आल्मुनियम व्यवसायका गुनासाः सरकारले वास्तै गर्दैन, जनतालाई थाहै छैन

निर्माण सञ्चार, 

०४२—४३ सालमा नेपाल भित्रिएको आल्मुनियम हाल देशव्यापी बन्दै गएको छ । डेढ लाख बढी रोजगारी सिर्जना गर्न सफल आल्मुनियम व्यवसायले राष्ट्रिय उत्पादनलाई नै सहयोग पुर्याइरहेको छ । सजावटका र पार्टेसनका विभिन्न क्षेत्रमा प्रयोग हुने यस आल्मुनियम व्यवसायीहरु संलग्न भई आल्मुनियम फेब्रिकेटर्स एसोसिएसन नेपाल (अल्फान ) भन्ने संस्था स्थापना भइसकेको छ । व्यवसायीका हक र हितका लागि काम गर्दै आएको यस संस्थाका अध्यक्ष एवं स्ट्रक्चर वल्र्डका प्रोपाइटर तेज राई सँग निर्माण सञ्चारले गरेको कुराकानी—

अल्फानको अवधारणा कसरी आयो ?

आल्मुनियम व्यवसायको लामो अनुभवलाई संस्थागत रुपमा मुर्त पाउन सकिरहेका थिएनौं । भेटघाटका समयमा व्यवसायी साथीमा संस्था स्थापना गर्नुपर्छ भन्ने अवधारणा भने थियो । काम सुरु गरेपछि किन रोकिने भनेर ०६८ सालमा ३०/३५ जना व्यवसायी जम्मा भई आल्मुनियम फेब्रिकेटर्स एसोसिएसन नेपाल (अल्फान) को स्थापना गर्यौं ।

तीन वर्षे यात्रा अनुभव कस्तो रह्यो ?

व्यवसायीलाई संगठित रुपमा सदस्यता वितरणका कार्यहरु गरिरहेका छौं । ४०० भन्दा बढी सदस्यता वितरण गरिसक्यौं । १२ जिल्लाहरु हाम्रो सदस्यता संजाल पर्याई सकेका छौं । आल्मुनियमको बजार सहर केन्द्रीत भएकाले सबै जिल्लाहरुमा आल्मुनियम व्यवसायी छैनन् । ग्रामीण क्षेत्रहरुमा पनि विस्तारै बजार विस्तार हुँदै गएकाले संघले सबैलाई समेट्दै अगाडि लैजादै छ ।

हामीले संघ स्थापना भएदेखि सरकारसँग आल्मुनियमको दर-रेटका बारेमा वार्ता गर्यौं, जसले पुरानो रेटलाई हटाई गुणस्तर अनुसारका दर-रेट निर्धारण गराउन सफल भयौं । बजारबाट उठाउन नसकिएको व्यवसायीहरुको पैसा संघको पहलमा हामीले उठाएका छौं ।

संघको विस्तार एवं प्रचारसँगै हाम्रा कार्यक्रमहरु थपिँदै जानेछन् । हाम्रो आज सम्मको अनुभवले संघलाई देश व्यापीरुपमा स्थापित गर्दै व्यवसायिक हकहित, जनस्तरमा आल्मुनियमका बारेमा जानकारी गराउनुका साथै हालसम्म संघलाई सांगठनिक रुपले बलियो बनाउन सक्षम भएका छौं ।

नेपालमा कुन गुणस्तरका आल्मुनियम भित्र्न्छन् ?

अन्तरराष्ट्रीय बजारमा कम्तिमा 1.2 mm भन्दा कम थिक्नेस् भएको आल्मुनियम प्रोफाइल प्रयोग गर्न नि:शेध छ तर नेपालमा त्यो स्टान्डर्डको पालना भएको छैन । यस सम्बन्धमा सरकार बेखवर छ । धेरै जसो नेपालमा भित्रिने र प्रयोग हुने 1.1 mm थिक्नेसका आल्मुनियम प्रोफाइल हुन् ।

कतै-कतै त्यो भन्दा कम गुणस्तरका आल्मुनियम प्रोफाइल पनि भित्रिने गरेको छ । जसको प्रयोगले जीवनमा एक पटक बनाइने घर लगायतका भौतिक संरचनामै ठूलो असर पर्ने भएकोले उपभोक्ताले समेत राम्रो सेवा पाउन सकिरहेका छैनन ।

उपभोक्ताले गुणस्तरीय आल्मुनियम कसरी छान्ने ?

नेपाल गुणस्तर तथा नापतौल बिभागले अहिले सम्म कुनै प्रकारको मापदन्ड नतोकेको हुनाले उपभोक्तालाई त्यत्ति सजिलो चाहीं छैन, तथापी 1.2 mm थिक्नेसका आल्मुनियम प्रोफाइल प्रयोग गर्दा राम्रो हो ।

त्योभन्दा कम थिकनेस भएका आल्मुनियम प्रयोग गर्दा सोच्नु पर्छ कि कुन स्थानमा प्रयोग गर्ने हो ? जस्तै : झ्याल-ढोका वा पार्टेसन लगायतका ठाउँहरुमा र कमर्सियल बिल्डिङहरुमा लाग्ने स्ट्रक्चरल ग्लेजिङहरुमा फरक गुणस्तरका आल्मुनियम प्रोफाइलहरु प्रयोग हुन्छन । त्यस सँगै यसमा लाग्ने अन्य हार्डवेयरहरु प्रयोग गर्दा पनि गुणस्तर हेर्नु पर्छ ।

यस सँगै कोही उपभोक्ताले गुणस्तरिय आल्मुनियम छान्न समस्या परेको र दुबिधा रहेमा अल्फानबाट सुझाव लिन सक्नु हुनेछ । त्यसको साथ-साथै अल्फानको सदस्यता लिएको कम्पनीबाट काम गराउँदा पनि उपभोक्ता ठगीने चान्स् चाहीं कम हुन्छ ।

आल्मुनियमको नेपालमा उत्पादनको अवस्था कस्तो छ ?

