराउँछौं । लगत्तै रोजगारीको ग्यारेन्टी गर्छौं ।

सरकारले ल्याएका सकारात्मक पक्षको अवलम्बन गर्दै स्वाबलम्बनमा हाम्रो यागदान रहने छ ।

नेपालमा व्यवसायीबाट रेटमा एकरुपता नभएको र ठगिएका गुनासालाई कसरी सम्बोधन गर्नु हुन्छ ?

पहिलो कुरा त रेटमा एकरुपता नहुने भन्ने कुरा कुन देश, ब्राण्ड , कम्पनी त्यसमा भर पर्छ । उपभोक्ताले बार्गेनिङ अधिकारको उपभोग गर्न पाउनु पर्छ । एक नासको रेट राख्दैमा मूल्य सही छ भन्ने हुँदैन ।

यदि नेपालकै उत्पादन थियो भने रेटमा एकनास हुने थियो । अर्को कुरा कतैकतै ठगिएका गुनासा आए ठूलै लुट भने छैन । उपभोक्ताले सचेत रहँदै रङ र बुट्टाका आधारमा बस्तु छनौट नगरी बजार बुझेर मात्रै बस्तु खरिद गर्न अनुरोध गर्दछु ।

काठमाडौं संघका आगामी कार्यक्रम के–कस्ता छन् ?

सन् २०११ देखि गर्दै आएको ‘फर्नेक्स मेला’ भूकम्प र नाकाबन्दीले गत वर्ष गर्न सकिएन । यस वर्ष भने अगष्टमा आयोजना गर्ने सोच बनाएका छौं । जसबाट उपभोक्ताले फ्लोरिङ , फर्निसिङ एवं फर्निचरका गुणस्तर एवं रेटका बारेमा जानकारी प्राप्त गर्ने छन् ।

व्यवसायीलाई समय सापेक्ष रुपमा अपडेट हुनका लागि ट्याक्स/भ्याट सम्बन्धी तालिम , विमा सम्बन्धी तालिम जस्ता व्यवसायीक हकहितका कार्यक्रम रहेका रहेका छन् । व्यवसायीका अभिभावकको भूमिका निर्वाह गर्न संघ हरपल तत्पर रहने छ ।

प्रतिक्रिया

Related