लगभग ९० प्रतिशत भन्दा बढी आल्मुनियम प्रोफाइल चीनबाटै आयात हुने गरेको छ । 10 प्रतिशत भारत लगायतका अन्य देशबाट र नेपालको उत्पादन रहेको छ । नेपाल कै दुई वटा कम्पनीहरु हुलास र केबी साम आल्मुनियमका उत्पादनहरु पनि बजारमा छन् । कच्चा पदार्थ भने विदेशबाटै आउँछ । नेपालमा आल्मुनियमको उत्पादन भए तापनि थोरै परिमाणमा मात्र उत्पादन हुने भएकाले हामी विदेशी बजारमा नै भर पर्नु पर्ने अवस्था छ ।

आल्मुनियमको प्रयोग कुन कुन क्षेत्रमा बढ्दै गएको छ ?

विशेषगरी ठूला–ठूला कर्पोरेट हाउस, डिपार्टमेन्टल स्टोर, बिज्नेस कम्पेक्स, स्कुल, कलेज, बैंकहरु सँगै सर्वसाधारणहरुको घरहरुमा पनि आल्मुनियमको प्रयोग बढ्दै गएको छ । त्यस सँगै घरको भित्री भागहरुमा अफिस, पसल वा कोठाहरुको पार्टेसन गर्न पनि आल्मुनियम उपयोगी हुने भएकोले यसको डिमान्ड राम्रै छ ।

दिनानुदिन बढ्दै गएको आल्मुनियमको प्रयोगले नेपाली मौलिकतालाई कसरी जोगाउन सक्छ र ?

आल्मुनियमको प्रयोगले मौलिकता गुम्छ भन्ने होइन । नेपाली मौलिकता देखाउनु पर्ने तारे होटल वा यस्तै भवनहरुमा बाहिर कलात्मक काठको फ्रेम भित्र आल्मुनियमको प्रयोग गरिएको हुन्छ । तर मौलिकता जोगाउनका निमित्त विभिन्न काष्ठकलाका अथवा नेपाली मौलिकता झल्कने कलाकृतिहरुको साथमा पनि यसको प्रयोग गर्न सकिन्छ । कतिपय स्थानमा मौलिकताको मात्रै पछि लाग्दा संरचनात्मक असुरक्षाबाट पनि त बच्नुपर्यो नि ।

आल्मुनियम व्यवसायीे भोग्दै आएका समस्या एवं चुनौती के—के हुन् ?

हाम्रो व्यवसायलाई सबैभन्दा ठूलो समस्या भनेको व्यवसायीहरु एक–अर्काबीचको तीव्र अस्वस्थ प्रतिस्पर्धा हो । जसले गर्दा गुणस्तरिय सेवामा पनि प्रभावित हुन्छ र उपभोक्ता नै पनि मारमा परिरहेका छन् ।

त्यस सँगै दक्ष जनशक्तिको अभाव छ । अलि-अलि काम सिके पछि विदेशीने प्रवृत्ति बढी छ । सरकारको नीतिहरु व्यवसायी मैत्री नहुनाले पनि नयाँ व्यवसायीहरु व्यवसायिक हुन सकिरहेका छैनन र सरकारले व्यवसायिक विकासमा कुनै भूमिका चालेको देखिंदैन । पुन: निर्माणमा आल्मुनियम व्यवसायलाई कुनै वास्ता गरिएको छैन । अधिक मात्रामा आल्मुनियमको प्रयोग गरी घर निर्माण गरे वन जंगल संरक्षण गर्न पनि टेवा पुग्छ ।

आम उपभोक्तालाई आल्मुनियम प्रयोग गर्न किन प्रेरित गर्नुहुन्छ ?

पहिलो कुरा काठको तुलनामा आल्मुनियम सस्तो हुन्छ । वन जंगलको संरक्षणमा सहयोग पुर्याउँछ । हेर्दा स्मार्ट र राम्रो पनि देखिन्छ भने कम स्पेस ओगट्ने हुनाले सानो ठाउँमा धेरै काम गर्न सकिन्छ । अहिले पुराना घरहरुमा पनि ईटका गारोहरु हटाएर आल्मुनियमको प्रयोग भैरहेको छ । त्यस्तै एक ठाउँबाट अर्को ठाउँमा सर्नु पर्दा पनि यसलाई पुनःप्रयोग गर्न सकिन्छ ।

मुख्य कुरा त आल्मुनियम आफैंमा हलुका हुने भएकोले यो पूर्ण रुपमा भू-कम्प प्रतिरोधात्मक हो, त्यस कारण पनि यो समयमा कसैले घर बनाउँदै हुनुहुन्छ भने आल्मुनियमको प्रयोग गरेर ढुक्क हुन म सुझाव दिन चाहन्छु ।

प्रस्तुति: ऋषि खतिवडा

प्रकाशितः ९ वैशाख, ०७३

प्रतिक्रिया

Related